राजधानीमा गुन्जियो गजल



श्रीलूनकरणदास–गङ्गादेवी चौधरी साहित्यकला मन्दिरको आयोजनामा नेपाली गजल लेखन क्षेत्रका सर्जकलाई सम्मिलित गराई शनिबार राजधानीमा भव्यरूपमा एक गजलगोष्ठीको आयोजना गरिएको छ।

गजल–गुञ्जनका नाममा आयोजित गोष्ठीमा डा. कृष्णजङ्ग राणा, बूंद राना, ज्ञानुवाकर पौडेल, वसन्त चौधरी, प्राडा सनतकुमार वस्ती, करुण थापा, शीतल कादम्बिनी, रवि प्राञ्जल र बाबु त्रिपाठीले आआफ्ना २÷२ प्रतिनिधि गजल वाचन गर्नुका साथै सस्वर गाएर प्रस्तुत गरेका थिए। विभिन्न कविको सहभागितामा तिहार काव्यसन्ध्या आयोजना गरिसकेको साहित्यकला मन्दिरले प्रत्येक तीन महिनामा साहित्यका विभिन्न विधाको प्रतिनिधित्व हुने गरी कार्यक्रमे आयोजना गर्ने उद्देश्यअन्तर्गत यसपालि गजल–गुञ्जन आयोजना गरेको हो। कार्यक्रमले हिन्दी र ऊर्दू साहित्यमा मात्र नभई नेपाली सिर्जनामा पनि सशक्त गजल लेखिएका छन् र लेखिन्छन् भन्ने राम्रो उदाहरण प्रस्तुत गरेको छ।

साहित्यकला मन्दिरका कार्यकारी सदस्य एवं कवि राजेन्द्र शभलले गजल–गुञ्जनको शुभारम्भ गरेका थिए भने प्राडा वस्तीले सञ्चालन गरेका थिए। कार्यक्रमको अन्त्यमा साहित्यकला मन्दिरका उपाध्यक्ष अभिनेता एवं रंगकर्मी हरिहर शर्माले आयोजकका तर्फबाट सहभागी गजलकार तथा स्रोतादर्शकलाई धन्यवाद ज्ञापन गर्दै गजल–गुञ्जन समापन भएको घोषणा गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस्