पारस साँच्चिकै पारस हुन्



फिरोज राजोपाध्याय
पारस खड्काको पछिल्ला खेलहरुमा रन बनाएको हेर्दा उनको ब्याटले कुनै चमत्कार गरेको थिएन । नेपालमा हालै सम्पन्न एभरेस्ट प्रिमियर लिग होस या संयुक्त अरब इमिरेट्स (यूएई) मै खेलिएका पहिलो दुई वानडे होस उनको ब्याटिङ औसत बनेको थियो । तर पारस भनेको पारस नै हुन् ।

उनी नामअनुसारकै काम गर्न जान्छन् । कस्तो बेला कस्तो ब्याटिङ गर्नु पर्छ पारसलाई थाहा छ । चाहे अनुसार आफुलाई ढाल्न सक्ने भएको हुँदा विश्व क्रिकेटमा पारसको नाम सम्मानजनक लिइन्छ । चाहे नेपाली बलर होस चाहे विदेशी बलर होस उनको ब्याट चलेपछि लाचार नै हुन्छन् ।

संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको तीन खेलको वानडे सिरिज नेपालले जित्दा पारसले घरेलु बलरलाई निकै हतोत्साहित गरिदिए । जसले जति चर्चा पाएपनि चलचित्रमा नायकले जुन भुमिका खेलेर वाहवाही लिन्छन् त्यस्तै चरितार्थ कप्तान पारसले दुबईमा देखाए । सिरिज १–१ बराबरी भएको अवस्थामा अन्तिम तथा निर्णायक खेल जित्नै पर्ने थियो नेपालको लागि ।

त्यतिबेला लामो समय क्रिजमा खेलेर जित्नु पर्ने अवस्था थियो । किनभने यूएईले २ सय ५५ रनको लक्ष्य तेर्साएको थियो । यो लक्ष्य लिन एकदमै गाह्रो पनि थियो ।

फेरि नेपालले २६ ओभरमा ४ शीर्ष ब्याटसम्यानलाई गुमाएको थियो र रन थियो १ सय २९ मा । यस्तो दयनीय अवस्थामा नेपाललाई जितसम्म डो¥याउन एउटा खेलाडीले लामो इनिङ खेल्नै पर्ने बाध्य थियो । टोलीलाई निकै आवश्यक परेको बेला पारसले उत्कृष्ट र अविस्मरणीय प्रदर्शन गरिदिए । यूएईबाट जनाएअनुसार उनी बीचबीचमा मांशपेशीको पीडाले समस्यामा पनि परेका थिए । यसको बावजुद उनले उत्कृष्ट ब्याटिङ गरेर नेपाललाई जित दिलाए ।

३१ वर्षीय पारसले १ सय ९ बलमा १ सय १५ रनको शतकीय इनिङ खेलेका थिए । यो नेपाली क्रिकेटको वानडे करियरमा सर्वाधिक व्यक्तिगत रन पनि बनेको छ । उनले क्रिजमा रहँदा १५ बललाई बाउन्ड्री पार गराए भने एक मात्र छक्का प्रहार भयो । यसअघि उनको वानडेमा ५१ रन उच्चतम थियो । यसलाई निकै पछाडि राखेर पारस पुन अगाडि बढेका छन् ।

दुबईमा यसअघि पारसले पहिलो वानडेमा २० रन मात्रै बनाए । जुन खेलमा नेपालको ब्याटिङ तहसनहस हुँदै १ सय १३ रनमा अलआउट भएको थियो । दोस्रो वानडेमा पनि पारसको ब्याट सुस्त रह्यो । उनले मात्र २१ रन जोडे । सो खेलमा रोहित कुमार पौडेलले मेडन अर्धशतक प्रहार गरेर नेपालको इज्जत ढाकिदिए । यो खेल नेपालले निकै फराकिलो रनअन्तरले जितेको थियो । पारसले ३ खेलमा कूल १ सय ५६ रन बनाए । यूएई यात्रामा नेपालबाट सर्वाधिक रन बटुल्ने पारस नै सावित भए ।

यो मात्र होइन पारसले बलिङमा पनि आफ्नो खुबी दर्शाएका छन् । पहिलो वानडेमा २ विकेट लिए भने दोस्रो वानडेमा उनले ४ ओभर बलिङ गरेपनि विकेट भने पाउन सकेनन् । सो खेलमा तीब्रगतिका बलर सोमपाल कामीले ५ विकेट लिएर वानडे अन्तर्राष्ट्रिय क्रिकेटमा यो उपलब्धि हासिल गर्ने पहिलो बलर बने । यस्तै विश्व चर्चित बनिसकेका युवा बलर सन्दीप लामिछानेले ४ विकेट उठाएका थिए । उनले त सो खेलमा एकै ओभरमा ३ विकेट लिए । अन्तिम तथा निर्णायक खेलमा पारसको हातमा दुई विकेट परेको थियो । कूल मिलाएर उनले ३ खेलमा ४ विकेट हासिल गरे ।

टी २० पनि जित्यो
पारसकै नेतृत्वमा यूएईविरुद्धको ३ खेलको टी २० अन्तर्राष्ट्रिय सिरिज पनि नेपालले जितेको छ । नेपालले यसरी वान डे र टी २० सिरिज अवे मैदानमा क्लिन स्विप गरेर एउटा ऐतिहासिक उपलब्धि हासिल ग¥यो । नेपालले पहिलो खेल हारेर पनि त्यसपछि दोस्रो र तेस्रो खेलमा जित्दै सिरिज हात पारेको थियो । अन्तिम टी २० खेल भने वर्षाको कारण टी १० मा परिणत भएको थियो । जसमा नेपालले यूएईलाई टी १० को ढाँचामा पनि माथ खुवायो ।

प्रतिक्रिया दिनुहोस्