सदरमुकामको विवादले जटिल रुप लिँदै, पूर्व सहायक मन्त्री रोका कुटिए



धनवीर दाहाल,रुकुम ।
रुकुम पुर्वको सदरमुकामको बिवादले जटिल रुप लिन थालेको छ । २०७४ माघ ११ गतेको मन्त्रिपरिषद्को बैठकले जिल्लाको स्थायी सदरमुकाम गोलखाडा कायम गर्ने निर्णय गरेको थियो । गोलखाडा र त्यस आसपासका सर्वसाधारण सरकारको निर्णय कार्यान्वन गर्नुपर्ने भन्दै आन्दोलनको पक्षमा छन भने रुकुमकोट र त्यस आसपासका सर्वसाधारण रुकुमकोटमै जिल्लाको स्थायी सदरमुकाम कायम गराउनुपर्ने माग सहित आन्दोलनमा छन् ।

रुकुमकोटमै स्थायी सदरमुकाम कायम हुनुपर्ने माग राख्दै आएका आन्दोलनकारीले आफुहरुले गरेको बन्दको अबज्ञा गरेको भन्दै नेपाली कांग्रेसका नेता तथा पूर्व सहायक मन्त्री केशरमान रोका सहित ४ जनालाई कुटपिट गरेका छन् । रोका सहित नेकपाका नेता सतमान पुन मगर, पुुनिराज घर्ती मगर र नेपाली कांग्रेसका नेता ध्रुब कुमार पुन मगरमाथि रुकुमकोटमा आन्दोलनकारीले कुटपिट गरेका हुन् ।

रुकुम पश्चिमबाट रुकुम पूर्व गइरहेका ४ जनामाथि आन्दोलनकारीले शनिवार बिहान ढुङ्गा समेत हानेका थिए । रुकुमकोट प्रवेश गर्नु अगावै रानीकोट भन्ने ठाउँमै आफूहरूमाथि कुटपिट भएको रोकाले बताउनुभयो ।

उहाँले कुटपिट नगर्न आग्रह गर्दा पनि झन कुटपिट गरिएको बताउनुभयो । अर्का पीडित सतमान पुनले आफूहरूमाथि सांघातिक हमला भएको बताउनुभयो । गोलखाडा सदरमुकाम कायम गर्न दवाव स्वरुप माघ ११ गते गर्ने बिरोधका कार्यक्रमको बारेमा प्रशासन सहित सर्वदलीय छलफलका लागि रुकुमकोट जाँदै गर्दा कुटपिट भएको उनीहरूले बताएका छन् ।

जिल्लाको अवस्थामा सामान्य रहेको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताउनुभयो । जिल्लाको स्थायी सदरमुकाम गोल्खाडा हुनुपर्ने माग राख्ने समूह एउटा छ भने रुकुमकोट कायम गर्नुपर्छ भन्ने समूह अर्काे छ । सदरमुकाम सम्बन्धीको विवाद सर्वाेच्च अदालतमा विचाराधीन छ । अदालतले पछिल्लो पटक मुद्दाको पेशी यही माघ २७ गते तोकेको छ ।

सरकारको निर्णय कार्यान्वनको दबाबका लागि गोल्खाडा पक्षधरले यही २२ गते रुकुमकोटमा शान्तिपूर्ण बिरोधको कार्यक्रमको तयारी गरेपछि रुकुमकोट पक्षधर थप आन्दोलित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्