जापानी टोलीलाई गोलकिपर राजुले घर फर्काए



विजय नेपाली, पोखरा

पोखरा रंगशालामा जारी पोखरा कपको छैटौं संस्करण मनकामना केबलकार पोखरा कप २०७५ को उपाधि जितेर घर फर्कने योजना बनाएको जापानी टोलीलाई शून्य हात परेको छ।

शुक्रबार सेमिफाइनल खेलमा सशस्त्र प्रहरी बल एपीएफका गोलरक्षक राजु नगरकोटी नायक बन्दा जापानको रिस्सो विश्वविद्यालय टाइब्रेकरमा ४–१ गोलले हार्दै घर फर्कनुपरेको हो। अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा राजुले एक पेनाल्टी बचाऊ गर्दै एपीएफलाई फाइनल पु¥याएका थिए। उनी खेलको म्यान अफ दि म्याचसमेत घोषित भए।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा पनि दुवै टोलीले गोल गर्न नसक्दा निर्णय टाइब्रेकरमा गर्नुपरेको थियो। जापानलाई हराउन गोलरक्षक नगरकोटी निकै व्यस्त देखिए। जापानी टिमले गरेको हरेक प्रहारलाई उनले विफल पार्दै जित दिलाएका हुन्। ‘जापानको खेल स्तरीय थियोे, गोलरक्षकले निकै उत्कृष्ट खेल देखाए। मैदानले उनीहरूलाई धोका दियो। स्तरमा हामी कमजोर छौं तर पनि रणनीतिअनुसार खेल्दा जित हात पा¥यौं’, जितपछि एपीएफका प्रशिक्षक राजेन्द्र तामाङले प्रतिक्रिया दिए– ‘मैदान प्रतिकूल भएको भए आज दर्जनौं गोल खाइन्थ्यो तर भाग्यले पनि साथ दियो।’

निकै स्तरीय खेल प्रदर्शन गरेको रिस्सो विश्वविद्यालयले खेलको १३औं मिनेटमा केसुकिको क्रसमा कोयोजी फुजिमोरीको प्रहार एपीएफका राजुले पन्च गर्दै बचाए। ४५औं मिनेटमा नाट्सुकीले गरेको प्रहार फस्टबार नजिकैबाट बाहिरिन पुग्यो। ५४औं मिनेटमा टाकुया हिटोमीले गरेको प्रहार गोलरक्षकले पन्च गरे। ६२आंै मिनेटमा योटा उमेहाराको पासमा योजी फुजिमोरीले गरेको प्रहार गर्दा गोलरक्षकले बचाउ गरे। ८५आंै मिनेटमा र्योटाले नै गरेको प्रहार गोलरक्षकले उत्कृष्ट बचाउ गरे। ९०औं मिनेटमा फुजिमोरीले डिबक्स भित्रबाट गरेको प्रहारलाई गोलरक्षकले डाइभ गर्दै बचाउ गरे।

९३औं मिनेटमा उमेहाराले गरेको उत्कृष्ट प्रहार फस्टबारमा लागि फर्किन पुग्यो। १०४औं मिनेटमा नासुकी टकेडाको क्रसपासमा यसुताका सुजुकीले गरेको हेडमा पुनः गोलरक्षक बाधक बन्न पुगे। ‘विपक्षीका गोलरक्षक र डिफेन्सले निकै राम्रो खेल प्रदर्शन गरे, दोस्रो हाफमा हामी कमजोर देखियौं। उनीहरूको रनिङ पनि उत्कृष्ट लाग्यो’ –जापानका प्रशिक्षक ताकेसेक तोकाइरिनले प्रतिक्रिया दिए। प्रतियोगिताअन्तर्गत शनिबार पाहुना टोली क्यामरुनको डफिन्स टिम फेमिली र मनाङ मस्र्याङ्दीबीच दोस्रो सेमिफाइनल खेल हुनेछ।

प्रतिक्रिया दिनुहोस्