शैक्षिक भ्रमणमा गएकी मण्डनदेउपुरकी विद्यार्थी एक महिना पछि मृत्त फेला



ज्ञानमणि नेपाल कालोटोपी, काभ्रे ।
जिल्लाको मण्डनदेउपुर नगरपालिका १० की बिद्यार्थी सुनमाया तामाङ मृत्त अवस्थामा फेला परेको पुष्टी भएको छ । शनिबार भक्तपुरको हनुमन्ते खोलामा भेटिएको शव सुनमायाकै भएको उनका आफन्तले स्विकार गरेका छन् ।

शव गलेको अबस्थामा फेला परेकाले धेरै दिन अघि नै मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ । महानगरीय प्रहरी परिसर जगातीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ । शवको प्रकृति हेर्दा बलात्कारपछि हत्या गरेको हुन सक्ने र अनुसन्धान तथा पोष्टमार्टमपछि मात्र के हो भन्न सकिने पनि प्रहरीले बताएको छ । उनको शवलाई अहिले पोष्टमार्टमका लागि शिक्षण अस्पताल लगिएको छ ।

गत पुस २७ गते शैक्षिक भ्रमणका लागि साथीहरुसँगै भक्तपुर आएकी सुनमाया तामाङ्ग हराएकी थिइन् । उनी मण्डनदेउपुर नगरपालिका वडा नं ११ गैराथोक घर भएर वडा नं. १० स्थित श्री उमाशह शिक्षालय उच्च माविको कक्षा ५ मा अध्ययन गर्थिन् ।

विद्यालयले नै आयोजना गरेको कार्यक्रममा भक्तपुर दरबार स्क्वायर अवलोकन गर्न जाने क्रममा सुनमाया हराएकी थिइन् । सुनमायाका बाबु धनबहादुरको पहिले नै मृत्यु भएको र आमा पूर्णिमाले पनि छोडेर गएपछि उनी हजुरआमाको रेखदेखमा थिइन् । यस विषयमा अब विद्यालय र पीडित परिवार वीच सल्लाह गरेर आवश्यक क्षतिपूर्ति तथा अन्य निर्णय गर्ने विद्यालय व्यवस्थापन समितीका अध्यक्ष राम बहादुर लामाले बताए ।

प्रतिक्रिया दिनुहोस्