समृद्धिको सन्दर्भमा समाजका सकसहरु



निरज बराल
बेरोजगारी, हत्या, हिंसा, बलात्कार, दुर्घटना, भष्ट्राचार र ठगी नेपाली समाजका दैनन्दिनका समाचारका प्रचलित शब्दावली हुन्, पठित घटना हुन् । जो एक र अर्को रुपमा फैलदै गएकोे छ । राज्यका अंगहरु चनाखो नहुँदा, बेपरवाह भइदिँदा गैरजिम्मेवार देखिएका छन् । अपराध अनुसन्धान सुस्त हुँदा पीडित जनको दुःख बढेको बढ्यै छ । अपराधको सजाय र जरिवाना अपराधीको मनोबल घटाउनेमा असफल छ ।

न्याय सम्पादन प्रक्रिया र ढिला सुस्ती सदियौंदेखि उहीँ ढंगको छ । मानव जीवनसंग हरक्षण जोडिएको सुरक्षा र न्याय निर्गतीलो हुँदा समाजिक गतिविधिहरू सन्देहात्मक हुँदै जाँदा मानव संवेदनहीनताले जरा फैलाउँदै लगेको छ । लोकतान्त्रिक राज्य प्रणालीमा समाज भित्रका मानव जनलाई एक आपसमा जोडने काम राजनीतिक पार्टीहरु तथा सामाजिक अभियन्ताले विभिन्न विचारधाराले प्रयत्न गर्दछन् । सरोकारवालाहरुको संलग्नतामा समस्याहरुलाई वस्तुनिष्ठ ढंगले संश्लेषण विश्लेषण गर्दै सर्व स्वीकार्य उचित निर्णयद्वारा निरुपणको बाटो अख्तियार गर्ने भरमग्दुर कोशिस हुन्छ । यो नै संघीय लोकतान्त्रिक राज्यको जीवन्त चरित्र हो । तर यी र यस्ता गम्भीर विषयमा थर्काउने, थकाउने कार्यपद्धति छ । यसले शिशु लोकतन्त्रलाई न्यानो घाम दिँदैन बरु कालो बादलले राजनीतिक तथा सामाजिक परिवेश धुम्म बनाउँदछ ।

विकासले गति पाउन सर्वप्रथम नेताहरुले आफ्नो मति सुधार्न आवश्यक देखिन्छ । हुने नहुने कुरामा कुतर्कको भाषणबाजी गर्दै कसलाई के बुझाउन खोजिएको हो, केही छेउटुप्पो थाहा लाग्दैन । निर्दिष्ट लक्ष्य प्राप्तिका लागि विहंगम बहश पश्चात नीति तथा कार्यक्रम चाहिन्छ । सरोकारवालाहरुसँगको अन्तरक्रियाले वैचारिक अन्तरघुलन नगरिकन, सहभागिता नबढाइकन ठाडो ठाडो ढंगले कार्यान्वयन गर्ने हो भने भनाभन र रडाको नै मच्चिने हो । उनीहरूलाई बाटो बिराउदै पिच्छे वा नबिराउन जनताले जे पर्ला भोगौला भनि औंला ठड्याई, ¥याख¥याखती नपारेसम्म नैतिक जिम्मेवारी बोध हुने देखिन्न । आमजन दैनन्दिनका दुख, असहजता, आक्रोश र निराशालाई मौनता साँधेर बसे व्यक्तिगत सकसमा गुजार्नु पर्ने हुन्छ । एकै खालका जन गुनासो र पीडालाई सामूहिकतामा नढाले, सुन्न, देख्न र अनुभूत नगर्ने ढिठ राज्य चरित्र सुध्रिने छाँटकाँट छैन । यस्तोमा बेसरी चिमोटी–चिमोटी, कन्सेरीको रौं तानी–तानी भुतुक्कको परिस्थिति सृजना नगरे राज्य ऐय्या आत्थु गर्ने वाला छैन । राज्यलाई ढङ्गले संचालन नगरेको परिणति हो अविकास र यी हैरानी ।

के गाउँ, के शहर, हरेक घर–घर आधुनिक सञ्चार प्रविधिका पारखीहरु बढेका बढ्यै छन् । सामाजिक सञ्जाल त नेपाली समाजमा अम्मलजस्तै भइसकेको छ । यसमा व्यक्त भावना र सृजित मत अक्सर छोटो समयमै विस्मृत हुन पुग्दछन् । दिनरात त्यसमा झुन्डिएर समय बेफ्वाँकमा गुजार्दा आफन्तजनसँगका मानवीय सम्बन्धहरु बेचैनिमा परिणत हुँदै गएका छन् । भावना साटासाट र मन माझा(माझका लागि चाहिने कुराकानी, छलफल, भलाकुसारी परिवार जनमै कम हुँदै गएको छ । खाली, फेसबुक, ट्वीटर जस्तामा शाब्दिक घोचपेच गरेर बौद्धिक विलासिता मात्रै प्रदर्शित गर्नु आत्मरति हुन जान्छ । त्यहाँ व्यक्त विचार कै क्रिया प्रतिक्रिया जनाउँदा(जनाउँदै, आरोप(प्रत्यारोप गर्दा गर्दै मानसिक शक्ति जति स्खलित भइ सक्छ । यसरी प्रविधि प्रतिको अचाक्ली लगाव र लतले व्यक्त र अव्यक्त मनोभावनाहरुको (कु)अबुझाइले सम्बन्धहरु नजानिँदो ढंगले पर पर धकेलिँदै गएको देखिन थालेको छ ।

सादगी जीवन, सैद्धान्तिक निष्ठता एवं स्पष्टता, व्यवहारिकता, मिलनसारिताको साटो भड्किलो जीवनशैली, वैचारिक क्लिष्टता, व्यक्तिवादी स्वार्थी मनोदशाले समाजलाई नराम्रोसँग गाँजिसकेको छ । हरकोही सम्बन्धहरु आर्थिक लाभ–हानिको स्वार्थीय मनोदशाले संक्रमित हुँदै गएका छन् । समाज नितान्त व्यक्तिवादी सोच र शैलीमा द्रुतगतिमा रुपान्तरित हुँदै गएको छ । छलफल र बहस कोठे गफगाफ र मिडियामा सीमित छ । औपचारिक र बनावटी छ । प्रशंसामा रम्ने, झुल्ने, पग्लने अनि आलोचनामा आत्तिने, रिसाउने, निषेध गर्ने असहिष्णु हुँदै गएको छ । आलोचनामा तेर्सिएका प्रश्नहरूको चित्तबुझ्दो जवाफ खोजबिन नगरी विकासले यथोचित गन्तव्य प्राप्त गर्दैन । ‘म’ को महत्वलाई ‘हामी’ मा नखारेसम्म परिस्कृत वैचारीक धार समात्न कठिन छ ।
युवाहरु ऊर्जावान, गतिशील, सिर्जनशील र महसुर भएकाले नै परिवर्तन का संवाहक हुन् भनिन्छ । तर उनीहरु रोजगारी र अध्ययन खातिर तेस्रो मुलुक केही आर्जन गर्न र विदेशी डिग्री प्राप्त गर्न सललल बगेका बग्यै छन् । मुलुकको रोजगार बजारमा श्रमको उचित सम्मान छैन अनि बजार भाउले नखाम्ने ज्यालाले दुई छाक टार्न धौ–धौको अवस्था छ, भविष्य अनिश्चयको चाङै चाङले भरिभराउ छ । पीरमर्का, बाधा, गुनासाहरु पोख्ने ठाउँ खोज्दाखोज्दै वैराग्य उत्पन्न हुने परिस्थिति छ ।

सरकार दुई तिहाइको हाइसन्चो मानेर बसेको छ । जनताले असन्तुष्टिको ज्वारभाटा नल्याएसम्म यसले नटेर्ने देखिन्छ । भ्रष्टाचार र कमिसनमा लिप्त राज्यका शासन–प्रशासन अंगहरुले ठोस काम–कुरामा तत्परता र तदारुकता देखाउन ठ्याम्मै सकेका छैनन् । अनि ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा जपेर ऊ त भड्खालोमा जाकिने नै भयो, तर राष्ट्र र जनतालाई घचेट्न कदापि पाउने छैन ।

मैले कराएर के हुन्छ ? म को हुँ र ? मलाई मात्र के को खसखस ? यत्रा विधि मान्छे छन्, कोही निस्किहाल्छन् नि ! सम्हाली हाल्छन् नि ! जस्ता व्यक्तिवादी प्रश्न सामूहिक निरुपणको भावले अभिप्रेरित नहुँदा उब्जछन् र निरुपाय लाग्न थाल्दछन् । अनि छोटो समय अन्तरालमै भएको जोस जाँगर शिथिल हुन पुग्छ । देशमा जो बढी बस्छ, जसका आफन्तले आजन्म यही बिताउनु छ, उसले नै राष्ट्रको फिक्री गर्दा परिस्थितिको सामना गर्दै चाँडो नेतृत्व लिन सक्षम भईन्छ । होइन भन्देखिन्, यस्तो पलायनवादी मनस्थितिले विकास सपनीको बर्बराहट हुन पुग्छ । मुलुकका होनहार युवाहरु जहिलेसम्म सुस्त र शुष्क हुन्छन्, राज्य सञ्चालकहरु बेलगाम र बेसुर तालमै चलिरहन्छन् । सचेत र जागरुक भएमात्रै शासकहरु काबुमा आउँछन् । यी सक्रिय जमातले व्यक्तिगत स्वार्थ र पार्टीगत आस्था भन्दा माथि उठेर राष्ट्र र राष्ट्रियतालाई शिरोधार्य गर्ने हो भने कसैको छलछाम र ठगठाग बेहोर्नुपर्ने छैन, अविकास भोग्नुपर्ने छैन ।

विकास र अनुशासन एक सिक्काका दुई पाटा हुन् । विधि र प्रक्रियाको परिपालना बेगर विकासको एक डेग पाइला चाल्न मुश्किल हुन्छ । हरेक परियोजना र कार्यक्रमहरु तोकिएकै समयावधि भित्र सु(सम्पन्न गर्ने परिपाटीको थालनी गर्ने हो भने मानवीय जीवनको मूल्य र महत्वले साकार रुप धारण गर्नेछ । सामाजिक तथा राजनीतिक अगुवाहरुले चाल्ने कदम तथा जन व्यवहार अभिप्रेरित गर्ने खालको र अनुसरण लायक भइदियो भने समाजका हरेक तह तप्का स्वतस्फूर्त तरंगित र सङ्लिन थाल्नेछन् । मानवीय जीवनका दैनिक गतिविधिहरू स्वतन्त्रतापूर्वक नियम संगत ढङ्गले बिना बाधित निर्धारित समयमै सञ्चालित हुन थाल्ने बित्तिकै प्रयत्नहरु नदी झैँ अविरल बग्नेछन् ।

विकासका प्रमुख सरोकारवालाहरुमा उद्योगी र व्यवसायीहरु पनि पर्दछन् । उनीहरुका वस्तु तथा सेवाहरुले मानव स्वास्थ्यसँग खेलवाड गरिरहेका छन् । बेचबिखनका चिजबिजमा अखाद्य वस्तुको मिसावट, कम तौल, मनपरी मूल्य, उत्पादन मिति गुज्रिएका, कमसल र सडेगलेका सामान जस्ता व्यापारीक आचारसंहिताको बेवास्ता र उल्लंघन चरम उत्कर्षमा छ । यसले गर्दा, उपभोक्ताको स्वास्थ्य मात्र प्रतिकूल हुँदैन, उपचारको आर्थिक व्ययभारले उठ्नै नसक्नेगरी थला पार्दछ । नैतिकताविहीन व्यावसायिक क्रियाकलापले समाज संक्रमित छ । न्यायालयभित्र न्यायको खुला किनबेच छ । पैसा र पहुँच बेगरको गरीब जनको न्याय दुरका तारा हुन् । न्यायको भिख माग्न न्यायकर्मी र नेताहरूको घरदैलो चहार्दा चहार्दै अधमरो भइसक्छन् । भएको रित्याएर खल्ती खलास भइसकेपछि कुण्ठा र निराशाले थप निरपेक्ष जीवन गुजार्न अभिसप्त छन् । लोकतन्त्रले प्रदान गर्ने समन्यायिक समाज खोइ त ? प्रश्नहरु बडो जटिल ढंगले गुजुल्टिन पुग्छन् ।

नागरिकजनको संविधानप्रदत्त आधारभूत हक–अधिकार शिक्षा र स्वास्थ्यमा चरम व्यापारीकरण छ । ताराविहीनदेखि पाँचतारेजस्ता लाग्ने थरी–थरीका शिक्षालय र अस्पतालले सेवाका नाममा चर्को मूल्य असुलीले मध्यमवर्गसमेतलाई लपेट्दै जीवन कष्टमय बनाउँदै लगेको छ । शिक्षा र स्वास्थ्यविना मान्छेको जीवनस्तर उकासिँदैन भन्दै राज्य आफैं मानसिकरुपले आर्थिक दोहन गर्न÷गराउन उद्यत छ । सरकारी अस्पताल र शिक्षालय आफै रोगी र रुग्ण छ । ‘खाए खा नखाए घिच’ को राज्य नीतिले गरिब जनहरू अपमानित मात्रै छैनन्, शोषित र दमित जीवन बिताइरहेका छन् । आजन्म नारकीय जीवन भोगिरहेका छन् । आमजनको दुःखमा मलम लगाउनु पर्ने राज्य, रोब–रवाफमै ढलिमली गर्दै छ ।

सरकार दुई तिहाइको हाइसन्चो मानेर बसेको छ । जनताले असन्तुष्टिको ज्वारभाटा नल्याएसम्म यसले नटेर्ने देखिन्छ । भ्रष्टाचार र कमिसनमा लिप्त राज्यका शासन–प्रशासन अंगहरुले ठोस काम–कुरामा तत्परता र तदारुकता देखाउन ठ्याम्मै सकेका छैनन् । अनि ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा जपेर ऊ त भड्खालोमा जाकिने नै भयो, तर राष्ट्र र जनतालाई घचेट्न कदापि पाउने छैन ।

राजनीतिको सारभूत सफलता, राज्यले मुलुकवासीको दुःख–पीडा हरण र अभिभावकीय अपनत्वको प्रत्याभूति खातिर के–के, कति–कति, कसरी–कसरी सुसम्पन्न ग¥यो भन्नेले नै निर्धारण गर्दछ । आमजनको दैनन्दिनको जनजीविकाका सकसलाई शिक्षा, स्वास्थ्य, रोजगारका साथै जनकल्याणकारी कार्यक्रमले सहज नबनाईकन अन्य विषयवस्तुमा भुतभुताउनु बेकार छ । सडक, भ्यूटावर, एयरपोर्ट, रेल, पानीजहाज विकासको क्रमिकतामा ढिलोचाँडो प्राप्त होला नै । तर अहं प्रश्न भनेको पेलेर, ठेलेर, खेदेर ल्याउने कि समेटेर, मिलेर, सुख, शान्ति, समृद्धि हासिल गर्ने ? मर्जी यहाँहरुकै ।

 

प्रतिक्रिया दिनुहोस्