डा. केसी ! तिमी अझै धेरै बाँच्नुपर्छ



प्रधानमन्त्री केपी शर्मा ओलीकै अग्रसरतामा भएको सम्झौताको मूल भावनाविपरीतको प्रावधान राखेर सरकारले संसद्मा विधेयक प्रस्तुत गरेपछि जनताका डाक्टर गोविन्द केसीले शुरू गरेको १६औँ शृङ्खलाको अनशन २४ दिनमा तोडियो। सत्याग्रही डाक्टरसँग विगतमा भए÷गरेका सम्झौताबमोजिम सरकारले वार्ता थाल्ने जुन अपेक्षा जनताले गरेका थिए, सुन्ने कानै नभएको सरकारले डा। केसीका माग पूरा भइसकेको प्रचार गरेर अनशनकै खिल्ली उडाउने दुष्प्रयास मात्र गरेन, सरकारका मन्त्रीहरूले जसरी भए पनि चिकित्सा विधेयक पारित गरेरै छाड्ने दाबी गरे। सरकारले डा। केसीलाई इलामबाट काठमाडौं ल्याएपछि विपक्षी दलले सदनको कारबाही अघि नबढाउन ठूलो प्रयत्न गरे पनि सत्तापक्षले जबर्जस्ती विधेयक पारित गरेरै छाड्यो। विगतका सम्झौताविपरीत सरकारले स्वार्थ समूहको दबाबमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ पारित गर्नुलाई ठूलो प्रतिष्ठाको विषय बनाएपछि अनशनरत डा। केसीको पक्षमा आन्दोलनरत चिकित्सकसहित सर्वसाधारणहरू प्रदर्शनमा उत्रिएका थिए।

डा। केसीको स्वास्थ्यस्थिति अत्यन्तै कमजोर बन्दै गएपछि उनको सघन उपचार कक्षमा उपचार भयो। सरकारले डा। केसीको १६औँ अनशनको चार साता पुग्नै लाग्दा पनि उनीसँग वार्ताको न्यूनतम दायित्वसम्म पूरा गरेन। सरकारका पूरै संयन्त्र उनको अनशनलाई बदनाम गर्नमा उद्यत भए। सरकार एउटा स्वाभिमानी र जनताका असल डाक्टरको मृत्युको कामना गरेर बस्यो।

सत्तापक्षले जतिसुकै झुटको खेती गरे पनि डा। केसीको समर्थनमा ऐक्यबद्धता जनाउँदै पूर्वराष्ट्रपति डा। रामवरण यादव, पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, सुशीला कार्की अनशनस्थलमै पुगेर डा। केसीको जीवनरक्षाका लागि सरकारको ध्यानाकर्षण गराएका थिए। एकातर्फ सरकारी पक्षले डा। केसी मरे मरोस् भनेर वास्ता नगर्ने र अर्कोतर्फ डा। केसीले विधेयक फिर्ता गरी पूर्वसहमतिअनुरूप माग पूरा नभएसम्म सत्याग्रह नतोड्ने अडानले ठूलो समस्या सृजना ग¥यो। डा। केसीको जीवन अनशनकै क्रममा अन्त्य भएमा संसद्मा पारित विधेयक मात्रै होइन, सरकारको नैतिक वैधतामै गम्भीर सवाल खडा हुने अवस्था आएको थियो।

प्रतिपक्षमा रहेका दलहरूले डा। केसीको माग पूरा गर्न संघर्ष गरिरहँदा सत्तापक्षले सरकारको विरोधका लागि मात्रै आन्दोलन गरेको रूपमा बुझ्नु ठूलो मूर्खता हो। डा। केसीले कुनै दल वा समूह विशेषको उक्साहटमा अनशनको शृङ्खला चलाएका पक्कै होइनन्। डा। केसीले आफूभन्दा माथि देश र जनताको हितलाई ध्यानमा राखेर प्राणकै बाजी थापेर चिकित्सा शिक्षामा व्याप्त बेथिति र विकृति हटाउने अभियानमा होमिए। विधेयकमा समेटिएका धेरै उपलब्धि पनि डा। केसीकै अनशनको उपज हो।

अन्त्यमा डा। केसी तिमीले अनशन तोड्ने जुन निष्कर्ष निकाल्यौ, त्यो स्वागतयोग्य छ। तिमी अझै धेरै बाँच्नुपर्छ। गरिब, निमुखा र विपन्नका लागि तिमीजस्ता डाक्टरहरूको यो देशका लागि अझै खाँचो छ।
– सरोज पन्थी, गुल्मी।

प्रतिक्रिया दिनुहोस्