राजनीतिक फाँटका साहित्यिक व्यक्तित्व



मोहन दुवाल
विश्वमा सांस्कृतिक नगरीका रूपमा पहिचान देखाउन सफल नेवारहरूको बाहुल्य रहेको उपत्यकाभित्रको एउटा नगर भक्तपुरमा जन्मेका नारायणमान बिजुक्छेँ एक चर्चित राजनीतिज्ञ मात्र नभईकन जनपक्षीय साहित्यकार पनि हुन् । स–साना आँखाले विश्व ब्रह्माण्ड हेर्न सधैँ तल्लीनजस्तो देखिने बिजुक्छेँ राजनीतिमा प्रवेश गरेपछि रोहितका नामले प्रख्यात भए । का. रोहितका नामले आफ्नै राजनीतिक कर्ममा लागेका उनले श्रमिकहरूका हितका लागि श्रमिकका आवाजहरू साप्ताहिकरूपमा उराल्न लगाएर, मजदुरहरूका हक–अधिकारका निम्ति उनीहरुका उच्छवासहरू दैनिक नै व्यक्त गर्न सिकाएर, महिलाहरूका समान अधिकारका प्रश्नमा केटीहरूका धुकधुकीहरू व्यक्त गर्न आवाज भराएर, शिक्षक–विद्यार्थीलगायत अन्य जनसमुदायका लागि मात्र होइन युवाहरूलाई चेतना सम्प्रेषण गर्नका लागि युवा साहित्यका मर्म–मर्म भावना साँच्न साथ र बल थपेर आफू जन्मेको भक्तपुरको गरिमा एवम् महत्व सम्प्रेषण गर्न भक्तपुरका इतिवृत्त प्रकाशन गर्ने बल थपेर मान्छेकै जीवन्त उदाहरणका रूपमा आफूलाई सम्प्रेषण गरेका छन् ।

माक्र्सवाद–लेनिनवाद नै जीवन जगत्का लागि वैज्ञानिक दृष्टिका रूपमा स्वीकारेका नेपाल मजदुर किसान पार्टीका संस्थापक नेता नारायणमान बिजुक्छेँ आजको देशको भयावह अवस्थाका सन्दर्भमा आफ्नो विचार यसरी व्यक्त गर्ने गर्छन्– ‘तर केही पक्ष धमिलो पानीका माछा मार्न चाहन्छन् । नेपाल कमजोर होस्, नेपाल कमजोर भएको बेला आफ्नो उद्देश्य पूरा गरौंला भन्ने खालका शक्तिहरू पनि भएको हुँदा यो युद्धविरामबाट खुशी नभएकाहरू पनि छन् । नेपालमा उपद्रव भैरहेको बेला फाइदा लिने, कहिले टनकपुर लिने, कहिले के लिने, कहिले लक्ष्मणपुर बाँध बनाउने, कहिले खुर्दलोटन बाँध निर्माण गर्ने त कहिले के गर्ने, त्यस्ता शक्तिहरू पनि छन्, तिनीहरूले युद्धविराम रुचाइरहेका छैनन् ।’ (श्रमिक १३ फागुन २०५९ बाट) । अप्रत्यक्ष, घुमाउरो पारामा आफ्नो विचार राख्न अति कुशल वक्ताका रूपमा पनि चिरपरिचित व्यक्तित्वका रूपमा स्वीकार्न सकिने राजनीतिज्ञ नारायणमान बिजुक्छेँ अर्थात् का. रोहित आफ्नै राजनीतिक छविले ओझेलमा परेका साहित्यकार हरिबहादुर श्रेष्ठ पनि हुन् ।

एसियाको नमुना शहरको दर्जा पाएको ऐतिहासिक प्राचीन नगरी भक्तपुरका गल्ली र चोकहरू सफा देखिन्छन्, भत्किएका देवमन्दिर, पाटीपौवाहरू, जीर्णोद्धार भई हेरौं–हेरौं बनाइएका छन्, बाटाघाटाहरू इँटाले कलात्मकता पाएर जीवन्त देखिएका छन् । कस्तो खालको जादुगरिताको कमाल हो यो भक्तपुरमा, को हुन् जादुगर ? म बनेपाजस्तो ज्यादै सानो नगर जहाँ हल्ला बढी हुन्छ, स्वस्थ, सुन्दर, सफा नगर बनाउने भनेर अनि योजनाका फेहरिस्त खिच्छन्, डङ्का पिट्छन्, नगरनेताहरू जहाँ पुगे पनि भाषणमा रम्छन् तर कामकुरो केही पनि हुँदैन । नगरपालिकाभित्र–बाहिर पार्क, चोक जहीँतहीँ फोहोरका डङ्गुर फाल्न माहिर छन् । म बनेपाजस्तो तथाकथित स्वच्छ, सुन्दर नगरबाट ज्यापूहरूको नगर भनेर अपहेलित भाषाले भक्तपुरलाई गिज्याउनेहरूसँग भक्तपुरको स्वच्छताबाट आफूलाई चोखो बनाउन सिक भन्न अहिले पनि रुचाइरहेछु । भक्तपुर त्यसै सुन्दर, स्वच्छ, सफा नगर भएको होइन, भक्तपुरलाई नेतृत्व गर्नेहरूको मन र आँखा सुन्दर भएर नै भक्तपुरले यो स्वच्छता पाएको हुनुपर्छ, म अहिले यस्तै सोचिरहेको छु ।

एकताकाको कुरा हो, भक्तपुर साहित्यिक समाजले एउटा साहित्यिक कार्यक्रममा मलाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरेका थिए दतात्रीको एउटा स्कूलमा । त्यसै कार्यक्रममा आतिथ्य ग्रहण गर्न जाँदा भक्तपुरलाई धेरै नजिकबाट मैले नियाल्न पाएको थिएँ ।त्यसैताका जनपक्षीय साहित्यकार हृदयचन्द्रसिंहका सुपुत्र सुप्रदसिंह प्रधानसँग भक्तपुरमा पनि हृदयचन्द्रसिंह प्रधानको स्मृतिमा बर्सेनि कार्यक्रम भइरहोस् भन्ने चाहना बोकेर साहित्यकार हरिबहादुर श्रेष्ठ अर्थात् (रोहित) नारायणमान बिजुक्छेँलाई ने.म.कि.पा.को केन्द्रीय कार्यालयमा भेटघाट गर्न गएका थियौं । निकै शिष्टतापूर्वक हामीलाई स्वागत गर्दै का. रोहितले त्यहाँ कार्यालयमा रहेका युवा मित्रहरूलाई साहित्यकारका रूपमा मेरो परिचय गरेर हृदयचन्द्रसिंह प्रधानबारे र उहाँका कृतिबारे आफ्नो धारणा राख्दै कृतिहरूको चर्चा गरे । राष्ट्र र जनताले सम्मान गर्नुपर्ने साहित्यकार हृदयचन्द्रसिंह प्रधानको सम्मानमा गर्नुपर्ने कार्यहरूमा भक्तपुर कहिल्यै पछि नपर्ने धारणा राखे । सुन्दर लाग्यो भक्तपुर, हरिबहादुर श्रेष्ठका कथाहरू । का. रोहितद्वारा लिखित सय वर्षपछिको भक्तपुर नामक पुस्तक त्यही दिन प्राप्त भयो । मैले ओल्टाइपल्टाई हेरेँ ।

गाउँले, विष्णु ढकाल, विनोद, प्रजापति, सरोज, प्रधानका साथै हरिबहादुर श्रेष्ठका नाममा थुप्रै लेख–रचना लेखिसकेका नारायणमान बिजुक्छेँका साहित्यिक कृतिहरूमा जनताको साहित्य र साहित्यकार, राजनैतिक कार्यकर्ता बन्ने भाइबहिनीहरूलाई चिठी, साइन्स पढ्ने र डाक्टर पढ्ने भाइबहिनीहरूलाई विदेशमा बस्ने दाजुको चिठी, आकाश बाँधिएको छैन (कवितासङ्ग्रह), हरिबहादुर श्रेष्ठका कथाहरू, मां भाय् व मां भाये् थकाय्गु लँपु (नेपालभाषामा) का साथै चीन र कोरिया भ्रमणका नियात्राका पुस्तकहरु अनि समसामयिक राजनीतिका पुस्तकहरु पनि लेखेका छन् । सरल जनभाषामा बालबालिकाहरूले समेत बुझ्ने भाषामा लेख्न सिपालु हरिबहादुर श्रेष्ठले सबैजसो साहित्यिक लेख–रचनाहरू जनताका पक्षमा लेखेको देखिन्छ । रोचक, शिक्षाप्रद र प्रेरणादायी हुने खालका विचार सम्प्रेषण गरिएका उनका लेख–रचनामा शैली र कलात्मकताको अभाव रहेको प्रश्न उठाउन नसकिने होइन । तर पनि राजनीतिमा एक स्थापित नेताका रूपमा चर्चा पाइसकेका उनीजस्तो राजनीतिज्ञले साहित्यमा चाख राखिदिएर साहित्यिक सिर्जनामा मन लगाइदिनु, साहित्यकारहरूसँगको सामीप्यतामा ध्यान पु¥याइदिएर भक्तपुरमा भाषा–साहित्यका लागि चर्चा–परिचर्चा चलाउन प्रेरणा दिइरहनु कम महत्वपूर्ण कुरा होइन । यस अर्थमा हरिबहादुर श्रेष्ठका साहित्यिक उच्छवासहरू महत्वपूर्ण र प्रेरणादायी छन् ।

हरिबहादुरका सबैजसो कविता, कथा, लेख, निबन्धमा समाजमा घटेका घटनाहरूको प्रसङ्ग प्रगतिशील ढङ्गले चर्चा भएका छन् । जनताका दुःख–सुखका मर्म र कर्मको अभिव्यक्ति हुनुले उनको लेखकीय विशेषता उल्लेखयोग्य खालको छ । तर पनि राजनीतिज्ञ रोहितको व्यक्तित्वले साहित्यिक व्यक्तित्व हरिबहादुर श्रेष्ठ किचिएको प्रतीत हुन्छ । साहित्य समाजको ऐना हो भन्न रुचाउने हरिबहादुर श्रेष्ठले आफ्ना कथाहरूमासमाजकै घटना परिवशलाई चित्रण गर्न खोज्नु आश्चर्यको विषय होइन ।

उनको साहित्यिक दृष्टि तल्लो वर्गको हितमा साहित्यले सेवा गर्नुपर्दछ भन्ने नै हो । राजनीतिलाईस्वच्छ बनाउनका लागि लेखक–कलाकारहरूको भूमिका निकै महत्व हुन्छ भन्ने धारणा राख्छन् उनी । भर्खरै मात्र प्रकाशित ‘सय वर्षपछिको भक्तपुर’का परिकल्पनाकार नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुरलाई सुन्दर र रमणीय बनाउनका लागि यस पुस्तकमा आफ्नो दृष्टि र चिन्तन पोखेका छन् । आफू बसेको समाजलाई सभ्य र सुरम्य बनाउन सकिन्छ, त्यसको लागि राम्रो भावना र सुन्दर चाहना भए पुग्छ । त्यस्तो खालको चिन्तन नेतृत्ववर्गले बोकिदिँदा समाज र राष्ट्र अवश्य सुरम्य र सभ्य बनाउन सकिन्छ । यस्तै खालका दृष्टि यस पुस्तकमा सङ्ग्रहीत छन् ।

राजनीतिमा दह्रो अडान भएको र पदलोलुप चरित्र नहुनुकै परिणाममा यिनले कुनै परिस्थितिमा मन्त्री बन्ने अवस्था आउँदा पनि मन्त्री भएर आफूलाई गिर्न दिएनन् । अहिले पनि नयाँ पुस्ताले सांसद् बनाएर ने.म.कि.पा.को अध्यक्ष रही राजनीति गरिरहेका छन् ।साहित्य लेखनमा पनि यिनी प्रगतिवादी लेखकका रुपमा विख्यात छन् । त्यसैले प्रत्येक वर्ष हुने भक्तपुरको ‘तमुंज्या’ साहित्यिक कार्यक्रममा उनी रमाउने गर्छन् । देशको विडम्बना भनौं कि के भनौं, इमानदारहरु कुनामा पर्दै जान्छन्, बेइमानहरु अगाडि–अगाडि सर्छन् । तर जसले जेसुकै गर्दै गरेपनि, जसले जेसुकै भन्दै गरेपनि नारायणमान बिजुक्छेँ स्वच्छ ढङ्गले कर्मपथमा लम्किँदै गरेका स्वाभिमान व्यक्तित्व हुन् । राजनीतिमा स्वच्छ छवि देखाएर बाँच्न सफल रोहित साहित्यमा पनि जनपक्षीय भावना खोपेर देखापर्दै गरेका प्रगतिवादी साहित्यकार हुन् ।

प्रतिक्रिया दिनुहोस्