महात्मा गान्धीको पुत्लामा गोली हान्ने नेतृ पक्राउ



नयाँ दिल्ली, (एजेन्सी)
भारतको एक कटर हिन्दू दक्षिणपन्थी समूहका नेतृले महात्मा गान्धीको पुत्लामाथि गोली हानिरहेको भिडियो भाइरल भएपछि उनलाई बुधबार प्रहरीले गिरफ्तार गरेको छ। हिन्दू महासभा नामक उक्त समूहले गान्धीको हत्या भएको एकहत्तरौं वार्षिकी आयोजना गर्ने क्रममा नेतृ पुजा पान्डेले नाथुराम गोड्सेको तस्वीरमा माल्र्यापण गरिसकेपछि गान्धीको पुत्लामा एयर पेस्तोलले गोली हानेको भिडियोमा देखिन्छ।

गोड्सेले भारतको स्वतन्त्रताका सेनानी गान्धीको गोली हानी हत्या गरेका थिए। केही दक्षिणपन्थी हिन्दूहरूले लामो समयदेखि गान्धीलाई अति उदारवादी व्यक्तिका रूपमा लिँदै आएका थिए। गत साता पान्डेकै समूहले उक्त भिडियो सार्वजनिक गरे यता प्रहरीले उनको खोजी गर्दै आएको थियो।

सो फुटेजमा निकै सक्रिय देखिएका उनी र उनका पतिलाई खोज्न दुईवटा विशेष प्रहरी टोली तयार पारिएको थियो। गान्धीको हत्या भएको दिन अर्थात् ३० जनवरीको दिन तयार पारिएको सो भिडियो काण्डको सिलसिलामा प्रहरीले अन्य थुप्रै व्यक्तिलाई पनि गिरफ्तार गरेको छ।

वरिष्ठ प्रहरी अधिकारी नीरज जादुनले नौ जनालाई पक्राउ गरिएको र अन्य दुईजनाको व्यापक खोजी भइरहेको बीबीसीलाई बताएका छन्। हिन्दू महासभालगायत अन्य राष्ट्रवादी दक्षिणपन्थी समूहको सदस्य रहेका गोड्सेले सन् १९४८ को ३० जनवरीमा नजिकबाट गान्धीको छातीमा तीनपटक गोली प्रहार गरेका थिए।

हिन्दु कट्टरपन्थीहरूले गान्धीलाई मुश्लिम समुदायप्रति नरम व्यवहार गरेर हिन्दूहरूलाई धोका दिएको आरोप लगाउने गरेका छन्। गान्धीको हत्यालाई लिएर भएको यो पहिलो विवादास्पद कार्य भने होइन। सन् २०१५ मा पनि यही समूहले दक्षिणी राज्य कर्णटकका छ वटा जिल्लामा गोड्सेको प्रतिमा स्थापना गर्न खोजेको थियो। फलस्वरूप त्यस योजनाविरुद्ध राज्यभरि नै विरोध प्रदर्शन शुरू भएको थियो।

प्रतिक्रिया दिनुहोस्