सल्यानका किसानहरु अन्न छाडेर बेसार खेति तिर आकर्षित



सरिता चलाउने, सल्यान ।
बेसारबाट राम्रो आम्दानी दिन थालेपछि सल्यानका किसानहरु बेसारखेति तिर आकर्षित भएका छन् । जिल्लाको कालीमाटी गाउँपालीका काल्चे घरचौरका किसानहरु बेसार उत्पादन संगै आमदानी हुन थालेपछि बेसार खेतिमा आकर्षित भएका हुन ।
अहिले काल्चे घुरचौरका ६० परिवारले खाद्यबाली लगाउन छोडेर व्यावसायिक बेसार खेती सुरु गरेका छन  । उनीहरूले वार्षिक दुई सय ५० रोपनी बढी क्षेत्रफलमा उन्नत जातको बेसार खेती गर्दै आइरहेका छन ।

स्थानीय बजारमै एक सय ५० देखि दुई सय रुपैयाँ प्रतिकिलोमा बेसार बिक्री हुने भएकाले उनीहरू हौसिएका हुन । उच्च मूल्य कृषिवस्तु विकास आयोजनाको सहयोगमा सुरु गरिएको किसानको बेसार खेती पछिल्लो समय फस्टाउँदै गएको छ ।

आम्दानी राम्रो, खेती गर्न सजिलो र बजारको समस्या नभएकाले बेसार खेती बढिरहेको स्थानीय हरिबहादुर खड्काले बताए । बेसार खेतीमा लागेपछि घरमै रोजगारी मिलेको उनको भनाइ छ । उनका अनुसार आर्थिक अवस्था कमजोर भएका कारण गाउँका सबै युवा कमाइ गर्न भारतका विभिन्न ठाउँमा जाने गरेका थिए । व्यावसायिक बेसार खेती सुरु गरेपछि मजदुरीका लागि भारत जानुपर्ने बाध्यता कम भएको उनको भनाइ छ ।

अन्नबालीभन्दा राम्रो कमाइ हुने भएकाले दुई रोपनी जग्गामा बेसार लगाउने गरेको स्थानीय शेरबहादुर ओलीले बताए । उनले गत वर्ष सबै खर्च कटाएर एक लाख ५० हजार रुपैयाँ आम्दानी गरेको जानकारी दिए । उनले आगामी वर्ष चार रोपनी जग्गामा बेसार खेती विस्तार गर्ने योजना बनाएको जानकारी दिए । उनले उत्पादित बेसार भारतका विभिन्न ठाउँमा पठाउन थालेको जनाए ।

आयोजनाले बेसार खेतीमा सिँचाइ गर्न एक हजार तीन सय मिटर कुलो निर्माण गरेको छ । सिँचाइ सुविधा भएपछि खेतीमा सहयोग पुगेको बेसार उत्पादन समूहका अध्यक्ष हरिबहादुर खड्काले बताए । उनका अनुसार पहिलो वर्ष ८४ रोपनी जग्गामा बेसार खेती गरिएको थियो ।जसबाट २५ हजार ६ सय किलो उत्पादन भएको थियो । उनका अनुसार यस वर्ष दुई सय ५० रोपनी जग्गामा लगाएको बेसारबाट ४० हजार किलो उत्पादन भएको छ । उनका अनुसार बेसार खेतीबाट गाउँमा करिब १५ करोड रुपैयाँ बर्से्नि भित्रिने गरेको छ ।

कृषि ज्ञान केन्द्रले अदुवाजस्तै जिल्लाको बेसारले ख्याति पाउन थालेको जनाएको छ । काल्चेका किसानले बेसारबाट राम्रो आम्दानी गरिरहेको वरिष्ठ कृषि विकास अधिकृत अमरराज शर्माले बताए । उनका अनुसार नगदे बाली भएकाले किसानले राम्रो आम्दानी गर्न थालेका छन् । कार्यालयले बेसार खेती गर्ने किसानलाई विभिन्न सहयोग उपलब्ध गराइरहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्