बच्चालाई फन्फनी घुमाउने जोडी पक्राउ



क्वालालम्पुर, (एजेन्सी)
सडक काननुअन्तर्गत मलेसियामा दुईजना रुसी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। तिनीहरुले सडकमा आफ्नो बच्चाको खुटा समाएर फन्फनी घुमाउँदै हावामा फाल्दै गरेका थिए।

प्रहरीले चार महिने छोरीलाई यस्तो दुव्र्यवहार गरेको विषयलाई लिएर यस दम्पत्तिलाई सोधपुछ गरिँदै गरेको एएफपी समाचार निकायलाई बताएको छ। केही दिन यता तिनीहरुको सो कार्यको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले कारवाही अघि बढाएको स्थानीय सञ्चार माध्यमले जनाएको छ।

करिब २० वर्ष उमेरका यस जोडी दक्षिण पूर्वी एसियाको भ्रमणको क्रममा मलेसिया आइपुगेका हुन्।
एकजना युजरले बच्चालाई त्यसरी दुव्र्यवहार गरिँदै गरेको ९० सेकेन्ड लामो भिडियो फेसबुकमा राखेर बच्चालाई चोटपटक लाग्न सक्ने यस्तो वाहियात काम गर्ने जोडीलाई पक्रन प्रहरीलाई अनुरोध गरेका थिए। फेसबुकमा राखिएको सो भिडियो २८ हजारपटकभन्दा धेरै हेरिएको पाइएको छ।

फेसबुकले खतरामा परेका बच्चाहरुलाई उद्धार गर्न प्रेरणादायी हुनसक्ने भएकाले यो भिडियो नहटाएको जनाएको छ। यस जोडीलाई राजधानी क्वालालम्पुरको सडकमा यस्तै तमाशा देखाइरहेको अवस्थामा प्रहरीले हिरासतमा लिएको थियो। क्वालालम्पुर प्रहरी प्रमुख माज्लान लाजिमले बच्चालाई कुनै चोटपटक नलागेको स्थानीय पत्रकारहरुलाई बताएका छन्।

 

प्रतिक्रिया दिनुहोस्