अनुदित कथाको सँगालो



रोहिणी घिमिरे
पत्रकार हिकमत डंगोलको ‘प्रारम्भ’ नामक अर्को अनुदित कथासङ्ग्रह बजारमा आएको छ। अङ्ग्रेजी भाषाको ज्ञान नभएका तर विदेशी कथाहरू पढ्न रुचि भएका नेपालीभाषीहरूका लागि यो कथासङ्ग्रह पठनीय हुने देखिन्छ। यस सङ्ग्रहमा एन्तोन चेखव, गाय दी मोपासाँ, चिनुवा आचेवजस्ता विश्वप्रसिद्ध लेखकहरूका नौवटा कथा समावेश गरिएका छन्। डंगोलद्वारा अनुदित ‘प्रारम्भ भाग १’ यसभन्दा अगाडि नै प्रकाशन भइसकेको छ। शायद यो भाग २ हुन सक्छ तर पुस्तकमा कतै उल्लेख गरेको देखिएन।

साधना पारिवारिक मासिक, कामना सिने मासिक एवम् नेपाल समाचारपत्र दैनिक पत्रिकामा वर्षौं अनुवाद कार्यको अनुभव बटुलिसकेका पत्रकार डंगोल विगत ९–१० वर्षदेखि अमेरिकामा बस्दै आएका छन्। लाग्छ, डंगोलद्वारा अनुदित यस कथा सङ्ग्रहले नेपालीभाषी पाठकहरूलाई कथा रचना गर्दाको तत्कालीन सामाजिक परिवेशको केही हदसम्म जानकारी प्राप्त हुनेछ। साथै यी कथाहरूबाट केही नवीन शिक्षासमेत हासिल गर्न सकिनेछ।

डेढ–दुई सय वर्षअगाडि रचना भएका कथाहरू पनि यस सङ्ग्रहमा समावेश गरिएकाले त्यति बेलाको सामाजिक चालचलन अवलोकन गर्न पनि यस्ता कथाले मद्दत गर्नेछन्। यस सङ्ग्रहमा समावेश एन्तोन चेखवद्वारा रचना गरिएको ‘दुःख’ शीर्षकको कथा बडो मार्मिक छ। सधैँ रक्सी खाएर श्रीमतीलाई हैरान बनाउने पेट्रोभ नामक व्यक्तिले न त श्रीमतीलाई कहिल्यै सुख दिन सक्यो, न आफू सुध्रन सक्यो। श्रीमती बिरामी भएपछि छिमेकीको घोडेबग्गीमा हालेर उपचारका लागि त लग्यो तर डाक्टरकोमा नपु¥याउँदै हिउँ पर्न लागेकाले घोडासहित श्रीमतीको बाटोमै मृत्यु भयो। आफू होसमा आउँदा हिउँले खाएर हातगोडाविहीन अवस्थामा अस्पतालमा पु¥याइएको पायो। आखिर उसले न श्रीमतीलाई बचाउन सक्यो, न श्रीमतीसमक्ष प्रायश्चित्त नै गर्न सक्यो। अस्पताल लान प्रयोग गरिएको छिमेकीको घोडासमेत फर्काउन सकेन। जीवनको अन्त्यमा हातगोडा गुमाएर पश्चात्तापको भूमरीमा पर्दा उसलाई कति पीडा भयो होला रु कथा धेरै मार्मिक र हृदयविदारक छ। साथै शिक्षाप्रद पनि छ। यो त एउटा उदाहरणको रूपमा प्रस्तुत गरिएको एक कथाको संक्षेप मात्र हो।

यस सङ्ग्रहमा समावेश कथाहरू पढ्दा पाठक आफैं कथामा वर्णित घटनाको प्रत्यक्षदर्शी भएजस्तो कल्पना गर्न पुग्छन्। यसलाई रचनाकार र अनुवादक दुवैको खूबी मान्न सकिन्छ। यस्ता कथाको छनोट गर्न अनुवादक डंगोल सफल भएकै मान्नुपर्छ।

त्यसै गरी एड्गर एलन पोद्वारा रचित ‘हृदयले भन्छ कथा’ सन् १८४३ मा प्रकाशित भएको कथा हो। ‘ढाँटेको कुरा काटे मिल्दैन’ भन्ने नेपाली उखानसँग मिल्छ यो कथा। बडो होसियारीसाथ एकजना मान्छे मारिन्छ। कुनै सबुद प्रमाणसमेत हुँदैन। र, शंका पनि हुँदैन। अपराधी प्रहरीको अगाडि सामान्य व्यक्तिसरह हुन्छ। तर केही बेरपछि अपराध गरेको कुरा आफ्नै शरीरले लक्षण देखाउन थालेको उसलाई आभास हुन्छ। आखिर आफैंले मान्छे मारेको कुरा प्रहरीलाई ओकल्छ। जसरी पनि अपराधी उम्किन सक्दैन भन्ने शिक्षा यस कथाले दिएको छ। तर कताकति यस्ता शब्द प्रयोग भएका छन् कि जसको अर्थ विषय–प्रसंगले पनि बुझ्न सकिन्न, जस्तै– मेरो बूढी औंला पाटाको फिटामा चिप्लियो। यस्ता शब्दमा भाषा सम्पादकको ख्याल नपुगेको देखिन्छ।

त्यस्तै ‘मृतपुरुषहरूको पथ’ शीर्षकको कथाले पुराना विचारधारका मान्छेलाई बदल्न कठिन हुन्छ भन्ने शिक्षा दिन्छ। हिमालय बुक स्टलद्वारा प्रकाशित यस्तै–यस्तै रहस्यमय एवम् मार्मिक कथाहरूले भरिएको यस अनुदित कथा सङ्ग्रह युवायुवती, बूढाबूढी, विद्यार्थी सबैका लागि पठनीय हुने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्