ब्रेक्जिट प्रकरण: युरोपेली संघका नेताहरुसँग वार्ता गर्न मे ब्रसेल्समा



ब्रसेल्स (एजेन्सी)
बेलायतकी प्रधानमन्त्री टेरिजा मेले ब्रेक्जिट सम्झौतामा युरोपेली संघका नेताहरुसँग पुन वार्ता थालेकी छिन् । यस मुद्दालाई लिएर उनी युरोपेली संघका वरिष्ठ अधिकारीहरुसँग कडा वादविवादका लागि पनि तयार रहेको बताइएको छ ।

ब्रसेल्समा मेको स्वागत युरोपेली आयोगका अध्यक्ष जँ क्लाउड जंकरले गरेका थिए । उनको स्वागतका लागि आयोजित समारोहको वातावरणमा बेलायत र युरोपेली संघका २७ सदस्य देशबीचको तनाव प्रष्ट्र देखिएको थियो । जंकरले ब्रेक्जिट सम्झौतामा देखिएको अवरोध हटाउन मेसँग थप वार्ता गर्नु पर्ने बताए । दुईबीचको वार्ता कडा तर रचनात्मक भएको दुबैले स्विकारेका थिए ।

युरोपेली संघबाट बेलायत अलग हुने तिथि मार्च २९ तय गरिएको छ र यो नजिक आइरहेको छ । यसअघि सहमतिबाट फिर्ता हुने सम्बन्धमा कानुनी सम्झौतामा पुन वार्ता सुरु हुनुमा युरोपेली संघका अधिकारीहरुको कडा प्रश्नको मेले सामना गर्नु पर्ने अनुमान गरिएको छ ।

ब्रेक्जिटका लागि युरोपेली संघसँग भएको सम्झौतालाई बेलायतको सांसदले अस्विकृत गरेको थियो । यस मामिलामा युरोपेली परिषदका अध्यक्ष डोनाल्ड टस्कले बुधबार कडा शब्दमा प्रतिक्रिया दिने क्रममा ब्रक्जिटको प्रक्रियाका बारेमा जानकारी नभएर पनि जसले यसलाई समर्थन गरिरहेका छन् उनीहरुलाइ सम्भवत नर्कमा पनि विशेष स्थान आरक्षित हुनेछ ।

टेरिजा र टस्कको वार्ता पुर्व क्यामरा अगाडी उनीहरुको सार्वजनिक अभिवादन आकस्मिक रद्द गरिएको थियो । बेलायतकी प्रधानमन्त्री टेरिजा मे अहिले पनि ५ सय ८५ पृष्ठको ब्रेक्जिट सम्झौतामा परिवर्तन चाहेकी छिन् । तर युरोपेली संघका २७ अन्य नेता लगातार यसको विरोध गरिरहेका छन् ।

टेरिजाले वैकल्पिक ब्यवस्था गर्न सकिनेमा जोड दिइरहेकी छिन् । तर युरोपेली संघका अधिकारी लन्डनसँग स्पष्ट्र ब्याख्याको अपेक्षा गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्