एनसेल बिक्री प्रकरण: खुल्ला त उपेन्द्र महतोको फाइल ?



नेपाल समाचारपत्र, काठमाडौं
निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेल बिक्री गर्दा लाग्ने पु“जीगत लाभ करको विषयमा विगत लामो समयदेखि अल्झिरहेको विवाद सर्वोच्च अदालतले मंगलबार टुंगो लगाएको छ । सर्वोच्च अदालतको पूर्ण इजलासले पु“जीगत लाभ कर एनसेल र आजिएटा (टेलियासोनेराबाट एनसेल किन्ने कम्पनी) बाट असुली गर्न फैसला गरेको हो ।

पछिल्लोपटक एनसेल खरिद बिक्री हुँदा उत्पन्न कर विवाद एउटा टुंगोमा लागे पनि सोही कम्पनीसँग जोडिएको यस्तै प्रकृतिको अर्को एउटा प्रशंगलाई भने लामो समयदेखि गुपचुप राखिएको छ । पछिल्लो कारोबारमा पुँजीगत लाभ कर तिर्ने विषय टुंगो लागेको भए पनि यसअघि भएका कारोबारमा गरिएको कर छलीको विषय कमैले उठाउने गरेका छन् । यसअघिका एनसेल खरिद बिक्री हु“दा कर छली भएको प्रशंग नेपाल समाचारपत्रले कयौंपटक उठाएको भए पनि सो विषयलाई गुपचुपमा राख्ने प्रयास हुँदै आएको छ ।

विशेषगरी डा. उपेन्द्र महतोले कम्पनीको शेयर बिक्री गर्दा पुँजीगत लाभ कर छली गरेको समाचार नेपाल समाचारपत्रले प्रकाशित गर्दै आएको छ । तर, यो विषयलाई राजनीतिक पहुँचका आधारमा गुपचुप राख्ने प्रयत्न हुँदै आएको हो ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्षसमेत रहेका व्यापारी महतोको सन् २००८ मेसम्म स्पाइस नेपाल नामक कम्पनीमा ४० प्रतिशत शेयर रहेको थियो । महतोको साइप्रसमा रहेको कम्पनी डेल्टो ट्रेडिङ लिमिटेडको नाममा २० प्रतिशत र नेपालमा रहेको कम्पनी सिनर्जी नेपालको नाममा २० प्रतिशत शेयर रहेको थियो । बा“की ६० प्रतिशत शेयरचाहि“ टेलियासोनेरा नर्वेको वेस्ट इन्डिजमा रहेको रेनोल्डस् होल्डिङ कम्पनीको नाममा रहेको थियो।


उनले २००८ को मे १९ तारिखमा डेल्टो ट्रेडिङमा रहेको २० प्रतिशत शेयर रेनोल्ड्स होल्डिङलाई बेचेको पाइएको छ । शेयर बिक्री सम्झौताको बु“दा नम्बर ३ दशमलव ६ मा महतोको नाममा रहेको डेल्टो ट्रेडिङले लाभ कर तिर्ने कुरा प्रस्ट रूपमा लेखिएको छ। तर, तिरेको प्रमाण कही“ं पनि पाइ“दैन। आजिएटा र टेलियासोनेराबीचको कारोबारमा सम्झौतामा दायित्व कस्ले बेर्होने भन्ने स्पष्ट नभएकाले आजियटामा दायित्व सरेको थियो । जहा“सम्म सम्झौतामा डेल्टो ट्रेडिङले लाभ कर तिर्ने कुरा प्रस्ट रूपमा लेखिएको सन्दर्भमा उनले उन्मिक्त पाउन नसक्ने कानुन व्यवसायीको राय छ ।

डा. महतो नै डेल्टो र सिनर्जी नेपालको प्रमुख व्यक्ति हुन् भनेर शेयर बिक्री सम्झौतामा नै उल्लेख गरिएको छ। महतोले अप्रिल २०१२ मा सिनर्जी नेपालमा रहेको आफ्नो २० प्रतिशत शेयर रसियामा रहेका गैरआवासीय नेपाली निरजगोविन्द श्रेष्ठलाई बेचेका थिए। त्यसको पनि लाभकर तिरेको विवरण कतै पनि पाइ“दैन।

डेल्टो ट्रेडिङ र सिनर्जी नेपाल दुवैको शेयर बिक्री गर्दाको लाभकर ६ अर्ब रुपिया“भन्दा बढी महतोले राज्यलाई नतिरेको स्रोतले जनाएको छ।
मंगलबार सर्वोच्चको फैसालास“गै यसअघि भएका अन्य कारोबारमा भएको कर छलीलाई फेरि ब्युताउनुपर्ने आवाज उठ्न थालेको छ ।


महतोको शेयर खरिद गरेका निरजगोविन्द श्रेष्ठले जनवरी २०१६ मा भवानीसिंह श्रेष्ठको नाममा रहेको सिंगापुरस्थित सुनिभेरा क्यापिटल भेन्चरलाई २० प्रतिशत शेयर बिक्री गर्दा लाभकरबापत २ अर्ब ८३ करोड रुपिया“ तिरेका थिए। रेनोल्ड्स होल्डिङले डिसेम्बर २०१५ मा ८० प्रतिशत शेयर मलेसियाको आजियाटा नामक कम्पनीलाई बेचेकोमा सर्वोच्च अदालतको फैसला आएको हो ।

महतोले डेल्टो ट्रेडिङको शेयर रेनोल्ड्स होल्डिङलाई ६६ लाख अमेरिकी डलरमा बेचेका थिए भने निरजगोविन्द श्रेष्ठलाई सिनर्जी नेपालको शेयर ४ करोड १० लाख अमेरिकी डलरमा बेचेका थिए। एनसेलको अहिलेसम्म १२औं पटक किनबेच हुँदा अर्बौ रुपियाँ कर छली भएको आशंका अघिल्लो संसदको सार्वजनिक लेखा समितिले समेत औंल्याइसकेको छ ।
एनसेलको पछिल्लो बिक्रीका सम्बन्धमा सर्वोच्च अदालतले निर्णय गरिसकेको सन्दर्भमा त्यसअघिका कारोबारमा आएका कर छलीका विषयलाई पनि मिहिन ढंगले खोज्नुपर्ने नागरिक समाजको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्