नारायणी नदीकिनारको फोहोर कसले उठाउने ?



नारायणी नदीकिनारमा थुप्रिएको फोहोरले अहिले स्मार्ट सिटी अभियानलाई गिज्याइरहेको छ। उद्योग वाणिज्य संघ–चितवन, भरतपुर महानगरपालिका र जिल्ला समन्वय समिति, चितवनको संयुक्त आयोजनामा एक साताअघि मात्रै सम्पन्न चितवन महोत्सवस्थलको फोहोर नउठ्दा यतिखेर लाजसमेत लज्जित भएको छ। नारायणी नदी दिनप्रतिदिन फोहोर र प्रदूषित हुँदै जाँदा युवाहरूको समूह वे ग्रुपले सरसफाइ अभियान गर्दै आएको छ। सरसफाइ अभियानमा महानगरका जनप्रतिनिधिसमेतको पनि सहभागिता रहँदै आएको छ। तर, अहिले फोहोर कसले सफाइ गर्ने भन्ने विषयमा महानगर पन्छिएको देखिएको छ।

महोत्सव आयोजनाको सहआयोजक संस्था महानगरले फोहोर उठाउने जिम्मा उद्योग वाणिज्य संघकै हो भनेर टार्न मिल्दैन। चितवनमा खुला सार्वजनिक स्थल नहुँदा महानगरवासी फुर्सदको समयमा नदीकिनारमा जम्मा हुने गर्छन्। केही साना व्यवसायीले आयआर्जन गरेर जीविका चलाएका छन्। महोत्सव सकिनासाथ सरसफाइमा ध्यान नदिँदा नारायणी नदीकिनार कुरूप बनेको छ। जसले वातावरणीय सौन्दर्यमात्र विगारेको छैन, नदीसमेत प्रदूषित बनेको छ। नदीकिनार डम्पिङ साइटजस्तै देखिनु महानगरकै लागि विडम्बनाको कुरा हो।

नारायणी नदीकिनार पछिल्लो समय आन्तरिक पर्यटकीय स्थलका रूपमा विकास भइरहेको छ। सरसफाइ र व्यवस्थापनमा ध्यान दिने हो भने यो स्थल अनुपम वातावरणीय सौन्दर्यको पर्याय बन्न सक्छ। तर, यस्ता किसिमका हेलचेक्र्याइँले आयोजक सरसफाइमा गम्भीर छैन भन्ने पुष्टि हुन्छ। शहरबजार र नदीकिनारको फोहोरले हाम्रै सभ्यतामाथि पटाक्षेप गर्छ। भरतपुर महानगरले नमुना शहर बनाउने उद्घोष गरिरहँदा फोहोर उठाउने जिम्मा हाम्रो होइन भनेर बेवास्ता गर्न मिल्दैन। फोहोर उठाउने जिम्मा कसले लिएको हो रु उसलाई दबाब दिएर कारबाही गर्नुपर्छ।

उसो त सार्वजनिक स्थलको फोहोर सरसफाइ गर्ने अभियान गर्दै आएको वे ग्रुपले महोत्सव अवधिभर महोत्सवमा सरसफाइसम्बन्धी सचेतनामूलक कार्यक्रम नगरेको होइन। पुस २५ गतेदेखि माघ ४ गतेसम्म भएको महोत्सवमा जथाभावी फोहोर गर्दिनँ भनेर १२ हजार जनाले हस्ताक्षरसमेत गरेका थिए। महोत्सवमा सरसफाइका लागि वे ग्रुपले ५४ जना सरसफाइ अभियन्ता निःशुल्करूपमा खटाएको थियो। प्रत्येक स्टललाई एउटा डस्टबिन वितरण गरिए पनि फोहोर व्यवस्थापन हुन सकेन। महोत्सवमा स्टल राखेका होटल तथा रेस्टुरेन्ट व्यवसायीले नदीमै भाँडा माझेर प्रदूषण बढाउने काम गरे। नाफामुखी गतिविधिका लागि महोत्सव गर्ने तर महोत्सव सकिएपछि फोहोर असरल्ल छोड्ने प्रवृत्ति आफैँमा गलत हो।

उद्योग वाणिज्य संघ–चितवनले महानगरको मुख ताक्ने र महानगरले उवासंघको जिम्मेवारी हो भनेर जिम्मेवारीबाट भाग्न मिल्दैन। महोत्सवस्थललाई पहिलेभन्दा सफा, व्यवस्थित र आकर्षक बनाउने काममा दुवै संस्थाले उत्तिकै भूमिका निभाउनुपर्छ। शहरबजार र नदीखोलामा फोहोरमैलाको दुर्गन्धले गिज्याउँदै गर्दा स्मार्ट सिटीको सपना कसरी पूरा होला रु नदी अवलोकन गर्ने जो–कसैले पनि नाक खुम्च्याउनुपर्ने अवस्थाको अन्त्य गर्न जिम्मेवार पक्षले इमानदारिताका साथ फोहोर उठाउन ढिलाइ गर्नुहुँदैन। महानगरवासीको स्वास्थ्य र सभ्यतासँग जोडिएको फोहोर व्यवस्थापनमा सरोकारवाला निकायले समयमै ध्यान दिनु आवश्यक देखिएको छ।
मनोज सुनार, भरतपुर।

प्रतिक्रिया दिनुहोस्