अशुद्ध र विकृत पदार्थबाट रोग



नारायण शेषनागलाई अझै उपदेश दिइरहुनुहुन्छ । उहाँ भन्नुहुन्छ– ‘जसरी अम्खोरा वा गाग्रीमा धेरै दिनसम्म शुद्ध जल राखिरहँदा त्यस जल तथा भाँडोमा लेउ लाग्ने र कीरा पर्ने सम्भावना हुन्छ । अतः समय–समयमा त्यसको संस्कार वा परिष्कार गरिरहनुपर्दछ । त्यस्तै वाक्तत्त्वको सर्वशुद्धता र सामथ्र्यलाई यथावत् राखिरहनका लागि पनि समय–समयमा त्यसको संस्कार तथा परिष्कार भइरहनुपर्दछ ।

हामीले बोलिने देववाणीमा पनि यसै गरी यथासमय संस्कार एवं प्रतिसंस्कार हुँदै आएको छ । यसरी संस्कृत वा परिष्कृत हुँदै आएको देववाणीको नाउँ नै पछि–पछि संस्कृतभाषा हुन आयो । यसरी वाक्तत्त्वको संस्कार वा प्रतिसंस्कार गर्ने यस्ता शास्त्रलाई हामी चलनचल्तीमा शब्दशास्त्र वा व्याकरण भन्द छौं र त्यसका उपदेष्टा र अनुसन्धातालाई वैयाकरण ।

पछिल्ला समयमा शलातुर ग्राममा अभिजनस्थल भएका ऋषिकल्प पणिनामक द्विजवर्यका नाति पाणिनिले हिमवद्देशको गोपर्वतमा गई तपस्याद्वारा महादेवको वरदान प्राप्त गरी व्याकरण ग्रन्थको रचना गरे, अष्टाध्यायी । उनकै समकालीन वररुचि कात्यायनले त्यस अष्टाध्यायीमा छुटेका र नस्पष्टिएका लोकप्रचलित शब्दहरुको संकलन तथा साधुत्वका लागि एउटा वात्र्तिक ग्रन्थ लेखे ।

अहिले मनुष्यलोकका लोकभाषाविद्का मतमा भाषाको सामान्य उद्देश्य जसरी पनि अर्थ वा अभिप्रायको बोध गर्नु मात्र भएको छ । त्यसै हुनाले यो कार्य पाली, प्राकृत तथा अपभ्रंशजस्ता लोकबोलीहरुबाट पनि हुनसक्दछ । यसका लागि देववाणी संस्कृत नै पढ्नु आवश्यक छैन भन्ने कुराले पछिल्ला समयमा मान्छे प्रभावित भएका छन् । अतः अहिले व्याकरणको शाश्वत नियमबाट बाँधिएको देववाणी संस्कृतलाई दुरुह मान्न थालिएको छ ।

शेष ! अर्को कुरा पनि सुन । अहिले व्यक्ति आफ्ना बुद्धिको उपयोग र अनुसरण नगर्दा मन वा इन्द्रियको वशीभूत हुँदै गएको छ । मन तथा मनका वृत्तिहरुमाथि नियन्त्रण नहुँदा अशुद्ध उच्चारणसँगै मानव अहिले अशुद्ध संकल्प र अशुद्ध व्यवहार गर्ने भएको छ । जसले गर्दा उसले उत्पादन गरेका खाद्य पदार्थदेखि लिएर समस्त उत्पादनमा विकृति आएको छ । त्यस्ता विकृत वस्तुकोे उपभोगले गर्दा मानिस मानसिक, वाचिक एवं शारीरिक दृष्टिले पनि रोगी बन्न पुगेको छ ।
क्रमशः

प्रतिक्रिया दिनुहोस्