शहीद दिवस: पसिना बगाऊ अब, रगत बगेर गैसक्यो



धनपति सापकोटा
सबैभन्दा बढी प्रजातान्त्रिक आन्दोलनका मूर्धन्य व्यक्तित्वहरूले पञ्चायत कालमा सहादत प्राप्त गरे तर तिनीहरूका नाममा सरकारले अहिलेसम्म त्यस्तो उल्लेख्य स्मरणयोग्य कुनै कार्यक्रम अघि सारेको पाइँदैन। शहीदहरू कुनै पार्टी विशेषको नहुनुपर्ने हो तर आ–आफ्ना पार्टीका शहीदहरूका नाममा राजनीतिक पार्टीहरूकै पहलमा केही पार्क, उद्यान र शालिकसम्म निर्माण गरेको पाइन्छ। यस विषयमा चिन्तन–मनन गरिनुपर्छ।

देश र जनताको अधिकर प्राप्तिका लागि जीवनको आहुति दिने वीर व्यक्तिलाई शहीद भनिन्छ। आमनागरिक तथा देशको हितको अगाडि आफ्नो निजी जीवनको कुनै प्रवाह नगरी शासकहरूको सामु घुँडा नटेक्नु नै शहीदहरूको विशेषता हो। जनताको अधिकारसँग आफ्नो जीवन साट्न स्वीकार तर शासकका सामु झुक्न अस्वीकार गर्न सक्ने मानिस मात्र इतिहासमा सच्चा शहीद कहलिएका छन्। सच्चा शहीदका लागि आफूले अँगालेको विचार नै शक्तिको स्रोत हुन्छ। जति कष्ट सहनुपरे पनि आफ्नो विचार वा आफूले अँगालेको बाटोबाट कहिल्यै पथभ्रम हुँदैनन्। सामूहिक हितका लागि आफ्नो सम्पूर्ण ज्ञान, सीप, बुद्धि, विवेक, तागत मात्र खर्चने होइन कि जरुरी भए आफ्नो ज्यान नै उत्सर्ग गर्न तयार भएका मानिस मात्र सच्चा शहीदको कोटिमा पर्न सफल भएका छन्।

श्री ३ जंगबहादुर राणाका विरुद्ध विद्रोही सेना संगठित गरी गोरखाबाट आक्रमण गर्ने तयारी गर्दागर्दै पक्राउ परेका पचासौं जनामध्ये एक सैन्य नेता थिए लखन थापा मगर। सत्ताधारी राणाले उनलाई सन् १८७७ मा गोरखाको आफ्नैै गाउँमा लगेर मृत्युदण्ड दिए। उनलाई नेपालको पहिलो शहीद भनिन्छ। राणाकालमा शासन सत्ताको लागि थुप्रैले विद्रोह गरे, ज्यान पनि गुमाए तर जनताको मुक्तिको लागि नभई केवल शासन सत्ताको लागि मात्र। त्यो कोटिको बलिदानीलाई शहीद भनिएन। शहीद हुनका लागि जनताको मुक्ति सन्निहित हुन जरुरी छ।

शहीदको कुरा गर्नेबित्तिकै हामीले राणकालको निरंकुशतातर्फ ध्यान दिनुपर्ने हुन्छ। दुनियाँ रैतीहरूलाई कजाइराख्न राणाले प्रजाजनलाई बोल्ने, लेख्ने, पढ्ने, हिँड्ने, डुल्ने कुरामा समेत पूरा प्रतिबन्ध लगाएका थिए। आमप्रजाको लागि शैक्षिक संस्थाको नामोनिशान थिएन। काठमाडौं उपत्यकामा बेलुका ९।०० देखि बिहान ५।०० बजेसम्म प्रजाजनलाई निजी काममा हिँडडुल गर्नसमेत प्रतिबन्ध थियो।

काठमाडौं उपत्यकाबाहिर जान र भित्र आउनसमेत राणाशाहीको भिसा लगाउनुपर्दथ्यो। बाहिरी संसारका कुरा भित्र नआऊन् र भित्रको कुरा बाहिर नजाऊन् भनेर यस्तो प्रतिबन्धात्मक व्यवस्था लादिएको थियो। राणाशाहीहरूको त्यस्तो जरजर अवस्थामा पनि टंकप्रसाद आचार्यको नेतृत्वमा प्रजा परिषद् नेपाल नामक राजनीतिक संगठनको स्थापना गरी नागरिक अधिकारको बहालीका लागि राणाशाहीविरुद्ध जनचेतना फैलाउने कार्यमा खटिएका गंगालाल श्रेस्ठ, धर्मभक्त माथेमा, दशरथ चन्द, टंकप्रसाद आचार्य, रामहरि शर्मा आदि नेताहरू १९९३ सालमा राणाशाहीको कैदमा परे। त्यसै गरी आध्यात्मिक प्रवचनका माध्यमबाट नेपाली समाजमा सदियौंदेखि जकडिएको कुप्रथाका विरुद्ध जनचेतना फैलाउने आर्य समाजका अभियन्ता शुक्रराज शास्त्री पनि राणाशाहीको निशानामा परे। पक्राउ परेका राजबन्दीहरूलाई डरत्रास, लोभलालच, धाकधम्कीसमेत देखाई माफीको याचना गराउने जोडजुलुम गरियो तर नेपाल आमाका सच्चा सपूतहरूले आफूले उठाएका जनाधिकारको नारालाई कमजोर हुन दिएनन् बरु राणाशाहीका विरुद्ध आफ्नो प्राणकै बाजी लगाउन राजी भए।

वि।सं। १९९७ माघ १० गते टेकुको पचलीमा शुक्रराज शास्त्रीलाई रुखमा झुन्ड्याई मृत्युदण्ड दिइयो। दुनियाँले देखेर राणादेखि चेत खाऊन् भनी दिनभर सदगत पनि गर्न नदिई यत्तिकै झुन्ड्याई राखियो। त्यसै गरी माघ १३ गते धर्मभक्त माथेमालाई पुनः माफी मगाउन शुक्रराज शास्त्रीकै हविगत हुने धम्की दिइयो तर माथेमाले माफी स्वीकारेनन्, बरु राणाशाहीविरुद्ध प्राणको आहुति स्वीकार गरे। उनलाई सिफलको उकालोको रुखमा झुन्ड्याइयो तर राणाशाहीको फाँसीको पहिलो प्रयास विफल भयो। माथेमा त्यो बेलाका नामुद शारीरिक सुगठक थिए। उनी पश्चिम बंगाल च्याम्पियन नै थिए। श्री ५ त्रिभुवनका व्यायाम प्रशिक्षकसमेत रहेका माथेमालाई दोस्रो प्रयासमा मात्र मृत्युदण्ड दिन राणाशाही सफल भए।

दशरथ चन्द र गंगालाललाई माघ १५ गते विष्णुमती किनार शोभा भगवती, भचाखुसीमा लगी माफी मागे ज्यान बचाउन सकिने प्रलोभन देखाइयो। तर उनीहरूले प्रजाको पक्षमा लिएको सुविचारको अगाडि राणाशाहीको केही चलेन। उनीहरूलाई गोली ठोक्न मद खुवाएर तयार गरेको सिपाहीले बन्दुक चलाउने हिम्मत गर्न नसक्दा उठाएको बन्दुक भुइँमा खसायो। ठीक त्यसै बेला राणाशाहीको एकजना भारदारले बन्दुक उठाई पहिला दशरथ चन्दलाई गोलीले उडायो। दशरथ चन्दकी प्रेमिका राणा घरानाकी थिइन्। प्रेमिकालाई पाउन उनले राजनीति छोड्नुपर्ने सर्त राणाहरूले राख्दा उनले मेरो पहिलो प्रेम राजनीतिसँग छ भनी इन्कारी जवाफ दिएका थिए। उनकी प्रेमिकाले सप्रेम मायाको चिनोस्वरूप दिएको रेसमी सल दशरथले मृत्युवरण गर्दासमेत पहिरिई नै रहेका थिए।

गंगालाल मात्र २० वर्षका नवयुवक थिए। त्यसैले उनलाई डरत्रास देखाएर काबुमा ल्याउन सकिन्छ कि भनी पहिला दशरथलाई गोली हानिएको थियो। गंगालाललाई कमजोर बनाउन उनकी भर्खरै सुत्केरी भएकी श्रीमतीले थाहा पाएर बिलौना गरुन् भनी घरअगाडिको बाटो हुँदै शोभा भगवतीतिर लगिएको थियो। फाँसी दिने अन्तिम समयमा पनि काबुमा ल्याउन पहिला नमर्ने गरी गोडामा एक गोली हानियो र माफीको अवसर दिइयो तर गंगालालले राणाको माफी अस्वीकार गरे। उल्टै लल्कार्दै कायरहरू हो हिम्मत भए छातीमा गोली हान भनेपछि दोस्रो गोलीले उनको प्राणपखेरु उडाइयो। उनीहरूले जो सगरमाथाको उचाइ लिएर मृत्युवरण गरे, उनीहरूलाई आजपर्यन्त हामी वीर चार शहीद भनेर चिन्दछौं।

टंकप्रसाद र रामहरिहरूलाई ब्राह्मण भएकै कारणले मृत्युदण्ड दिइएन। तर चारपाटा मुडी जात च्यूत गरेर शहरका गल्ली घुमाइयो। बेइजतीपूर्ण व्यवहार गरेर आजन्म कैदको सजाय सुनाइयो। यस समयको दुःखान्त सम्झनास्वरूप हरेक सालको माघ १० गतेदेखि १६ गतेसम्म शहीद सप्ताहको रूपमा काठमाडौं महानगरपालिकाको आयोजनामा राष्ट्रय स्तरको दिवस मनाइँदै आएको छ। माथि बयान गरिएका शहीदहरू सबै राजनीतिक अगुवा नेता थिए। तल्लो स्तरका कार्यकर्ता थिएनन्। कसैले उक्साएर राणाविरुद्ध एकजुट भएका थिएनन्, उनीहरू त राजनीतिक दृष्टिकोणले सुझबुझ र आफैं सुसूचित भएर राणाशाहीविरुद्ध लड्न तयार भएका नेपाल आमाका महान् सपूत थिए।

राणाकालदेखि हालको गणतान्त्रिक नेपालसम्म आइपुग्दा नेपालले हजारौंको संख्यामा शहीदहरू पाइसकेको छ तर जनताले अन्तरमनदेखि आदर–सम्मान गर्ने शहीदहरूको संख्या न्यून छ। विभिन्न कालखण्डमा जनअधिकारका निमित्त भएका विद्रोहहरूमा सहादत प्राप्त व्यक्तिहरू शहीद घोषणा भए भने कतिपय सामान्य घटनामा ज्यान गुमाएकाहरूलाई समेत सरकारले दिने १० लाखका लागि पनि जोरजुलुम गरीकन शहीद घोषणा गराउने लहर नै चलाइयो। यसले गर्दा शहीदको गरिमा र मर्यादामा नै ह्रास आएको प्रतीत हुन्छ।

नेपालको एकीकरणको सिलसिलामा सहादत प्राप्त गर्ने वीर योद्धाहरू, विदेशी फौजी आक्रमणको प्रतिरोध गर्ने सिलसिलामा जीवन उत्सर्ग गर्ने योद्धाहरू, राजनीतिक परिवर्तनका लागि विभिन्न कालखण्डमा ज्यान गुमाउने राजनीतिक नेता तथा कार्यकर्ता गणजस्तै राणा शासनविरुद्ध सञ्चालित सशस्त्र क्रान्ति, झापा विद्रोह, पिस्कर काण्ड आदि अनेकौं काण्ड, २०५२ देखि २०६२ सालसम्म सञ्चालित माओवादी सशस्त्र द्वन्द्व, लगत्तै सञ्चालित मधेस विद्रोह आदिमा सहादतप्राप्त ज्ञात–अज्ञात नेपाल आमाका वीर सपूतहरूको सपना साकार पार्नु आजको हाम्रो दायित्व हो। जसको बलिदानिको उपजको रूपमा प्राप्त नागरिक अधिकार आजका दिनमा हामी उपभोग गरिरहेछौं। आशा गरौं, भोलिका दिनमा नागरिक अधिकार प्राप्तिका लागि कसैले आफ्नो अमूल्य जीवन गुमाउन नपरोस्। हाल लागू २०७२ सालको लोकतान्त्रिक संविधानभित्रै बाट सबै खालका नागरिक अधिकार स्थापित गर्न सकियोस्। शिशिर योगीले स्वर भरेको मिलन बस्नेतको एउटा स्वदेश गानको दुई हरफ यहाँ स्मरण गर्न सन्दर्भिक हुन्छ– ‘पसिना बगाऊ अब, रगत बगेर गैसक्यो। देशले सराप्ला अब धेरै अबेला भइसक्यो।’
नेपालमा शहीदहरूको उचित सम्मान भएको मान्न सकिन्न। किनभने प्रजातन्त्रका लागि लडेका पार्टीहरूबाटै आफूले शासन सम्हालेको बेला उल्लेख्य कार्य गर्न नसक्दा राजा महेन्द्रले शासन सत्ता आफ्नो हातमा लिएको बेलामा २०१८ सालमा शहीद गेट निर्माण त गरे तर चार शहीदको शिर भागमा श्रीपेचसहितको राजा त्रिभुवनको शालिकसमेत निर्माण गर्न पुग्दा विवादित मात्र रहेन, हाल शहीद दिवसमा उक्त स्थानमा सरकारीस्तरबाट माल्यार्पणसमेत हुन छोडेको छ। यो आफंैमा एउटा पीडादायक विषय बनेको छ।

राणाकालका चार शहीदहरूमध्ये तीन शहीदहरू गंगालाल श्रेष्ठ, दशरथ चन्द, शुक्रराज शास्त्रीका नाममा क्रमशः गंगालाल मुटुरोग अस्पताल बाँसबारी, दशरथ रंगशाला त्रिपुरेश्वर र शुक्रराज ट्रपिकल हस्पिटल टेकुमा स्थापित छन् भने धर्मभक्त माथेमाका नाममा धर्मपथ नामक छोटो सडकबाहेक त्यस्तो कुनै उल्लेख्य योजना कार्यान्वयन गरिएको पाइँदैन। इतिहासको कालखण्ड हेर्दा सबैभन्दा बढी प्रजातान्त्रिक आन्दोलनका मूर्धन्य व्यक्तित्वहरूले पञ्चायत कालमा सहादत प्राप्त गरे तर तिनीहरूका नाममा सरकारले अहिलेसम्म त्यस्तो उल्लेख्य स्मरणयोग्य कुनै कार्यक्रम अघि सारेको पाइँदैन। शहीदहरू कुनै पार्टी विशेषको नहुनुपर्ने हो तर आ–आफ्ना पार्टीका शहीदहरूका नाममा राजनीतिक पार्टीहरूकै पहलमा केही पार्क, उद्यान र शालिकसम्म निर्माण गरेको पाइन्छ। यस विषयमा चिन्तन–मनन गरिनुपर्छ।

प्रधानमन्त्री निर्वाचित भएपछि लोकाचारकै निम्ति भए पनि शपथ ग्रहण गर्नेबित्तिकै पद बहाली गर्नुपूर्व ज्ञात–अज्ञात शहीदहरूका सम्झनामा निर्मित लैनचौरस्थित शहीद स्मारकमा पुष्पहार अर्पण गर्ने गरिएको छ। यो एउटा सुखद परम्परा हो। लोकतान्त्रिक सरकारले जनताको समृद्धिका लागि अघि सार्ने प्रत्येक कार्यक्रमहरूमा शहीदको सपना साकार पार्न सक्नु र त्यसको प्रतिफल आमनेपाली जनता र देशले प्राप्त गर्न सक्नु नै शहीदहरूप्रति वास्तविक श्रद्धाञ्जली हुनेछ।

प्रतिक्रिया दिनुहोस्