डाभोर्स सम्बोधन र हाम्रा आवश्यकता



केशव अधिकारी
स्वीट्जरल्यान्डको डाभोर्स शहरमा वल्र्ड इकोनोमिक फोरमको बैठक केही अघि सम्पन्न भयो। त्यस बैठकमा हाम्रा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफ्नी पत्नीसहितको एउटा जम्बो टोलीका साथ उक्त बैठकलाई सम्बोधन गर्न पुगे। त्यस बैठकमा विषयवस्तुको गहनतालाई बुझेर तदनुसारको कदम चालिनेभन्दा पनि पैसा तिर्न सक्ने र चाख हुनेहरू जोसुकैले पैसा तिरेर भाग लिन पाएका थिए। त्यसकारण त्यो बैठकको प्रभावकारिताको महत्वभन्दा पैसाको अधिक महत्व रहेको भन्ने भाव सहभागी भएका केहीलाई आएको हुनसक्छ। आखिर जे होस्, हाम्रा प्रधानमन्त्रीले त्यस बैठकमा ससम्मान भाग लिन पाउनु ठूलै कुरा थियो। डाभोर्सको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने पालो आएपछि पहिलो त केरुङबाट रेल सेवा सञ्चालन गर्ने बताए। दोस्रोमा आफू समय गुजार्न मात्र प्रधानमन्त्री नबनेको भनेर नेपालमै बोल्न प्राक्टिस गरेको कुरा बोलेका थिए। उनले त्यहाँ आफू जनताको शासक नभएर जनताको सेवक भएको भन्ने अभिव्यक्ति दिन खोजेका थिए। एकजना राणा प्रधानमन्त्री पद्म शमशेरले आफू नेपालका प्रधानमन्त्री भएपछि नेपाली जनतालाई सम्बोधन गर्दै ‘म जनताको नोकर हुँ’ भन्ने सम्बोधन गरेर विगतमा राणा शासकहरूले गरेका जनदमनका कामलाई भुलाउन खोजेर साँच्चै आमनेपाली जनताका नोकरै पो भए कि भन्ने भाव पैदा गराएका थिए। अहिलेका हाम्रा प्रधानमन्त्री केपी शर्माले आफू जनताको शासक नभएर सेवक भएको भन्ने तर्कले कता–कता उनै राणा प्रधानमन्त्री पद्म शमशेरको बोली सापटी लिएका हुन् कि जस्तो पनि भान हुन पुग्यो। तर अहिले हामीले राणा शासन परास्त गरेर पञ्चायती कालखण्डको निरङ्कुशतालाई फाली गणतान्त्रिक शासन प्रणालीको सानो र छोटो अभ्यासमा लागेका छौँ। त्यही कुरालाई अनुभूत गरेर हाम्रा प्रधानमन्त्रीले डाभोर्समा गरेको भाषणमा जनताको सेवक भएको कुरा संसारलाई सुनाउन खोजेका थिए कि ?

आखिर डाभोर्स बैठकमा हाम्रा प्रधानमन्त्रीले जे बोले पनि त्यहाँ भेला भएका सबैजसो पत्रकारहरूले उनको सम्बोधनलाई त्यति महत्व दिएको पाइएन। यता आमनेपाली जनताले अपेक्षा गरेको कुरा भने अर्कै थियो। मुठ्ठीभरका हुनेखाने केही लाख नेपालीको तुलनामा हुँदा खाने करोड नेपाली जनताको लागि अहिले केरुङबाट रेल सेवाभन्दा पनि बिहानको छाक जेनतेन गुजारेको एउटा नेपाली नागरिकले बेलुकाको छाक के खाने होला रु भनेर सोच्ने दिनको अन्त्य भएर वा अन्त्य गरेर महिना वा आधा वर्ष वा एक वर्षका लागि पुग्ने खाने अनाजको जोहो गर्न सकेको दिन र पेटभरि खाएर पेटे देवता खुशी भएको दिनमात्र उसको सोचाइले केरुङदेखि काठमाडौंसम्मको सरर रेलको यात्राको बारेमा सोच्न थाल्ला।

डाभोर्सको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने पालो आएपछि पहिलो त केरुङबाट रेल सेवा सञ्चालन गर्ने बताए। दोस्रोमा आफू समय गुजार्न मात्र प्रधानमन्त्री नबनेको भनेर नेपालमै बोल्न प्राक्टिस गरेको कुरा बोलेका थिए। उनले त्यहाँ आफू जनताको शासक नभएर जनताको सेवक भएको भन्ने अभिव्यक्ति दिन खोजेका थिए।

एकपटक राजा त्रिभुवन देशदर्शनमा निस्केका थिए रे ⁄ उनी देशको कुनै दुर्गम स्थानमा पुग्दा त्यहाँका जनताले आफूहरूलाई चरम गरिबीले सताएको कुरा बताए रे ⁄ राजाले उनीहरूलाई हेपाइका साथ भने रे– तिमीहरू दुई छाक जाबो दूध–भात पनि खान पाउँदनौ त रु राजाको यो प्रश्नले ती जनता आश्चर्यचकित भए रे ⁄ दरबारको चार दिवारभित्रको निरीह प्राणीजस्ता राजालाई गरिबी भनेको कुन चराको नाम होला रु भन्ने कुरा थाहै भएन। तर हाम्रा वर्तमान प्रधामन्त्री केपी शर्मा ओलीले यति चाँडै आमजनताका दुःख र पीडा बिर्सनु त नपर्ने हो। नबिर्सेका भए डाभोर्स बैठकको सम्बोधनमा ती कुरा प्रकट हुनुपर्ने थियो। तर विडम्बना ⁄ जनताको पक्षमा कुरा गर्ने र जनताका पीडा हटाउने गहिरो विचार बोकेको शासक पाउन कठिन हुँदो रहेछ।

हाम्रा प्रधानमन्त्रीले नेपालको समृद्धि र उन्नतिको काममा लाग्छु भनेर प्रतिज्ञा गरेको धेरैचोटि भइसक्यो। तदनुसारको क्रियाशीलता देखाएको पनि अनुभूत गर्न सकिन्छ। तर देशको समग्र उन्नतिको आधार कताबाट थाल्ने भन्ने विषयमा अलमल भएको जस्तो छ। यदि अलमल नै भएको हो भने आमनेपाली युवा समुदायलाई क्रमशः विदेश पलायन हुनबाट रोक्ने उपाय खोज्नुपर्छ। युवालाई देशमै रोक्नको लागि हाल शहरी क्षेत्रमा मात्र सीमित रहेका साना, मझौला वा ठूला उद्योगहरू देशका हरेक क्षेत्रमा खोल्नुपर्छ। कच्चा पदार्थ सकेसम्म आफैंले उत्पादन गरेर ती उद्योगहरू सञ्चालन गरिनुपर्छ। झन् प्राविधिक शिक्षा हासिल गरेर विदेशिन खोज्नेमध्येका एउटा युवालाई पनि विदेश पठाउनुहुँदैन। हालको सरकारका अर्थमन्त्री युवराज खतिवडाले भनेजस्तो देशको सबै भूमि सरकारको स्वामित्वमा ल्याएर आमनागरिकको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिनुपर्छ। कम्तीमा हामी जबसम्म खाद्यान्नमा आत्मनिर्भर भएर छिमेकीको बाटो हेर्नु नपर्ने दिन आउँछ तबमात्र हाम्रा युवावर्गमा देशको उन्नतिका हरेक उपायहरू पलाउन थाल्छन्। हजारौँ युवा जनशक्ति विदेश गएर ती देशहरूको समृद्धिको रहस्य पत्ता लगाएर आएका पनि पक्कै होलान्। त्यस्ता युवाबाट तरिका सिकेर काम गर्न सकियो भने उनीहरू उत्साहित भएर अझै काम गर्न हौसिएलान्।

टाढाको कुरा होइन, हाम्रै छिमेकी देश चीनले जनताका पीडा हटाउने विचार बोकेको र त्यो विचारलाई कामयावी बनाउन सक्ने योग्य शासक पाएकोले करोडौं वा अर्ब जनताको पीडा हट्दै गएको छ। व्यक्ति एक्लैले आ–आफ्ना पीडा हटाउन खोजेर कहिल्यै सकिने कुरो हुँदैन तर त्यो काममा राज्य नै लाग्यो र आमजनतालाई खुशीका साथ त्यही बाटोमा हिँडाउन सक्यो भने सफलता हात पर्न बेरै लाग्दैन। तर हाम्रा कोही पनि शासकहरूले हामी जनताका पीडा अरूकहाँ लगेर सुनाउन चाहँदैनन्। युवा जनशक्तिलाई आफ्नै देशमा के–कसरी र कस्तो रोजगारी सिर्जना गरेर विदेश जानबाट रोक्ने भन्ने कुनै दृष्टिकोण हाम्रा शासकहरूको दृष्टिमा रहेको छैन शायद। नेपाली युवा विदेश पलायनले गति लिँदै जाँदा सुनसान बनेका गाउँपाखाका खेतबारी बाँझै लडेका छन। अस्ति भर्खरै २०७५ सालको माघ १ गतेको माघे सङ्क्रान्ति पर्व मनाउनको लागि दक्षिणको छिमेकी देशबाट कति करोड रुपियाँको त सखरखण्डमात्र भित्रिएको कुरा पत्रिकामा प्रकाशित भएको थियो। जतिसुकै करोड वा अर्ब रुपियाँ किन नहोस्, स्वदेशको पैसा भरसक विदेश नपठाई आफ्नै देशमा साँच्न र धेरै चञ्चल बनाइराख्न सके यहीँ सुन फल्दैन र ?

साँच्चै भन्ने हो भने हामी धेरैजसो नेपाली जनताको रेल चढ्ने स्तर बनिसकेकै छैन। जुन दिन हाम्रो देशको आमयुवा जनशक्तिलाई आफ्नै देशमा केही न केही काम दिएर विदेश जानबाट रोक्न र स्वदेशमै बसाएर हौसला प्रदान गर्दै लैजान थालिन्छ त्यही दिनदेखि मात्र समग्र देशको समृद्धिको ढोका खुल्छ। प्रधानमन्त्रीले डाभोर्स बैठकमा केरुङबाट चल्ने रेल सेवाको कुरो उठान गरे पनि अहिलेका लागि हाम्रो परिवेशमा रेल भनेको विलासिताको वस्तु हो कि भनेजस्तो देखिन्छ। हामीलाई रेल सेवा नचाहिने भन्ने कुरा होइन। जब हाम्रो देशका हरेक पहाडी क्षेत्रमा लाखौँ टन अदुवा उत्पादन गरेर छिमेकीलाई बेचेर नगद खैँचन सक्ने दिन आउँछ, जब लाखौँ टन अलैँची फलाएर विदेशतिर निर्यात गर्नुपर्ने दिन आउँछ र त्यति धेरै परिमाणमा उत्पादन भएको बाली सानातिना गाडीमा नअट्ने अवस्था आउँछ त्यसपछिका दिनमा मात्र हामीलाई रेल सेवा चाहिन्छ। हाम्रा पहाडी र तराई क्षेत्रमा समेत राम्ररी फस्टाउने मसलाजन्य वनस्पति सिन्कौलीका ४०–५० बुटा पाखोबारीमा रोपेर पनि त्यसबाट ५०–६० हजार नगद कमाउन सक्ने वातावरण बनेपछिका दिनमा होस् कि लाखौँ टन रसिलो सुन्तला फलाएर विदेश निर्यात गर्नका लागि होस्, त्यो बेलामा रेलसेवा पक्कै आवश्यक हुनेछ। माथिल्ला लेकाली चौरीमा राम्ररी फस्टाउने औषधिजन्य वनस्पति चिराइतोको खेती गरेर टनका टन उत्पादन गर्दै विदेशी पैसा देशमा खैँचँदै गर्न सक्ने हाम्रो हैसियत भएपछिका दिनमा आज फर्माइसी मानिने रेलसेवा अत्यावश्यक सेवाको रूपमा मान्य हुनेछ।
नेपाली काङ्गे्रसका नेता बीपी कोइरालाले भन्ने गर्थे रे– हरेक क्षेत्रका नेपाली जनताको एउटा सानो बस्ने घर होस्, गाईको गोठ होस्, कोठेबारीमा साग रोपेर हरियाली बढेको होस्, आफ्नै पुरुषार्थले फलाएको अनाजको खाना बनोस्, सागको तरकारी बनोस्, गाईको दूध थोरै भए पनि नियमित सेवन गर्न पाउने अवस्था बनोस् आदि। यो थियो नेपाली जनताप्रतिको सहनुभूतिको कुरा वा रहरको विषय। नेपालको समृद्धि भनेको नेपाली जनताको समृद्धि हो। जनताको समृद्धिका खातिर हामीले सबै क्षेत्रको जमिनको सही उपयोग गर्न सकेको खण्डमा हामीले आशा गरेको भन्दा पनि द्रुत गतिले देशको समृद्धि हुनेछ।

प्रतिक्रिया दिनुहोस्