विकासे मनको खाँचो छ अजिरकोटलाई



 

फणीन्द्रप्रसाद धिताल
अध्यक्ष अजिरकोट गाउँपालिका गोरखा

नेपाली राजनीतिमा चार दशक पार गरिसक्नुभएका फणीन्द्रप्रसाद धिताल गोरखालीका लागि नौलो नाम होइन । विद्यार्थी जीवनदेखि राजनीतिमा प्रवेश गर्नु भएका उहाँ काँग्रेसका शीर्ष नेताहरु कृष्णप्रसाद भट्टराई र गणेशमान सिंह नजिक हुनुहुन्थ्यो । पञ्चायतकालमा प्रजातन्त्रका प्राप्तीका लागि क्रियाशिल हुँदा धिताल धेरैपटक पञ्चका आँखाको तारो पनि बन्नुभयो ।

२०३६ सालमा बहुदलको पक्षमा गाउँगाउँ डुलेर प्रचार गर्दा गाउँकै ठूलाठालु आफू विरुद्ध खनिएपछि राजनीतिक गतिविधीबाट केहि समय टाढिएर उहाँ शिक्षण पेशामा क्रियाशिल रहनुभयो । प्रजातन्त्र प्राप्तिपछि पनि नेपाली कांगे्रसमा निष्ठाको राजनीति गर्नुभयो, कुनै पदको आकांक्षा पनि गर्नुभएन । नेपाली कांग्रेको महाधिवेशन प्रतिनिधिमै चित्त बुझाउनुभयो ।

शवर्षे माओवादी जनयुद्धमा विस्थापित भएर काठमाडौंमै रहन बाध्य हुनुभयो । स्थानीय निकायमा जनप्रतिनिधी चुनिने भएपछि पार्टीले धिताललाई गाउँपालिका प्रमुखका लागि टिकट दियो र उहाँ सो पदमा विजयी बन्नुभयो । उहाँसँग समग्र अजिरकोट गाउँपालिका र विकासका सम्बन्धमा केन्द्रित रहेर नेपाल समाचारपत्रका लागि यदुप्रसाद भट्टले गरेको कुराकानीको सारसंक्षेप :

गाउँपालिकामा कर्मचारीको अभाव भएको गुनासो धेरै छ, यसको व्यवस्थापन कसरी गर्नुभएको छ ?
–हाल वडा नंं. ५ मा एक जना वडा सचिव हुनुहुन्छ, अरु वडामा कुनै पनि कर्मचारी छैनन् । रिक्त रहेको धेरै भयो, सरकारले कर्मचारी
पठाउनै सकेको छैन । पहिला पनि एउटै कर्मचारीले दुई तीन वटा वडा हेर्नुपथ्र्यो । अहिले पनि हालत उस्तै छ । जिल्लामा धेरै गुहारें, प्रदेशमा पनि गुहारें, केहीसिप लागेन । वडाअध्यक्षहरुले नै आफैं गर्नुहुन्छ । स्थानीय पञ्जिकाधिकारीले गर्ने कामचाहिँ स्वास्थ्यका कर्मचारीले गरिदिनुहुन्छ । अरु काम गाउँमा शिक्षक, बुद्धिजीवी जसलाई भेट्यो उसैलाई गर्न लगाउनु बाहेक अन्य विकल्प छैन ।

समृद्ध अजिरकोटका लागि नमुना बस्तीको योजना सार्नुभएको रहेछ, यो योजना कस्तो हो ?
– हाम्रो गाउँपालिका पर्यटनले दृष्टिले एकदमै आकर्षित छ । पर्यटन उद्योगको प्रचुर सम्भावना बोकेको गाउँपालिका हो । प्राकृतिक रुपमै सुन्दर रहेको अजिरकोटलाई नमुना बस्तीको विकास गरी अघि बढाउने सोच बनाएको छु । यसका लागि अतिथिमैत्री बजार र गाउँ बनाउने योजना छ ।

पूरै अर्गानिक तथा स्थानीय खाना खुवाउने अतिथिको स्वागत सत्कारका लागि होमस्टे सञ्चालन गर्ने योजना छ । एक गाउँ एक अतिथिगृहको अवधारण ल्याउने सोच छ । शहरबजारको उदेकलाग्दो वातावरणबाट मुक्ति पाउन आउने पर्यटकलाई यहाँको लोकल खाना खुवाउने, रीतिरिवाज तथा संस्कृति झल्कने प्रस्तुति दिने गरी नम्कीका पहिले नै एक होमस्टे सञ्चालन भइसकेको छ । यसलाई पनि अझ व्यवस्थित गर्दै अन्य ठाउँमा पनि होमस्टे सञ्चालन गर्ने योजना छ । त्यसका लागि प्रत्येक वडामा सकड पु¥याउने गरी रकम विनियोजित गरेको छु । सुरक्षा र मदिराको कारणले गर्दा पनि अतिथिमैत्री बजार र गाउँ बनाउनुपर्ने खाँचो रहेको छ ।

अहिले सरकारले गाउँगाउँमा सिंहदरबार पु¥याउने योजना अघि सारेको छ, व्यवहारमा चाहिँ कस्तो भइरहको छ ?
– कल्पनाको सिंहदरबार बन्यो गाउँगाउँमा । कसरी गर्न सकिन्छ गाउँगाउँमा सिंहदरबारको प्रत्याभूति ? पूर्वाधार तयार गर्न सके अजिरकोटमै बन्छ सिंहदरबार । पूर्वतयारीविना सिंहदरबारको कल्पना गर्न सकिँदैन ।

सामानविनाको सिंहदरबार भयो । त्यसैले मैले अजिरबोटलाई सिंहदरबारमा बदल्ने सोच बनाएको छु । यसका लागि सबैको साथ र सहयोग चाहिन्छ । विकासे मन लिएर अजिरकोट फर्किन सबै स्थानीयलाई आग्रह गर्छु । तन जहाँ भए पनि मन अजिरकोटमा दिनुहोस्, मेरो यही आग्रह छ । यहाँको पुर्खाले जोगाएको बिरासत थाम्ने कोही हुन्नन् । आफ्नै गाउँठाउँलाई प्रवद्र्धन गर्ने विकासे मनको खाँचो छ अजिरकोटलाई ।

उसो भए मुख्य समस्या भनेको बसाइँसराइ भन्न खोज्नुभएको हो ?
– हो, अवश्य पनि बसाइँसराइ नै मुख्य समस्या हो । बसाइँसराइले गर्दा यहाँको आम्दानी सबै बाहिरिएको छ । बढ्दो शहरीकरणले झन् समस्या पैदा गरेको छ । भूकम्पपछि धेरै बसाइँ सरे । गाउँमा बूढाबुढी मात्र छन् । पढेलेखेका शहर पसे, अद्र्धशिक्षित खाडी मुलुक गए । उच्च तहका सबै युरोप, अमेरिका, अस्ट्रेलिया, जापानतिर छन् ।

उदाहरणका लागि एक जना शिक्षकले आफूले पाएको तलबजति सबै बालबच्चाको लागि शहर पठाउने भयो । ऊ पनि आफू बिदा हुनेबित्तिकै शहर जान्छ । अलिअलि कमाएको बचाएको पनि शहरमै खर्च हुने भएपछि समस्या बल्झिएको छ । खाडी मुलुक जानेको पनि हालत उस्तै हो । श्रीमान् कतार गएको छ भने श्रीमती बजारमै बसेर बच्चा पढाउँछे । रोजगारीका लागि बिदेसिनेले कमाइ गरेपछि शहरमै स्थायी बसोबास गर्ने प्रवृत्ति व्याप्त छ, यही नै मुख्य समस्याको रुपमा रहेको छ ।

गाउँपालिकाको समग्र शैक्षिक अवस्थाको बारेमा केही बताइदिनुहोस् न ।
– शिक्षा त राष्ट्रिय रोगकै रुपमा रहेको छ । प्रदेशले ऐन बनाएको छैन । नमुना कानुलाई पास गरेर चलाएको अवस्था छ । १ र २ नं वडाको तुलनामा ३ मा शिक्षक विद्यार्थीको अनुपात मिलेको छैन । केही विद्यालय ‘मर्ज’ गर्नुपर्ने हुन्छ । ४ मा प्रविधिक धारको विद्यालय छ ।

५ मा पनि सन्तोषजनक छैन । विद्यालय व्यवस्थापनसम्बन्धी मुद्दा धेरै छन् । यी मुद्दाको विषयमा राष्ट्रले नै ध्यान दिनुपर्छ भन्नेमा मेरो जोड हो । गाउँपालिका सबै गर्न सक्दैन । २२ वटा स्वतन्त्र अधिकार पाए पनि कानुन अभावमा कार्यान्वयनमा समस्या छ ।

तपाई खेलप्रेमी तथा खेलकुदको ज्ञाता पनि हुनुहुन्छ, यस विषयमा के योजना ल्याउनुभएको छ ?
– यसका लागि मैले १८ सय मिटर उचाइमा खेलकुद मैदान बनाउन शुरु गरेको छु । केही रकम पनि छुट्याइसकेको छु । अझ आवाससहित त्यहीं बसेर खेल्ने खाने र प्रतियोगिता गर्ने सुविधा भएको रंगशाला बनाउन स्केच तयार पारेको छु । चिसोमा अभ्यास खेल खेल्ने खेलाउने प्रतियोगिता सञ्चालन गर्ने सोच छ । डीपीआरको काम सम्पन्न भएको छ । नमुनाकै रुपमा हाइअल्टिच्युड खेल मैदान बन्दै छ ।

विकासे बजेट सडकमा पोखयो भन्ने सुनिन्छ, कति सडक बन्दै छन् ?
– समृद्धि भनेको पर्यटन हो । मैले एग्रो टुरिजममा जाने अवधारण लिएको छु । अलिअलि त सडक बनाउनै प¥यो । सडक बनाउँदा बजेट चाहियो नै । बाटो नै नभए कसरी विकास सम्भव होला र । त्यसैले अजिरकोटदेखि नम्की, सिरानडाँडा हुँदै सिस्ने, अपुन, ओलाङतर्फ एक रुट र सिरानडाँडाबाट बारपाक, लाप्राक हुँदै अर्को रुटका लागि एग्रो टुरिजमको प्रवद्र्धन गर्ने सोच छ ।

अन्त्यमा अजिरकोटबासीलाई केही भन्नु छ कि ?
–गाउँपालिका स्थायी समृद्धिका लागि अगाडि बढ्दै छ । कस्तूरीले बासना थाहा नपाएर हिँडेजस्तो भएको छ । कस्तूरी हामीभित्रै छ, सबै अजिरकोटबासी दाजुभाइ दिदीबहिनीलाई विकासे मन लिएर अजिरकोट फर्कन आग्रह गर्दछु ।

प्रतिक्रिया दिनुहोस्