चुनौती बन्दै साइबर अपराध 



अहिलेको समय सूचना प्रविधिको युग हो। हरेक विकास कार्यलाई द्रुत गतिमा लैजान सूचना र प्रविधिको उच्चतम प्रयोग आवश्यक पर्छ। सूचनाको तीव्रतर विकास हुँदै जाँदा नेपालमा पनि साइबर अपराधको जालो चुनौतीका रूपमा फैलिँदै गएको छ। इन्टरपोलले ‘साइबर क्राइम’लाई भौतिक, सांस्कृतिक र प्राकृतिक सीमाविहीन अपराध मानेको छ। जसको माध्यमबाट अपराधीहरूले अज्ञातस्थलबाट इन्टरनेटको गतिको फाइदा उठाई सहजरूपमा विभिन्न आपराधिक क्रियाकलाप गरिरहेका छन्।
पछिल्लो समय नेपालमा साइबर अपराध चुनौतीका रूपमा बढ्दै गइरहेको छ। सामाजिक सञ्जालको व्यापकतासँगै त्यसले निम्त्याएका घटना सार्वजनिक हुने क्रम पनि बढिरहेको छ। सामाजिक सञ्जालमार्फत प्रेमसम्बन्ध झाँगिदै यौनसम्पर्कसम्म पुग्ने कुरा नौलो होइन। अपराधीहरूले प्रेमको नाटक रच्दै गोप्य सम्बन्धमा रहँदाको अश्लील तस्वीर र भिडियो खिचेर मानसिक यातना दिने र बाध्यात्मक परिस्थितिको अनुचित फाइदा लुट्दै रकममा मोलमोलाइ गर्ने प्रवृत्ति बढेको छ। राजधानीमा ६ महिनायता ७४ उजुरी पर्नुले पनि साइबर अपराध बढोत्तरी हुँदै गएको पुष्टि हुन्छ। प्रहरीले कैयन उजुरी अनुसन्धान गर्दा जबर्जस्ती करणी भएको निष्कर्ष निकालेको छ।
गत आर्थिक वर्षमा साइबरमार्फत जबर्जस्ती करणीका घटना ८१ पुगेको थियो। साइबर अपराधमा मुद्दाका पीडितहरू १८ वर्षमुनिका किशोरी देखिनुले पनि साइबर अपराधको भयावह स्थिति उजागर भएको छ। शुरूमा अपराधीले अमुक नाममा फेसबुकमार्फत साथी बनाउन अनुरोध पठाउने, किशोरीले अनुरोध स्वीकारेपछि संवाद बढ्दै गएर सम्बन्ध प्रेममा बदलिने र विश्वासका भरमा यौनसम्पर्क राख्दा गोप्यरूपमा खिचेका तस्वीर तथा भिडियोलाई माध्यम बनाएर अपराधीले मोलमोलाइ गर्ने प्रवृत्ति दोहरिइरहेको छ। यस्ता घटना दिनहुँ दोहोरिनु भनेको सामाजिक सञ्जालको दुरूपयोग बढ्नु हो। सूचना प्रविधिको सहजतासँगै यस्ता प्रकारका घटना दोहरिनु भनेको समुन्नत समाजका लागि पनि ठूलो चिन्ताको विषय हो।
इन्टरनेट सेवाको दुरूपयोग गरी व्यक्तिको चरित्र हत्या गर्ने, हिंसा फैलाउने, प्रलोभनमा पार्ने, अर्काको पहिचान अनधिकृतरूपमा प्रयोग गर्ने, क्रेडिट कार्ड चोरी गरी बैंकिङ कसुर गर्ने, अर्काको कम्प्युटर तथा त्यसको नेटवर्कमा क्षति पु¥याउनेजस्ता विविध कार्यहरू साइबर अपराधअन्तर्गत पर्दछन्। अहिले साइबर अपराध विश्वव्यापी समस्या बन्दै गएको छ। विकसित देशहरूमा आतंकवाद, जाजुसी र आमविनाशका हतियारभन्दा पनि साइबर अपराधलाई सुरक्षा खतरा मानिन्छ।
अहिले सामाजिक सञ्जालमा गाली, मानहानि र चरित्रहत्या मात्रै भएका छैनन्। यसैलाई माध्यम बनाएर ठूला व्यावसायिक संगठनमा आक्रमण, साइबर अपराधीले लक्षित वर्ग छान्दै अनलाइनमा यौन विज्ञापन, यौन व्यापार तथा अनलाइन मनी ट्रान्सफरबाट रकम कारोबार गर्ने गरिरहेका छन्। नेपालको साइबर क्षेत्र खतरामुक्त छैन। ‘साइबर रेप’ एउटा दृष्टान्त हो। साइबर अपराधका घटना बढोत्तरी हुनुमा राज्यको साइबर सुरक्षा नीति र व्यवस्थापन पक्ष नै फितलो हुनु हो। साइबर अपराधविरुद्धको अभियानमा राज्यको नीति र लगानीको पनि उत्तिकै खाँचो देखिएको छ।
साइबर अपराधका सबै तथ्यांक प्रहरीसँग छैन। बलात्कार तथा हत्या प्रकरणका केही घटना र पीडितका उजुरीका घटना मात्रै प्रहरीसम्म पुग्ने गरेकाले यसको सञ्जाल कति फराकिलो छ भनेर थाहा पाउन व्यापक अनुसन्धान थालिनुपर्छ। सामाजिक सञ्जालको हतियार देखाएर जबर्जस्ती करणी गर्ने घटनामाथि गम्भीर अनुसन्धान गर्दै यस्ता प्रवृत्ति निरुत्साहित गर्न हरेक नागरिकलाई सचेत गराउनुपर्छ। साइबर अपराधलाई बहसको विषय बनाइनुपर्छ। विद्युतीय कारोबार ऐन २०६३ का प्रावधान अझै फराकिलो बनाएर सबै किसिमका साइबर अपराध न्यूनीकरणमा सरकारले ध्यान केन्द्रित गर्नु जरुरी भइसकेको छ।
– भोला अधिकारी, पाल्पा।

प्रतिक्रिया दिनुहोस्