‘मिटु’को दुरुपयोग नियन्त्रण गर



 

यौन दुरव्यवहार खुलासा गर्ने÷गराउने अभियान हो ‘मिटु’ । आफू माथि भएका यस्ता व्यवहार नलुकाऔ, निर्धक्क खुलासा गरौ भन्ने उद्देश्यका साथ अमेरिकाबाट शुरु भएको यो अभियान अहिले निकै चर्चामा छ । सामाजिक सञ्जाल मार्फत भारतमा धेरै कलाकारले आफू माथिको दुरव्यवहार खुलासा गरे, यो क्रम अझै पनि जारी छ । वर्षौ अघिका घटना जोड्दै निकै लोकप्रिय कलाकार, राजनीतिज्ञ र अन्य क्षेत्रमा आवद्ध माथि त्यस्तो आरोप लागिरहेको छ । आफू माथि लागेको आरोप केहीले खण्डन गरेपनि धेरै मौन छन् ।

‘मिटु’ अभियानको धेर थोर राप ताप नेपालमा पनि परेको छ । नेपालमा पनि यो अभियानले भारतमाझैं ठूलो तरङ ल्याउने अपेक्षा गरिएपनि त्यस्तो ठूलो प्रभाव भने अझै देखिएको छैन । ललितपुरको लगनखेलस्थित ललितपुर माध्यामिक विद्यालयका पूर्व छात्राले सोही विद्यालयका शिक्षकले आफूलाई विगतमा गरेको यौन दुरव्यवहार मिटु मार्फत ‘ह्यास ट्याग’ गरेपछि निम्तिएको परिस्थितीले सो विद्यालय अहिले निकै चर्चामा छ । करिब डेढ दशकदेखि सोही विद्यालयमा अध्यापनरत एक शिक्षक मिटु अभियानमा मुछिएपछि विद्यालयले ती शिक्षकलाई निलम्बन गरिसकेको छ ।

तर जानकारहरु भने विद्यालयको शैक्षिक वातावरण सुर्धान आन्दोलनरत शिक्षकलाई हटाउन पूर्वछात्रालाई मिटु अभियानमा प्रयोग गरिएको पाइएको बताउँछन् । विगत डेढ महिनादेखि अमेरिका बस्दै आएका विद्यालयका प्रधानाध्यापक माधव सिटौलाले सहायक प्रअ रहेकी आफ्नी बहिनी गीता सिटौलालाई प्रअ बनाउन प्रपञ्च रेचेर मिटुमार्फत पुराना शिक्षक हटाउन थालेपछि सो विद्यालयमा तनाव बढेको बताइन्छ । गत चैत २४ गतेदेखि विद्यालयकी सहायक प्रअ सिटौलालाई हटाउनुपर्ने लगायतका माग गर्दै आन्दोलनमा उत्रिएका शिक्षकलाई हटाउन आन्दोलनरत शिक्षकमाथि यौन दुव्र्यवहारको आरोप रचिएको निलम्बित शिक्षकको तर्क छ । पूर्व विद्यार्थीहरु रचना दाहाल, रोशा पोख्रेल, अनु श्रेष्ठ, हनी श्रेष्ठ लगायतले शिक्षकमाथि यौन दुव्यवहारको आरोप लगाएका छन् ।

करिब दुई साता अघि निलम्वनमा परेका शिक्षक बोधराज त्रिपाठी माथि पूर्व विद्यार्थी रचनाले आरोप लगाएपछि विद्यालय प्रशासनले त्रिपाठीलाई निलम्बन गरेको थियो । शिक्षकहरु सुमन्तबहादुर खत्री र गोकुल शर्मामाथि पनि त्यस्तै आरोप लागेको छ । यो विषयसँग जोडिएका शिक्षकले भने आफू माथि लागेको आरोप निराधार भएको र नियोजित रुपमा आफूहरु माथि षड्यन्त्र रचिएको बताउँदै आएका छन् । उनीहरुको तर्क छ–‘कुनैपनि विद्यार्थीमाथी यौन दुव्र्यवहार गरेको भए विगतमा किन कार्वाही भएन, अहिले विद्यालयको शैक्षिक गुणस्तर सुर्धान आन्दोलन हुँदै गर्दा हामीहरु माथि गरिएको षड्यन्त्र मात्रै हो ।’

निजी गुठीद्वारा सञ्चालित सो विद्यालय ललितपुरकै सफल र चर्चित विद्यालय हो । अहिले मिटुको आरोप लागेपछि शिक्षक बोधराज त्रिपाठीले विष सेवन गरेका छन्, उनको स्वास्थ्य अवस्था निकै जटिल छ । उता विद्यालय प्रशासनलाई राजीनामा दिएर अमेरिका गएका भनिएका प्रअ सिटौलाको राजीनामा भने अझै स्वीकृत भएको छैन । यौन क्रियाकलापको आरोपमा एकपछि अर्का शिक्षक निलम्बनमा पर्न थालेपछि त्यहाँ अध्ययनरत विद्यार्थीको भविष्य के हुने भन्दै अभिभावक चिन्ता व्यक्त गर्न थालेका छन् ।

विद्यालयको शैक्षिक वातावरण खलबलिने अवस्था आएपछि ललितपुर महानगरपालिका–५का वडाध्यक्ष विकासमान श्रेष्ठको संयोजकत्वमा ७ सदस्यीय छानविन टोली गठन भएको छ । टोलीले यथाशीघ्र छानविन गरी सत्य तथ्य सार्वजनिक गर्नुपर्छ, नयाँ भर्ना समय नजिकिँदै जाँदा विद्यालयको शैक्षिक वातावरण खलबललिन दिनु हुँदैन । साथै मिटुका आरोपित माथि छानविन गरी यस्तो दुरुपयोग रोक्न सरकार सहित सरोकारवाला अन्य निकायले पनि गम्भिर चासो लिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्