आगलागीबाट बच्न सचेत हुनै पर्छ



असोजयता पानी नपरेका कारण यति बेला सबैतिर सुख्खा छाएको छ । हिमाली भेगतिर हिउँ परे पनि प्रायः खेतबारी, वनजंगलमा वर्षातको समयमा पलाएको घाँसपात सुकेका छन् । झरेका पातपतिंगरसमेत सामान्य आगोको झिल्कोले मात्रै पनि जल्ने अवस्थामा पुगेका छन् । मौसम चिसो रहेको भए पनि पानी नपरेका कारण सुख्खापन बढ्दै गैरहेको छ ।

हिउँदको समय सुख्खा याममा आगलागीका लागि जोखिमपुर्ण समय हो । यो समयमा हामीले सामान्य सावधानीसमेत अपनाउन नसकेका कारणले आगलागीजस्तो डरलाग्दो विपत्तिको सामना गर्नुपर्ने हुन सक्छ । केही समयअघि मात्रै बागलुङको ढोरपाटन नगरपालिका–९, नवीमा आगलागी भयो । जसका कारण झन्डै ३५ घरगोठ जलेर करोडौं मूल्यको धनमाल क्षति भयो । सामान्य असावधानीका कारण भएको आगलागीको विषयमा कुनै खोज–अनुसन्धान त भएको छैन तर त्यति धेरै घरगोठ जल्ने गरी भएको आगलागीमा कोही कसैको नियत जोडिएको भने भेटिँदैन ।

आगो हाम्रो दैनिक जीवनमा नभई नहुने कुरा हो, यसको सदुपयोगका कारण हाम्रा दैनिक क्रियाकलापलाई सहज बनाउँछ भने यही आगोको दुरुपयोग भयो भने यसको क्षति अकल्पनीय हुन्छ । सलाई, लाइटरजस्ता प्रज्ज्वलनशील वस्तुबाट मात्रै होइन, आगो लाग्न सक्ने सम्भावना विद्युतीय प्रसारणबाट पनि हुन्छ । हामीले प्रयोग गर्ने सलाई, लाइटरलाई जोगाएर नराखेका कारणले कहिलेकाहीँ हाम्रा स–साना बच्चाबच्चीले खेलौनाको रुपमा यस्ता वस्तुको प्रयोग गर्दा आगलागी हुने गरेका उदाहरण हामीसँग प्रशस्त छन् ।

सुक्खा समयमा घरबाहिर वा हावा चल्ने ठाउँमा आगो सल्काउने गरेका कारण पनि हावाले उडाएर लगेका झिल्काबाट क्षति हुने गरी आगलागी हुने गरेको छ । अर्को हाम्रो ठूलो असावधानी भनेको अम्मलीहरुले प्रयोग गर्ने चुरोट तथा बिँडीका ठुटाहरु हुन् । चुरोट तथा बिँडीको प्रयोगपछि अन्त्यमा ठुटा ननिभाईकन सडकछेउ अथवा आगोले टिप्न सक्ने सम्भावित ठाउँहरुमा फालेका कारणले पनि आगलागी हुने गरेको छ ।

विद्युतीय प्रसारणमा कहिलेकाहीँ सामान्य त्रुटिका कारण दुई विपरीत तारहरु जोडिएर बल्ने आगोका कारणले पनि कतिपय आगलागीका घटना हुने गरेका छन् । मैसम सुक्खा छ । पानी नपरेका कारण आगलागीको जोखिम थप बढ्दै गएको छ । यस्तो बेलामा हमीले घरबाहिर सल्काउने आगो सकभर नसल्काउने वातावरण बनाऊँ, यदि सल्काउनु नै पर्ने भए सावधानीपूर्वक सल्काउने र काम सकिएपछि त्यसलाई राम्रोसँग निभाउने व्यवस्था मिलाउनु आवश्यक छ । विद्युतीय तारहरुमा कहीँ–कतै त्रुटि छ कि भनेर बेला–बेलामा चेकजाँच गर्ने व्यवस्था मिलाऊँ ।

अकस्मात् हुन सक्ने आगलागीबाट बच्नको लागि पूर्वसावधानीका अलवा आगलागीपछि अपनाउन सकिने प्रतिरोधका उपायहरुको विषयमा जानकारी राखौं । यसैमा सबैको हित हुनेछ ।
– प्रतीक्षा ढकाल, सामाखुसी, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्