आलोचना सुन्ने गर



स्थायी र दिगो भनिएको दुई तिहाइ बहुमतको सरकारबाट पनि सुशासन र समृद्धिको अपेक्षा पूरा हुन नसक्नुले नेपाली जनतामा नैराश्यता बढ्दै गएको छ । आफैंले अघि सारेको मितव्ययिता, पारदर्शिता, सुशासनजस्ता प्रतिबद्धताबाट सरकार विचलित हुँदै गएको देखिन्छ ।

यता जनप्रतिनिधिहरुको सेवा–सुविधामा आफूखुशी वृद्धि गरिएको छ भने उता जनता निराश देखिन्छन् । जनताले प्रत्यक्ष महसुस गर्न सक्ने कार्य सरकारले गर्न नसकेको आरोप छ । जनताले आफ्नो अमूल्य मत दिएर नेतालाई विलासी र रवाफयुक्त जीवनशैली यापन गर्न पठाएका हुन् कि जस्तो देखिएको छ । आफ्नै पार्टीका कतिपय नेताहरुले पनि सरकारको कार्यशैलीको आलोचना गर्दै आएको अवस्था छ ।

आमनागरिकको गुनासो र आलोचना सुन्ने र कमजोरी सच्याउनेतर्फ सरकारको ध्यान पुगेको देखिँदैन । यस्तो अवस्थाको तत्काल अन्त्य गरी जनतामा आशाको सञ्चार गराउने काममा सरकार लाग्नुपर्दछ ।

नागरिक प्रत्यक्षरुपमा लाभान्वित हुने काम हुन नसक्दा वर्तमान सरकारको आलोचना बढेर गएको छ । वर्तमान सरकार हेर्दा बलियो देखिए पनि प्रभावकारिता भने अत्यन्तै कमजोर देखिन्छ । केलाई प्राथमिकता दिएर अघि बढ्ने भन्ने विषयमा नै सरकार अलमलमा देखिन्छ । कर्मचारी समायोजनले अझै गति लिन सकेको छैन । आमनागरिकले चाहेजस्तो र सोचेजस्तो काम हुन सकेको छैन । भ्रष्टाचार झन्–झन् संस्थागत हुँदै गएको छ । नागरिक समाज बुद्धिजीवी, प्राध्यापक विभिन्न क्षेत्रमा विशेषज्ञता हासिल गरेका व्याक्तिहरुसँग राय, सुझाव लिएर अघि बढ्न सरकार तयार नहुनुले सरकारको स्थायित्वमा नै प्रश्न उठ्न थालेको छ ।

अहिले देशमा उपलब्ध साधन–स्रोतको समुचित उपयोगद्वारा आत्मनिर्भर बन्ने नीति चाहिएको छ । यसै गरी खेर गइरहेको अमूल्य मानव संसाधनलाई समृद्धिको अभियानमा समाहित गराउने राष्ट्रिय नीति चाहिएको छ । कुनै पनि कामको शिलान्यास गर्नुलाई मात्र उपलब्धि ठान्ने परिपाटीको अन्त्य हुनुपर्दछ । भाषण र गफले भन्दा पनि सार्थक कामले जनतालाई विश्वास दिलाउन सक्नुपर्दछ । सुशासन, आर्थिक समृद्धि, रोजगारीका अवसर, कृषिको आधुनिकीकरण, पर्यटन प्रवद्र्धन, महँगी नियन्त्रण गर्नु अपरिहार्य भएको छ ।

देशलाई समृद्धिको बाटोमा लगाउने हो भने सत्ता र कुर्सीवरिपरि मात्र घुमिरहने प्रवृत्तिको अन्त्य हुनै पर्छ । जनतामा सकारात्मक सन्देश दिन अब ढिलाइ गर्नुहुँदैन ।

मुलुकमा व्याप्त अनियमितता, ढिलासुस्ती र भ्रष्टाचार रोक्न सरकारले सकेको छैन । बरु सरकारका काम कारबाहीले यस्ता कार्यलाई प्रोत्साहन मिलेको आभास भएको छ । सरकार दिन–प्रतिदिन आलोचित बन्दै गएको छ तर ऊ आफ्नो आलोचना सुन्ने पक्षमा देखिँदैन । आलोचनालाई कमजोरी सुधार्ने अवसरको रुपमा लिन नसक्नु सरकारको कमजोरी हो । त्यसैले सरकारले आलोचना सुनेर आफ्नो कमजोरी सुधार्ने प्रयास गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्