तरकारी बेच्ने प्रोफेसर र कमारा पाल्ने शरणार्थी



राममणि दुवाडी
म एउटा कामको सन्दर्भमा केही वर्षअघि संयुक्त राज्य अमेरिका पुगेको थिएँ। विदेशमा स्वदेशी अनुहार प्रिय हुने नै भयो, त्यसमाथि पनि कुनै आफन्त भए त के चाहियो र रु न्यूयोर्कबाट करिब ७ घण्टाकोे गाडी–दूरीमा मेरो एकजना आफन्तले अध्ययन गर्ने विश्वविद्यालय थियो। विश्वविद्यालयकै आसपासमा बस्ने ती आफन्तले मलाई निमन्त्रणा गरे। उनको निमन्त्रणालाई सहर्ष स्वीकार गर्दै मेरो यात्रा त्यतै सोझियो। लामो समयपछि नजिकको आफन्तसँगको विदेशी भूमिमा भएको भेटले हामी दुबै दङ्ग थियौं। ती मेरा आफन्तले फुर्सद निकालेरै भए पनि हरेक दिन कतै न कतै घुमाउन, देखाउन लैजान्थे। आपूm पनि नौलो ठाउँको नौला व्यवहार, नौलो चालचलन, नौलो संस्कृति, नौलो मूल्य–मान्यता र नौलो जीवनशैली देखेर कहिले रोमाञ्चित हुन्थें, कहिले अचम्म मान्थें। खासगरी त्यहाँको मानिसमा पाइने कामप्रतिको निष्ठा र समयको महत्वबोध सकारात्मक पक्ष लाग्यो। हाम्रो संस्कृतिमा सुपाच्य नमानिने कतिपय पक्षहरू पनि त्यहाँ धेरै देख्न पाइन्थे। फरक समाजमा फरक मूल्य–मान्यता रहनु स्वाभाविकै हो। तर, कामलाई साना र ठूलाले गर्ने भनेर छुट्याउने, ठूलो ओहदामा पुगेकाले घर, करेसाबारी वा टोल समुदायको काम गर्दा इज्जत घटेको ठान्ने वा अरू कसैले त्यस्तो काम गरेको देख्दा खिसी गर्ने संस्कार तथा व्यवहार भने त्यहाँ पटक्कै देखिएन।

त्यहाँ पनि हाम्रै जस्तो शनिबारे, आइतबारे हाट लाग्ने ठाउँ हुँदा रहेछन्। हाटबजारमा कसैले आफ्नै बारीमा फलाएका फलपूmल तथा हरियो तरकारी त कसैले आफ्नै घरमा बनाइएका बिस्कुट, कुकिजलगायत विभिन्न वस्तुहरू बेच्न ल्याउँदा रहेछन्। हाटबजारमा उनीहरू ग्राहकलाई तानातान नगरी धैर्य र शान्तपूर्वक आफूतिर ग्राहक आउने प्रतीक्षा गर्दा रहेछन्। म र मेरा आफन्त पनि हाटबजार हेर्न र मन पर्ने ताजा चीजबीज किन्ने मनसायले त्यहाँ पुग्यौं। अमेरिकामा पुगेर पनि शनिबारे हाट देख्न पाएकोमा दङ्ग पर्दै र सामान हेर्दै तथा चाहिने सामानको मोलतोल गर्दै अघि बढ्यौं। यत्तिकैमा हामी एउटा अधबैंसे पुरुषले ताजा सागसब्जी र हरिया मकैका घोगा बेच्न बसेका ठाउँमा पुग्यौं। मेरा आफन्त र ती अधबैंसेले हात मिलाएर सामान्य अभिवादन साटसाट गरे। त्यसपछि मेरा आफन्तले मसँग ती साग विक्रेताकोे परिचय गराए। मेरा लागि अपत्यारिलो कुरा भयो। ती व्यक्ति त स्थानीय केन्ट स्टेट युनिभर्सिटीका भौतिक शास्त्रका सुप्रसिद्ध प्राध्यापक रहेछन्, जसको मातहतमा नेपालजस्ता धेरै देशबाट उक्त विश्वविद्यालयमा अध्ययन गर्ने धेरै प्रतिभाशाली व्यक्तिहरूले विद्यावारिधी सम्पन्न गरेका रहेछन्। अनुसन्धान र अध्यापनबाट बचाएको सीमित समय उनी परिवारसँग मिलेर करेसाबारीमा काम गरी उपयोग गर्दा रहेछन्। त्यस प्रकारका कामबाट भरपूर आनन्द बटुल्ने गरेका उनी ती करेसाबारीमा उब्जिएका मौसमी तरकारीलगायतका अन्य उत्पादन लिएर शनिबारे हाटबजारमा बेच्न जाँदा रहेछन्।

हामी एउटा अधबैंसे पुरुषले ताजा सागसब्जी र हरिया मकैबेच्न बसेका ठाउँमा पुग्यौं। मेरा आफन्त र ती अधबैंसेले हात मिलाएर सामान्य अभिवादन साटसाट गरेपछि मेरा आफन्तले ती साग विक्रेताकोे परिचय गराए। ती व्यक्ति त स्थानीय केन्ट स्टेट युनिभर्सिटीका भौतिक शास्त्रका सुप्रसिद्ध प्राध्यापक रहेछन्,

उनी मात्र नभएर उनीजस्तै अन्य उच्चपदस्थ थुप्रै व्यक्तिहरू त्यसरी हाटबजारमा सामान बेच्न बस्दा रहेछन्। उनको त्यो महानता, सरलता र कामप्रतिको निष्ठा देखेर म नतमस्तक भएँ र तुलना गरें– आफ्ना देशका ठूलाबडा भनिएका मानिसको व्यवहार र चिन्तनसँग। ती महान् गुरुको बोलीचाली र व्यवहारमा न त प्रोफेसर हुनुको घमण्ड कतै झल्कन्थ्यो, न त बारीमा फलाएको तरकारी÷फलफूल हाटबाजरमा बेच्न बस्दाको सङ्ककोच नै। हाम्रै देशमा पनि आफ्नो पदीय दायित्व र कामलाई उच्च सम्मान गर्ने उदाहरणीय व्यक्तित्वहरू प्रशस्तै पाइन्छन्। तर नयाँ पुस्ताको ठूलो जमातमा परम्परागत कामप्रति देखिने बढ्दोे वितृष्णा हाम्रो लागि चिन्ताको विषय बनेको छ। विकृत बाटोमा आफ्नो युवापुस्ता भट्किरहेको चित्र एकातिर आउँथ्यो भने अर्कोतिर त्यहाँका विशिष्ट मानिसहरूका जीवनशैली। त्यहाँको त्यो सुन्दर पक्षले एकातिर खुशी बनाउँथ्यो भने यताको सम्झनाले दुःखी।

केही युरोपियन देशहरूमा त किसानलाई समाजमा सबैभन्दा इज्जतदार वर्गको रूपमा मानिदो रहेछ। कसैसँग परिचय दिँदा सके आफैंलाई किसान देखाउन चाहने, त्यो नभए मेरा बाआमा किसान थिए भन्ने, त्यति पनि नभए मेरा पाँच वा सात पुस्ताअगाडिका बाजेबराजु किसान थिए भनेर गर्व गर्ने मानिस मैले प्रशस्तै देखें, भेटें र कुरा गरें। उनीहरू आफूलाई देशको मन्त्री, सांसदभन्दा किसानको रूपमा देखाउन पाउँदा बढी सम्मानित ठान्दा रहेछन्। हुन पनि सबै काम त्यत्तिकै पूजनीय हुन्छन्। खाँचो पर्दछ केवल त्यसलाई हेर्ने सफा दृष्टिकोणको। वास्तवमा कामप्रतिको निष्ठा र समयको सदुपयोगले नै ती देशहरू आज संसारमै उन्नतिको शिखरमै पुगेको पाइन्छ।

यसको ठीक विपरीत, केही अर्काथरी मानिसमा रहेको कामप्रतिको विपरीत दृष्टिकोण कस्तो हुँदो रहेछ भन्ने एउटा अर्को दृष्टान्त पनि प्रस्तुत गर्न सान्दर्भिक ठान्दछु।

पूर्वी अफ्रिकी देश इथिओपियामा केही दशकपहिले विभिन्न कारणले लामो समयसम्म गृहयुद्ध चर्कियो र जातीय हिंसाको कारण उक्त देश इथिओपिया र इरित्रिया गरी दुई अलग देशको रूपमा विभाजित भयो। युद्धकालमा त्यहाँका केही मानिस शरणार्थी बनेर अमेरिका र युरोपका विभिन्न देशमा पुगे। त्यहाँ पुग्ने शरणार्थीलाई ती राष्ट्रले गाँस, बासको व्यवस्था गरी केही वर्षपछि आफ्नो देशको नागरिकता पनि दिए। इथिओपियन शरणार्थीलाई मानवताको नाताले गाँस, बास र नागरिकता दिने ती युरोपियन देशहरू केही वर्षपछि नै तेस्रो विश्वबाट शरणार्थी भित्र्याउनु आफ्नो गल्ती भएको महसुस गर्न थाले।

यसको एउटा कारण के पाइयो भने, अर्काको देशमा छिरेको केही वर्ष नबित्दै शरणार्थीहरूमा पनि आर्थिक रूपले सम्पन्न र विपन्नको दुई समूह देखिन थाल्यो। किनकि राजनीतिक शरणार्थीको नाममा त्यहाँ गरिब मात्र आएका थिएनन्। आफ्नो देशमा रहँदा घरमा नोकरचाकर पाल्ने र मोजमस्ती, ऐसआराम गर्ने बानी तिनमा छुटेको थिएन। इथिओपियाका केही सम्पन्न परिवार पनि देशको अस्थिरता र लुटपाटको भयले शरणार्थीको आवरणमा आफू, आफ्नो परिवार र आफ्ना केही नोकरचाकरलाई पनि शरणार्र्थीको रूपमा युरोप छिराउन सफल भएका थिए। तिनले आफैं शरणार्थी भएर पनि खाना पकाउने, लुगा धुनेलगायतका काम आपूmले नगरी तिनबाट गराउन थाले। यो उनीहरूको आफ्नै देशबाट आयातीत सामन्ती संस्कार थियो। जबकि डेनमार्क, स्वीडेन, नर्वेजस्ता स्केण्डिनेभियन देशहरूमा मानिसलाई कमारा–कमारी राख्ने चलनलाई मानवताविरुद्धको अपराधको रूपमा लिइन्थ्यो। शरणार्थीहरूको यस्तै व्यवहारले गर्दा ती स्केण्डिनेभियन देशका नागरिकहरूमा भविष्यमा सकभर शरणार्थी नै नलिने र लिनै परे पनि यस्ता पक्षहरूमा विशेष ध्यान पु¥याउनुपर्ने दबाब सरकारमाथि पर्न थाल्यो।

त्यसकारण, कामलाई कसरी हेर्ने भन्ने विषय आर्थिक सम्पन्नता र विपन्नताभन्दा पनि समाजको मूल्य, मान्यता र दृष्टिकोणमा निर्भर रहने विषय हो भन्ने निष्कर्षमा पुग्न सकिन्छ र यस्ता मूल्य, मान्यता र दृष्टिकोणलाई सरकारको उपयुक्त नीति कार्यान्वयनका अतिरिक्त समाजका लोकप्रिय नेता, अभिनेता, कलाकार, उच्चपदस्थ व्यक्ति तथा समाजले आदर्श मानेका व्यक्तिहरूको चिन्तन, आचरण र व्यवहारलाई समाजसमक्ष उदाहरणको रूपमा प्रस्तुत गरेर सकारात्मक दिशामा परिवर्तन गरी नमुना सोच र संस्कृति निर्माण गर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्