सिनेटद्वारा ट्रम्प नीतिविरुद्ध प्रस्ताव पारित



वासिंगटन, (एजेन्सी)
अमेरिकी सिनेटले सिरिया र अफगानिस्तानबाट सैनिक फिर्ता गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको फैसलाविरुद्ध भारी बहुमतले एक महŒवपूर्ण प्रस्ताव पारित गरेको छ।

उक्त प्रस्तावको पक्षमा ट्रम्पको आफ्नो रिपब्लिकन पार्टीका सांसदले पनि मतदान गरेका छन्। यसले सत्तारुढ दलभित्र मतभेद रहेको प्रष्ट बाहिरिएको छ। सिनेटमा रिपब्लिकन नेता मित म्याककोनेलले प्रस्ताव सदनसमक्ष प्रस्तुत गरेका थिए। उनले गत हप्ता भनेका थिए– ‘यस प्रस्तावमा सिरिया र अफगानिस्तानमा अलकायदा, आईएसआईएस र उसँग सम्बद्ध संगठन हाम्रो राष्ट्रका लागि गम्भीर खतरा बनेको छ भन्ने स्पष्ट तथ्य स्वीकार गरिएको छ।’

प्रस्तावको पक्ष्ँमा ७० मत र विरोधमा २६ मत परेको थियो। सदनमा ५३ रिपब्लिकन सिनेटरमध्ये ३ जनाले मात्र यसको विरोध गरे। अब यो संशोधनलाई दक्षिण पश्चिम एसियालाई लिएर एक ब्यापक सुरक्षा कानुनमा समावेश गरिनेछ। प्रस्तावअनुसार दुईमध्ये कुनै पनि देशबाट सेना फिर्ता बोलाउनुले अमेरिकाले ठूलो परिश्रमबाट हात पारेका सफलता गुमाउन सक्ने र अमेरिकाको राष्ट्रिय सुरक्षा पनि खतरामा पार्न सक्नेछ।

गत डिसेम्बरमा ट्रम्पले ट्विटमा अमेरिकाका २ हजार सैनिकलाई सिरियाबाट फिर्ता बोलाउने योजना उल्लेख गरेका थिए। जसमा उनले इस्लामिक स्टेट समूहमाथि जित हासिल गरेको दाबी गरेका थिए। यद्यपि गतहप्ता अमेरिकी गुप्तचर प्रमुखले जारी गरेको विज्ञप्तीमा ती जिहादी समूह अहिले पनि एक गम्भीर खतरा बनेको र आफ्नो प्रभाव फैलाउने मौकाको खोजीमा रहेको उल्लेख गरेको थियो। डेमोक्र्याट्ससँगै कयौं वरिष्ठ रिपब्लिकन सिनेटर पनि ट्रम्पको उक्त कदमको आलोचना गरिरहेका छन्।

अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्नुले तालिबानसँगको शान्ति प्रक्रियाका लागि वार्ता सफल हुने तर्क ट्रम्प प्रशासनको रहेको छ। पछिल्लो समयमा अमेरिकी विशेष प्रतिनिधि र तालिवानबीच कतारको दोहामा भइरहेको शान्ति वार्ताले उल्लेखनीय प्रगति हासिल गरेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्