थाई राजकुमारीबाट आमचुनावमा उम्मेदवारी



बैंकक, (एजेन्सी)
थाइल्यान्डमा आगामी मार्च महिनामा हुन गइरहेको आम निर्वाचनमा एक जना थाई राजकुमारीले प्रधानमन्त्री पदका लागि उम्मेदवारी दिने घोषणा शुक्रबार गरेकी छन्। थाइल्यान्डको पछिल्लो शाही इतिहासमा राजपरिवारका कुनै सदस्यले यसरी प्रत्यक्षरूपमा देशको राजनीतिक भूमिकाका लागि दाबी गरेको यो पहिलो घटना भएको सरकारी सञ्चारमाध्यमले जनाएको छ।

थाइल्यान्डका नरेश महा वाजिरालोङकोर्नकी दिदी ६७ वर्षीया राजकुमारी उबोलरतनाले थाई रक्षा चार्ट पार्टीका तर्फबाट उम्मेदवारी दिन लागेकोे घोषणा गरेकी हुन्। थाई राजतन्त्रलाई परम्परागतरूपमा राजनीतिक प्रतिस्पर्धाभन्दा माथि पवित्र संस्थाका रूपमा हेर्ने गरिन्छ। थाइल्यान्डको कडा कानुन ‘लेस म्याजेस्ट’ को व्यवस्थाका कारण राजतन्त्रविरुद्ध त्यहाँ कसैले पनि आलोचना गर्न पनि पाइन्न। सो कानु तोड्नेमाथि कडा कारबाही हुने गरेको छ। तर राजतन्त्रले मुलुकमा गम्भीर राजनीतिक संकट सिर्जना भएका अवस्थामा भने प्रत्यक्ष हस्तक्षेप गर्ने गरेको छ।

अचानक उबोलरतनाले दिएको उम्मेदवारीका कारण २४ मार्चमा हुन लागेको चुनावमा नयाँ तरंग उत्पन्न गरिदिएको छ। विशेष गरी थाइलयान्डका पूर्वप्रधानमन्त्री थाक्सिन शिनावात्राको राजनीतिक प्रभावलाई साथ दिने उद्देश्यले राजकुमारीले यो उम्मेदवारी दिएको हुनुपर्ने राजनीतिक विश्लेषकहरूको अनुमान रहेको छ। थाइल्यान्डमा थाक्सिन समर्थक ‘राता’ टिसर्टधारी र राजावादी ‘पहेंला’ टिसर्टधारीबीच परम्परागत दुश्मनी रहँदै आएकामा राजकुमारीको उम्मेदवारीले दुवैलाई एक ठाउँमा ल्याउने सम्भावना पनि बढेको छ। यी दुई समूहबीचको डरलाग्दो हिंसाले गत दशकमा थाइल्यान्डको राजनीतिलाई अस्थिर बनाएको थियो। फलस्वरूप थाइसेनाले राजनीतिक हस्तक्षेप गर्नुपरेको थियो।

थाई रक्षा चार्ट पार्टीका नेता प्रिचापोल पोङपानिचले पत्रकारलाई बताएका छन्– ‘राजकुमारी उबोलरतनाको छनोट सबैभन्दा उपयुक्त रहेकामा पार्टीको बोर्ड पूर्णरूपमा सहमत रहेको छ। राजकुमारी निकै सुरिक्षित र सीपालु रहेकी छिन्।’ यो पार्टी अर्बपति थाई नेता थाक्सिन शिनावात्राको प्रभावमा रहेको मानिन्छ। उनी थाइल्यान्डको राजनीतिमा निकै प्रभावशाली व्यक्तित्व पनि हुन्। उनलाई थाइल्यान्डको सेना र बैंककस्थित धनाढ्य वर्गले नरुचाए पनि ग्रामीण क्षेत्रका गरिब परिवारले अत्यन्त सम्मान गर्दछन्।

प्रतिक्रिया दिनुहोस्