साउदी अधिकारीद्वारा खसोगी हत्याकान्डको जाँचमा अड्चन



न्युयोर्क, (एजेन्सी)
साउदी पत्रकार जमाल खसोगी हत्याकान्डको जाँच गरिरहेका संयुक्त राष्ट्रका जाँचकर्ताहरूले हत्या सुनियोजित भएको र त्यसका लागि साउदी अधिकारीहरू जिम्मेवार रहेको बताएका छन्। प्रारम्भिक जाँच प्रतिवेदनमा टर्कीका अधिकारीलाई खसोगीको हत्या गरिएको साउदी दूतावासमा प्रवेश गर्न नदिएको उल्लेख गरिएको छ। यसरी साउदी अधिकारीले जाँचमा अड्चन लगाएको प्रतिवेदनले जनाएको छ।

खसोगी गत वर्ष अक्टोबर २ मा अन्तिमपटक देखिएका थिए। त्यतिबेला उनी साउदी दूतावासभित्र छिरिरहेका थिए। संयुक्त राष्ट्रका विशेष जाँच अधिकारी एग्नेस केलमर्डले यस प्रकारको कुनै हत्याका लागि युवराजको मन्जुरी लिनुपर्ने बताए।

केलमर्डले उक्त हत्याको जाँच गरिरहेको अन्तर्राष्ट्रिय टोलीको नेतृत्व गरिरहेका छन्। उनको प्रारम्भिक जाँच रिपोर्टमा खसोगीलाई बर्बर तरिकाले हत्या गरिएको र साउदी अधिकारीले यसका लागि योजना पहिल्यै बनाएको उल्लेख गरिएको छ। हत्याको जाँच गर्न टर्कीलाई रोकेको र साउदी अधिकारीले हत्यापछि १३ दिनसम्म जाँचकर्ताहरूलाई दूतावासमा प्रवेश गर्न नदिएको प्रतिवेदनमा जनाइएको छ। एग्नेस केलमर्डले आफू साउदी अरेबियाको आधिकारी यात्रामा जान चाहेको र ११ जना अभियुक्तविरुद्ध बताइएका प्रमाणको जाँच गर्न चाहेको बताए।

प्रतिवेदनमा खसोगीको शव अहिलेसम्म बरामद नभएको र त्यो उनका परिवारका लागि अत्यन्त बेहद पीडादायी भएको उल्लेख गरिएको छ। उक्त घटनाको अन्तिम प्रतिवेदन जुनमा संयुक्त राष्ट्र मानवअधिकार परिषद्लाई बुझाइनेछ। साउदी अधिकारीका अनुसार खसोगीको मृत्यु दूतावासमा एक संघर्षका क्रममा भएको हो। टर्कीका अधिकारीले दूतावासमा उनको हत्या साउदी एजेन्टहरूको एक टोलीले गरेको बताएका थिए। साउदी अरेबियाले खसोगीको हत्याका लागि ११ जनामाथि मुद्दा चलाएको छ तर उनीहरूलाई टर्की हस्तान्तरण गर्ने मागलाई अस्वीकार गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्