मेगा बैंकको एकैदिन १८ वटा नयाँ शाखा खुले



काठमाडौं (नेस)
मेगा बैंक नेपालले एकै दिन १८ वटा नयाँ शाखा स्थापना गरेको छ ।

चार वटा नगरपालिका र १४ वटा गाउँपालिकामा विस्तारित १८ वटा नयाँ शाखाको आइतबार एकैदिन उद्घाटन गरिएको हो । नगरपालिकामा तनहुँको भानु, रुपन्देहीको सैनामैना, सिराहाको लहान र स्याङ्जाको भीरकोटमा मेगा बैंकको नयाँ शाखाले कारोबार शुभारम्भ गरेका छन् ।
भानु नगरपालिकाका मेयर उदयराज गौलीले भानु शाखा, सैनामेना नगरपालिका मेयर चित्रबहादुर कार्कीले सैनामैना शाखा, लहान नगरपालिकाका मेयर मुनी साहले लहान शाखा र भीरकोट नगरपालिकाका मेयर छायाँराम खनालले भीरकोट शाखाको उद्घाटन गर्नुभयो ।

यसैगरी धादिङको त्रिपुरासुन्दरी, गोरखाको भीमसेन, सिन्धुपाल्चोकको हेलम्बु, इन्द्रावती र पाँचपोखरी, सर्लाहीको रामनगर, सिराहाको विष्णुपुर, धनुषाको लक्ष्मीनियाँ, पाँचथरको कुमायक, इलामको रोङ, ओखलढुंगाको खिजिदेम्बा, उदयपुरको रौतामाई, बर्दियाको गेरुवा, प्युठानको ऐरावती गाउँपालिकामा पनि बैंकले शाखा स्थापना गरेको छ । यसअघि गत बिहीबार धादिङको ज्वालामुखी गाउँपालिकामा मेगा बैंकको नयाँ शाखा उद्घाटन गरिएको थियो ।

मेगा बैंकका देशभर १०२ शाखा, १९ वटा एक्सटेन्सन काउन्टर, ८५ वटा एटीएमको सञ्जाल, ११९ वटा शाखारहित केन्द्र र २३ सयभन्दा बढी मेगा रेमिट एजेन्ट रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्