बक्सिङमा महिलातर्फ आर्मी च्याम्पियन



नेपाल समाचारपत्र, काठमाडौं
वीर गणेशमान सिंह स्मृति राष्ट्रिय खुला बक्सिङ प्रतियोगिताको महिलातर्फको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ। आर्मीले ६ तौल समूहमा ३ स्वर्ण, २ रजत र १ कांस्यसहित महिलातर्फ वर्चश्व राख्दै उपाधि जितेको हो। शुक्रबार वसन्तपुर डबलीमा भएको फाइनल खेलमा विभिन्न तौलसमूहमा आर्मीका तीन खेलाडीले स्वर्ण पदक जिते। जसमा ६०–६४ केजी तौल समूहतर्फ पुनम रावलले एपीएफकी सरस्वती रानालाई पराजित गरिन्। ५४–५७ केजीमा चन्द्रकला थापाले एपीएफकै सुलभ थापामगरलाई हराइन्। ५१–५४ केजीमा मिनु गुरुङले नेपाल पुलिस क्लबकी निशा तामाङलाई हराइन्।

त्यस्तै एपीएफका लागि संगीता सुनार र माला राईले स्वर्ण दिलाए। संगीताले ५७–६० केजी तौल समूहमा आर्मीकी सविना श्रेष्ठलाई हराइन्। मालाले ४८–५१ केजीमा आर्मीकै विमला श्रेष्ठलाई पराजित गरिन्। पुलिसका लागि एक मात्र स्वर्ण दिवाना शेर्माले प्राप्त गरेकी थिइन्। उनले ४६–४८ केजी तौल समूहमा प्रदेश ५ की सुशीला थापालाई हराइन्।

यसै गरी पुरुषको सेमिफाइनल चरणका खेल पनि शुक्रबार सम्पन्न भए। ४९ केजीमा एपीएफका प्रदीप महर्जनले प्रदेश ७ का भानु विष्ट तथा आर्मीका सुशील थापाले प्रदेश ६ का मोहन गुरुङलाई हराए। आर्मीकै प्रेम चौधरीले ५२ केजी तौल समूहमा प्रदेश १ का सुलभराज तुलाधरलाई हराए। एपीएफका विक्रम परियारले पुलिसका चन्द्रबहादुर थापालाई हराउँदै फाइनलमा स्थान बनाए।

एपीएफका पुरन राई प्रदेश २ का गणेश थापालाई हराउँदै ५६ केजीको उपाधि भीडन्तमा पुगे। प्रदेश ७ का महेन्द्र चन्दलाई हराएका आर्मीका विमल रोकाले पुरनसँग फाइनलमा खेल्नेछन्। ६० केजी तौल समूहमा आर्मीका एकबहादुर घले प्रदेश ५ का गणेश थापामगरबाट वाकओभर पाउँदै फाइनल पुगे। पुलिसका दिनेश श्रेष्ठले एपीएफका प्रकाश लिम्बुलाई हराउँदै एकबहादुरसँग उपाधि भीडन्त पक्का गरे।

पुलिसका भूपेन्द्र थापा र एपीएफका सोनाम सार्कीले ६४ केजी तौल समूहको उपाधिका लागि खेल्नेछन्। भूपेन्द्रले आर्मीका सुरेश नेपालीलाई हराउँदा सोनामले प्रदेश ६ का इन्द्र सुनारलाई पाखा लगाए। ६९ केजीमा आर्मीका विष्णुप्रसाद घलेले प्रदेश १ का राजेश गुरुङलाई नकआउट गरे। एपीएफका विकास लामाले प्रदेश ३ का मनिष डंगोललाई हराउँदै उपाधि भीडन्त पक्का गरे। ७५ केजी तौल समूहमा एपीएफका सुमन कार्की र आर्मीका दीपक श्रेष्ठ फाइनल पुगेका छन्।

प्रतिक्रिया दिनुहोस्