धुर्मुस–सुन्तलीलाई सक्दो सहयोग गरौं



भूकम्पले घरवासविहीन बनेका पीडितहरुको पीडामा मलम लगाउँदै काभ्रेको पहरेगाउँका १८ घरपरिवारका लागि एकीकृत नमुना बस्ती निर्माण गरेर समाजसेवामा उत्रिएका सीताराम कट्टेल र कुञ्जना घिमिरे (धुर्मुस–सुन्तली) दम्पतीको पहिचान हास्य कलाकारको रुपमा मात्रै सीमित रहेन ।

सिन्धुपाल्चोकको गिरानचौरका ६५ परिवारका लागि एकीकृत नमुना बस्ती निर्माण गरेर होस्, चाहे महोत्तरीको बर्दिवासमा एकीकृत नमुना मुहसर बस्ती निर्माण गरेर नै किन नहोस्, धुर्मुस–सुन्तली फाउन्डेसनले गर्व गर्नलायक काम गरेको छ । धुर्मुस–सुन्तली फाउन्डेसनको एकपछि अर्को सामाजिक कामले सरकारको ढिलासुस्तीलाई गतिलो पटाक्षेप गरेको छ ।

सरकारले समृद्धिको नारा बोलीमा मात्रै सीमित राख्दै आएको परिप्रेक्ष्यमा धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन भरतपुर महानगरपालिकासँग सम्झौता गरेपछि आमनेपालीमा खुशीको सञ्चार भएको छ । देशका विभिन्न ठाउँमा रंगशालाको सम्भाव्यता अध्ययन गरी भरतपुर महानगरको वडा नं. १५, रामपुरस्थित कृषि तथा वनविज्ञान विश्वविद्यालयको २० बिघा ६ कठ्ठा क्षेत्रफल जग्गामा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण हुन लागेको हो । ६ महिनाभित्र डीपीआर तयार गरी त्यसको दुई वर्षभित्र हस्तान्तरण गरिने रंगशाला निर्माणका लागि तीन अर्ब रुपियाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

कुनै पनि काम सम्पन्न गर्न दृढ संकल्प चाहिन्छ । एउटा व्यक्तिले मात्रै चाहेर अभियान पूरा हुन सक्दैन । तर, अभियानमा सबैको साथ र सहयोग रह्यो भने असम्भव केही रहेनछ भन्ने उदाहरण धुर्मुस–सुन्तलीले यसअघि एकीकृत बस्ती निर्माण गरेर प्रस्तुत गरिसकेका छन् । धुर्मुसले अभियानको शुरूवातमा रकम अपुग भएपछि घर बेचेरै भए पनि बस्ती बनाउने संकल्प गरेका थिए । विनाशकारी भूकम्पले घरवासविहीन बनेका पीडितको पीडामा मलम लगाउन कलाकार दम्पतीले जुन अभियान सञ्चालन गरे त्यो स्मरणीय छ ।

सरकारबाट भएका विकास निर्माण र राष्ट्रिय गौरवका आयोजनाहरु अलपत्र र ढिलासुस्ती हुँदै आएको छ । एकजोडी कलाकारले देखेको सपना साकार बनाउन, थप आँट र हौसला प्रदान गर्न देश–विदेशमा रहेका मनकारी व्यक्ति तथा संस्थाहरुले आर्थिक सहयोग जुटाइरहेका छन् । एकजोडी कलाकारको अभियानबाट ३ अर्ब रूपियाँ आर्थिक संकलन गरेरै रंगशाला बनाउने संकल्प गर्नु आफैँमा ठूलो दुस्साहस मान्नुपर्छ । सरकारले चाहने हो भने अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला एक्लैले निर्माण गर्न नसक्ने होइन । तर विडम्बना ! देशमा सरकारले कलाकारिता र कलाकारले सरकारको काम गर्नुपरेको छ ।

टेलिभिजनको पर्दामा दर्शक हँसाएर चर्चा कमाएका कलाकार दम्पतीले सामाजिक उत्तरदायित्वअनुरुप दर्शकको पीडा र सर्वसाधारणको चाहनाअनुसार सरकारले गर्न नसकेको काम गरेर उदाहरणीय बनेका छन् । भूकम्पपीडितको पीडामा कहिले थुन्सेभरि ढुंगाको भारी बोकेर त कहिले गैँती र बेल्चा उठाएर यी जोडीले होस्टेमा हैँसे गरे । देश–विदेशमा स्टेज कार्यक्रम गरेर होस्, चाहे सामाजिक सञ्जालमार्फत सहयोगको आह्वान गरेरै किन नहोस्, धुर्मुस–सुन्तली फाउन्डेसनले राज्य नै निरीह भएको अवस्थामा पीडितहरुको ओठमा मुस्कान भर्दै आएको छ ।

अहिले क्रिकेट रंगशाला निर्माण गर्ने लक्ष्यलाई मूर्तरुप दिन फाउन्डेसन लागिपरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने घोषणाको दिनमै विभिन्न व्यक्ति तथा संस्थाले ५ करोड रूपियाँभन्दा बढी सहयोग गर्ने बचन दिएका छन् । देश–विदेशमा रहेका क्रिकेटप्रेमी नेपालीदेखि बैंक तथा वित्तीय संस्था, निजी क्षेत्र, उद्योगी, व्यापारी तथा सर्वसाधारणले सहयोग गर्न तत्परता देखाइरहेका छन् । यस अभियानमा सहयोग गर्ने भरतपुर महानगर पनि धन्यवादको पात्र बनेको छ । चितवनमा रंगशाला बन्नु महानगरको शानमात्रै होइन, देशकै लागि गरिमाको विषय भएकाले यस अभियानमा सबैले सहयोग गर्नु आवश्यक छ ।
– सुरज काफ्ले, हाल ः कुबेत ।

विद्युत्को दिगो व्यवस्थापन जरुरी
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको भूमिका कुलमान घिसिङले पाएसँगै देशको ऊर्जा क्षेत्रमा उल्लेखनीय प्रगति भएको छ । नागरिकलाई दैनिक १५ घन्टाभन्दा बढी लोडसेडिङको भारबाट मुक्ति गराएर उनी ऊर्जा क्षेत्रमा देशलाई सशक्त बनाउने अभियानमा लागेका छन् ।

उनको अनुभव र कार्यशैलीले प्राधिकरणको समग्र व्यवस्थापन र कामकार्वाहीमा नयाँपन देखिएको सबैले अनुभूत गरिरहेको अवस्था छ । विद्युत्को दिगो व्यवस्थापनका लागि सरकारले अहिलेदेखि नै कदम चालेमा सबैको भलो हुनेछ ।
– प्रनिशा शर्मा, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्