नेकपाका ६ सांसदले घरभाडा नलिने



यमलाल भुसाल, बुटबल ।

प्रदेश  नम्बर ५ को प्रदेश सभामा नेकपाबाट प्रतिनिधित्व गर्ने रूपन्देहीमा घर भएका ६ जना सांसदले घरभाडा नलिने घोषणा गर्नु भएको छ ।

प्रदेशको राजधानी भएको जिल्लामा घर हुने सांसदलाई नेकपा संसदीय दलको बैठकले घरभाडा नलिन आग्रह गरेको थियो ।

सोही निर्णय अनुसार नेताहरू आफूले लिँदै आएको घरभाडा माघ महिनादेखि लागू हुने गरी नलिने निर्णय भएको नेकपा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिनु भयो ।

सांसदले घरभाडा स्वरूप प्रतिमहिना १५ हजार रूपैयाँ बुझ्दै आएका थिए ।

भूमिश्वर ढकाल, भोजप्रसाद श्रेष्ठ, दधिराम न्यौपाने, डा. कृष्ण न्यौपाने, तुल्सी चौधरी ,र कमला विकले हस्ताक्षर गरी प्रदेशसभा सचिवालयमा जानकारी गराएका छन् । तर घर नहुने सांसदले भने भाडा लिनेछन् ।
जिल्लाबाट प्रतिनिधित्व गर्ने थानकुमारी थापा, विमला पन्थी, दीपा विक, सुनिता थटेर लगायतका सांसद भाडामा बस्दै आएका छन् । संघीय संसदमा पनि घरभाडा विषय उठेपछि केही सांसदले बुझ्दै आएको घरभाडा फिर्ता गरेका थिए ।

यसअघि १ वर्षसम्म बुझ्दै आएको रकमलाई पनि संकलन गरी कोषका रूपमा राख्न सकिने ढकालले बताउनु भयो । भाडाको विषयमा कांग्रेस सांसदले कुनै निर्णय गरेका छैनन् ।

५ नम्बर प्रदेशमा ८७ सदस्यीय प्रदेशसभामा रूपन्देहीबाट १ जना मन्त्रीसहित १८ सांसदकोे प्रतिनिधित्व रहेको छ ।

प्रतिक्रिया दिनुहोस्