अमेजनका संस्थापकद्वारा आफूलाई ब्ल्याकमेल गर्न खोजिएको आरोप



न्युयोर्क, (एजेन्सी)
विश्वका सर्वाधिक धनी व्यक्तिका रूपमा चिनिने तथा अमेजन डट कमका संस्थापक जेफ बेजोसले एउटा अमेरिकी ट्याब्लोइड पत्रिकाका मालिकले आफूलाई गोप्य तस्वीरहरूलाई लिएर ब्ल्याकमेल गर्न खोजेको आरोप लगाएका छन्। बेजोसले नेसनल इन्क्वाएरर नामक पत्रिका छाप्ने अमेरिकन मिडिया इंक ‘एएमआई’ ले आफ्ना अत्यन्तै गोप्य इमेल कसरी फेला पा¥यो भन्नेबारे अनुसन्धान गर्न माग गरेका छन्।

एएमआईले आफ्ना निजी एवं गोप्य तस्वीरका साथै इमेल पनि सार्वजनिक गरिदिने धम्की दिएकाले आफूले यसलाई ब्ल्याकमेलको संज्ञा दिएको पनि बेजोसले बताएका छन्। गत महिना मात्र बेजोस र उनकी पत्नी म्याक्केन्जीले आफ्नो २५ वर्षे वैवाहिक सम्बन्ध अन्त्य भएको घोषणा गरेका थिए। तिनीहरूको सम्बन्धविच्छेदको घोषणा पनि नेसनल इन्क्वाएररले बेजोसको विवाहेत्तर सम्बन्धबारे एक प्रतिवेदन सार्वजनिक गरेपछि मात्र आएको हो।

बीबीसीले बेजोसको यस्तो आरोपबारे जिज्ञासा राख्दा एएमआईले कुनै पनि प्रतिक्रिया दिन अस्विकार गरेको छ। बिहीबार प्रकाशित एक ब्लगमा वासिङ्टन पोस्टका मालिकसमेत रहेका बेजोसले भनेका छन्– ‘एएमआईका प्रतिनिधिले मेरा मध्यस्थकर्तालाई प्रेमिका लाउरेन सान्चेजसँगको गोप्य तस्वीर सार्वजनिक गरिदिन्छु भनेर इमेल पठाएको छ। एएमआईले मेरोबारे जुन समाचार प्रकाशित ग¥यो, त्यसमा कुनै राजनीतिक उद्देश्य नभएको भन्दै झुटो सार्वजनिक बयान दिन माग ग¥यो।’

प्रतिक्रिया दिनुहोस्