सेनाले भेनेजुयलामा उद्धार सामग्री छिराएन



काराकास, (एजेन्सी)
भेनेजुयलाका सेनाले बुधबार मानवीय उद्धार सामग्री आइपुग्नु अगावै कोलम्बियाको सीमाक्षेत्रको एउटा पुलमा अवरोध सिर्जना गरेको विपक्षी राजनीतिक समूहले जनाएको छ। गत महिना आफैंले आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका विपक्षी नेता हुवाँ गुआइदोले सो उद्धार सामग्री ल्याउने व्यवस्था मिलाएका थिए।

तर कतैबाट आएको राहत सामग्री कसरी वितरण गरिने हो भन्ने स्पष्ट पारिएको छैन। सेनाको पूर्णसमर्थन प्राप्त राष्ट्रपति निकोलस माडुरोले ती सामग्री भेनेजुयलामा प्रवेश गारउन अस्वीकार गरेका हुन्। राजनीतिक र आर्थिक अस्थिरताका कारण अहिले भेनेजुयलामा जनताका लागि खाद्यान्न र औषधि जस्ता दैनिक अत्यावश्यक वस्तुहरूको निकै अभाव भइरहेकोे छ। भेनेजुयलाको राष्ट्रियसभाको अध्यक्ष रहेका गुआइदोले देशमा राष्ट्रपति अवैध रहेको अवस्थामा स्थायी रूपमा सरकारको नेतृत्व गर्ने संवैधानिक अधिकार आफूसंग रहेको बताउँदै आएका छन्।

उनी अहिलेसम्म विश्वका चालिसवटाभन्दा बढी मुलुकको समर्थन पाउन सफल भएका छन्। उनलाई समर्थन गर्नेमा अमेरिकालगायत अधिकांश ल्याटिन अमेरिकी तथा युरोपेली राष्ट्रहरू रहेका छन्। यता माडुरालाई भने चीन र रसियाले समर्थन गरिरहेका छन्।
विपक्षी रानीतिज्ञ फ्रान्कलिन डुआर्टेले सैनिक अधिकारीहरूले भेनेजुयलाको युरेना र कोलम्बियाको कुक्युटा जोड्ने टिएन्डितास जोड्ने पुलमा एउटा टैंकर, ट्रक र एउटा कार्गो कन्टेनर ठड्याएर अवरोध सिर्जना गरेको जानकारी सञ्चार माध्यमलाई गराएका छन्।

प्रतिक्रिया दिनुहोस्