महान देशले अन्त्यहीन युद्ध लड्न हुँदैन: ट्रम्प



ट्रम्पको संयुक्त सदनलाई सम्बोधन
वासिंगटन, (एजेन्सी)
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार देशको दुवै सदनलाई गरेको सम्बोधन अर्थात् स्टेट अफ द युनियन स्पिचमा महान देशले अन्तहीन युद्ध लड्न नहुने बताएका छन्। उनको उक्त भनाइले उनी सिरिया र अफगानिस्तानमा युद्ध जारी राख्ने पक्षमा नभएको प्रष्ट भएको छ।

ट्रम्पले हालै मात्र सिरियाबाट अमेरिकी सेना फिर्ता बोलाउने घोषणा गरेका थिए। ट्रम्प प्रशासनले अफगानिस्तानमा तालिबानसँग वार्ता गर्ने पनि इच्छा व्यक्त गरेका छन्। हाल अमेरिकी प्रतिनिधिले कतारमा तालिवानसँग गरेको वार्तामा उल्लेखनीय प्रगति भएको बताइएको थियो। आफ्नो सम्बोधनमा ट्रम्पले बदलाको राजनीति, प्रतिरोध तथा प्रतिसोधको राजनीति बन्द गर्नुपर्ने बताए। अमेरिकाले सीमापारि गएर राम्रो काम, सहयोग र सम्झौता गर्ने उनले बताए।

उनले भने– ‘हामीले आप्रवासी नियम बनाउनुपर्छ, जसले अमेरिकीहरूको सुरक्षासँग उनीहरूलाई रोजगार पनि मिलोस्।’ धनी राजनेता र दानदाताहरूको आलोचना गर्दै उनीहरूले सीमा खुला राख्नुपर्ने बताइरहेका तर उनीहरू आफैं पर्खालभित्र, ढोका र सुरक्षागार्डले घेरिएर बस्ने गरेको ट्रम्पले बताए। ट्रम्पले भने– ‘अब समय आएको छ, अमेरिका अवैध रूपमा आउनेहरू, मानव तस्करी र लागूऔषध कारोबार गर्नेहरूलाई रोक्न प्रतिबद्ध रहेको कंंग्रेसले विश्वलाई देखाउनुपर्छ। हामी मानिसहरू अमेरिका आउन भन्ने चाहन्छौं। तर उनीहरू यहाँ आउने तरिका वैध हुनुपर्नेछ।’

सीमामा पर्खाल बनाउने प्रतिबद्धता
विगतमा धेरैले कंग्रेसमा सीमा पर्खाल निर्माण गर्ने पक्षमा मत दिएको तर पर्खाल बनाउन नसकेको उनले बताए। अब आफूले पर्खाल बनाउने उनले जोड दिए। विगत कयौं दशकदेखि सरकारका नीतिका कारण देशको व्यापार क्षेत्रले धेरै नोक्सान उठाउनुपरेको उनले बताए। देशलाई आर्थिक रूपमा समृद्ध बनाउन आफूले नीतिहरू परिवर्तन गर्ने उनले बताए। गत वर्ष जुनमा ५० अर्ब मूल्यबराबरको चिनियाँ सामानमा २५ प्रतिशत अतिरिक्त शुल्क लगाउने घोषणा गरेका थिए।

अमेरिकी राष्ट्रपतिले प्रत्येक वर्ष जनवरीमा स्टेट अफ द युनियन स्पिच दिने गर्छन्। यस सम्बोधनमा कंंग्रेसका दुवै सदन, प्रतिनिधिसभा र सिनेटका सांसद उपस्थित रहन्छन्। यस सम्बोधनमा राष्ट्रपतिको आर्थिकलगायत राष्ट्रिय नीतिहरू समावेश हुने गर्छन्। यो वर्ष आशिंक प्रशासनिक काम बन्दका कारण प्रतिनिधि सभाका सभामुख नेन्सी पेलोसीले उक्त सटडाउन समाप्त भएपछि मात्र स्टेट अफ युनियन सम्बोधन गर्न भनेकी थिइन्। सम्बोधनमा ट्रम्पले २ खर्ब ५० अर्ब चिनियाँ सामानमा अमेरिकाले कर लगाएको बताए। यसले देशको ढुकुटीमा सम्पत्ति बढेको उल्लेख गर्दै आफ्नो फाइदाका लािग चीनमाथि आरोप लगाउन नचाहेको उनले बताए। उनले चीनलाई यस्तो गर्न दिनमा देशकै नेताहरूले गल्ती गरेको आरोप लगाए।

भियतनाममा किमसँग दोस्रो वार्ता
कंंग्रेसमा स्टेट अफ द युनियन स्पिचमा अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किम जोंग उनसँग फेब्रुअरी २७ र २८ मा भियतनाममा वार्ता गर्ने घोषणा गरेका छन्। यसअघि दुई नेताबीच जुन १२ मा सिंगापुरमा भेटवार्ता भएको थियो। उक्त भेटमा उनीहरूबीच ९० मिनेट वार्ता भएको थियो। सम्बोधनमा ट्रम्पले उत्तर कोरियाको मामिलामा अझै धेरै काम बाँकी भएको बताए। तर किम जोंगसँग आफ्नो सम्बन्ध राम्रो रहेको उनले बताए। यसबीच उनले उत्तर कोरियालाई चेतावनी पनि दिए। उनले भने– ‘यदि म अमेरिकाको राष्ट्रपतिमा निर्वाचित नहुने हो भने आगामी दिनमा उत्तर कोरियासँग युद्ध हुन सक्छ।’

ट्रम्प किमको भियतनाममा कहाँ भेटवार्ता हुन्छ भन्ने विषयमा तय भइसकेको छैन। भियतनामको राजधानी हनोइ र तटीय शहर दा नांगको नाम चर्चामा आइरहेका छन्। बुधबार अमेरिकाका तर्फबाट शीर्ष वार्ताकार विगन र उत्तर कोरियाका किम ≈योक चोलबीच भेटवार्ता हुने रोयटर्स न्युज एजेन्सीले जनाएको छ। सिंगापुरको सेन्टोसा द्विपस्थित कोपेला होटलमा दुई नेताबीच भएको भेटवार्तामा ट्रम्पले किमलाई पुरै परमाणु निशस्त्रीकरणका लागि मनाएका थिए। यसका लागि दुई नेताले एक सहमतिमा हस्ताक्षर पनि गरेका थिए।

११ राष्ट्रपति असफल
उत्तर कोरियासँग विवाद न्यूूनिकरण गर्न सफलता हासिल गर्ने ट्रम्प अमेरिकाका १२औं राष्ट्रपति हुन्। अमेरिका उत्तर कोरियासँग विवाद अन्त्य गर्न ६५ वर्षदेखि प्रयास गरिरहेको थियो। यस क्रममा ११ राष्ट्रपति, आइजनहावरदेखि जोन एफ केनेडी, लिन्डन जोनसन, रिचर्ड निक्सन, गेराल्ड फोर्ड, जिमी कार्टर, रोनाल्ड रेगन, जर्ज एच डब्ल्यु बुस, बिल क्लिन्टन, जर्ज डब्ल्यु बुस र बाराक ओबामा उत्तर कोरियासँग कुनै समाधान निकाल्न असफल रहेका थिए।

सन् १९५३ मा दक्षिण कोरिया र उत्तर कोरियाबीच ३ वर्ष युद्ध भएको थियो। उक्त युद्धमा ९ लाख सैनिकसहित २५ लाख नागरिक मारिएका थिए। त्यतिबेलादेखि नै उत्तर कोरिया र अमेरिकाबीच वार्ता बन्द अवस्थामा थियो।

सन् १९५४ मा जेनेभा कन्फ्रेन्समा तात्कालिन सोभियत संघ, चीन, अमेरिका, युके र फ्रान्स कोरियाली समस्याको समाधान निकाल्न भेला भएका थिए। त्यतिबेला अमेरिकाको राष्ट्रपति आइजनहावर थिए। बैठकमा अमेरिकी विदेश मन्त्री जोन फास्टर डेलेसको कडा अडान र≈यो। उनले चीनसँग प्रत्यक्ष वार्ता गर्न अस्वीकार गरेका थिए। सोही विवादका कारण सम्मेलन नतिजाविहीन बनेको थियो।

प्रतिक्रिया दिनुहोस्