प्रदेश २ मा मुख्यमन्त्री स्वच्छता अभियान शुरु



कृष्णउदास खनाल, वीरगन्ज ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सोमबार वीरगन्जको सडकमा झाडु लगाइ मुख्यमन्त्री स्वच्छता अभियान शुरु गरेका छन् । प्रदेश २ को सरकारले ‘स्वच्छ मधेस, समृद्ध प्रदेश’को नारासहित मुख्यमन्त्री स्वच्छता अभियानको शुभारम्भ वीरगन्जबाट गरेको हो । मुख्यमन्त्रीसहितको टोलीले घण्टाघर, माइस्थान, आदर्शनगर विर्ता, नारायणी अस्पताल क्षेत्र हुँदै छपकैयासम्म सरसफाइ गरेको सामाजिक अभियन्ता प्रकाश थारुले बताए ।
‘वीरगञ्ज महानगर प्रथम सरसफाइ महाजागरण अभियान’ नाम दिइएको कार्यक्रमको शुभारम्भ गर्दै मुख्यमन्त्री राउतले मुख्यमन्त्री राउतले मानिसको पहिलो आवश्यकता स्वास्थ्य र सरसफाइनै भएको बताए ।उनले वीरगन्ज नगरबासीलाई घरआँगन सफा राख्न आग्रह गरे । मानव विकास सूचकांकमा पछि परेको प्रदेश २ लाई समृद्ध बनाउन स्वच्छ मधेसको आवश्यकता देखेर अभियान थालिएको उनको भनाइ छ ।प्रदेशका छोरीचेलीहरुको भविष्य सुरक्षित गर्नकै लागि प्रदेश सरकारले ‘बेटी पढाऊ बेटी बचाऊ’ ‘छोरी जीवन वीमा’ लगायतका अभियान पनि ल्याएको बताउँदै मुख्यमन्त्री राउतले फागुन ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले वीरगन्जबाटै ती अभियानको औपचारिक शुरुवात गर्ने बताए ।

प्रदेश सरकारले मुख्यमन्त्री स्वच्छता अभियानका लागि मात्रै २० करोड रुपैयाँ विनियोजन गरेको छ । प्रदेशका ८ वटै जिल्लामा सञ्चालन हुने अभियानको मुख्य उद्देश्य भनेको सरसफाइबाट स्वस्थ नागरिक उत्पादन गर्ने नै रहेको अभियानका प्रदेश संयोजक सलाउद्दिन अहमदले बताए ।‘अभियानमार्फत नागरिकलाई पूर्ण सरसफाइ तर्फ अग्रसर गराउने, खुल्ला दिसामुक्त अभियानमा सहयोग पु¥याउने, साबुन पानीले हात धुन सिकाउनुको साथै पोखरी, सिमसार क्षेत्रको सफाइ र संरक्षणको काम पनि अभियान मार्फत हुन्छ,’ उनले भने, ‘सरसफाइमार्फत स्वस्थ नागरिक उत्पादन गर्नु नै अभियानको मुख्य उद्देश्य हो ।’वीरगन्ज महानगरपालिकाको सरसफाइका लागि वीरगन्जमा एक महिनाभित्रै एउटा कार्यशालाको आयोजना गरेर रणनीति तयार गर्ने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्