मध्यमोदी जलबिद्युत आयोजनाको काम सुचारु



नेपाल समाचारपत्र
पर्वत
प्रभावित क्षेत्रका बासिन्दाको आन्दोलनले विगत पाँच दिनदेखि ठप्प बनेको मध्य मोदी जलबिद्युत आयोजनाको निर्माण कार्य सुचारु भएको छ ।

चौधरी ग्रुपले पर्वतको मोदी गाउँपालिकामा निर्माण गरिरहेको १४.५ मेघावाटको जलविद्युत आयोजना स्थानीयबासीको आन्दोलनका कारण गत शनिबार देखि बन्द भएको थियो । मंगलवार दिनभर जिल्ला समन्वय समितिमा भएको सर्वपक्षिय छलफलबाट स्थानीयका माग पुरा गर्न आयोजना पक्ष सहमत भएपछि निर्माणकार्य बुधवारदेखि शुरु भएको हो ।

आयोजनाको सुरुङ्ग निर्माण गर्दा स्थानीयवासीका घरमा क्षति पुगेको भन्दै पूननिर्माण तथा क्षतिपुर्तीको माग गर्दै प्रभावित क्षेत्रका बासिन्दाले आन्दोलन गरेका थिए । मोदी गाउँपालिका वडा नं. १ र २ का मख, ठाना, कल्लेनी र ओख्लेमा रहेका बस्तीका घरहरु भूकम्पले झै भत्किन थालेपछि स्थानीयबासी आन्दोलित भएका हुन् ।

छलफलका क्रममा स्थानीयवासीका घरहरुमा पुगेको क्षति भुगर्वविद्ले दिएको प्रतिवेदनको आधारमा मोदी गाउँपालिका र आयोजना पक्षले संयुक्त प्राविधिक टोली खटाउने, प्राविधिक टोलीले घरहरुको मुल्यांकन गरी पुर्ननिर्माण वा प्रवलिकरण गर्न लाग्ने लागत स्टिमेट तयार गर्ने र सोहि आधारमा आयोजनाले घरधनीलाई रकम उपलव्ध गराउने सहमति भएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए ।

यसैगरी क्षति पुगेका तीन वटा घरधनीको घर पुर्ननिर्माणको काम स्वयंले शुरु गर्ने र आवश्यक रकम आयोजना दिने सहमति पनि जुटेको छ । आयोजनाको काममा आगामी दिनमा अबरुद्ध नगर्ने, स्थानीयको घर पुर्ननिर्माणको अनुगमन जिल्ला समन्वय समिति पर्वतले गर्ने र आयोजनाले गर्नुपर्ने सामाजिक उत्तरदायित्वका कामहरु प्राथमिकताका आधारमा गर्दै जाने सहमति भएको जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहरबी पौडेलले जानकारी दिए ।

स्थानियबासीहरुले आयोजनाको सुरुङ्ग निर्माणका क्रममा भएको बम बिष्फोटका कारण घरहरु भत्केको बताएका छन् । विस्फोटका कारण स्थानीय रामकुमारी पोख्रेल, मेघराज ढुंगाना, शेरबहादुर खत्री, खमबहादुर खत्री, मिनकुमारी खत्री, माया खत्री, सावित्री पोख्रेल, रामबहादुर खत्रीको घरमा क्षति पुगेको स्थानीयको भनाई उनीहरुको छ ।

आयोजनाले भने भूकम्प र पराकम्पका कारण कम्जोर घरहरु अहिले क्षति भएका कारण माग अनुसार क्षतिपुर्ती दिन नसक्ने दाबी गर्दै आएको थियो । भूगर्भबिदहरुले घर भत्कनुमा मुख्य कारण भूकम्प र पराकम्प भएको र आयोजनाका कारण केही घरमा असर परेको प्रतिबेदन दिएका कारण सोही अनुसार कार्यान्वयन गर्न तयार रहेको मध्य मोदी जलबिद्युत आयोजनाका प्रमुख निरञ्जन राउतले बताउनुभएको थियो ।
भूगर्भ बिदले १२ घरमा बढी क्षति भएको, ९ घरमा सामान्य क्षति भएको तथा सामान्य प्रभावित हुन सक्ने ७ घर मात्रै देखाएको राउतले बताए ।
समाप्त माघ १७

प्रतिक्रिया दिनुहोस्