अर्थ समिति सभापतिसँग व्यवसायीको गुनासो



काठमाडौं, (नेस) ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघको नेतृत्वले आइतबार प्रतिनिधिसभाको अर्थ समितिका सभापतिलाई सिंहदरवारमा भेटेर आफ्ना समस्याबारे जानकारी गराएको छ ।

महासंघका केन्द्रीय सदस्य तथा सुरज आर्केड व्यापार संघका पूर्व अध्यक्ष परशुराम श्रेष्ठले व्यवसायीमैत्री वातावरण सिर्जना गरिदिनका लागि समितिसँग आग्रह गरिएको बताउनुभयो । ‘हामीलाई व्यापार व्यवसाय गर्न अझै पनि केही कानुनी र व्यवहारिक अड्चन छन् त्यसलाई सहज बनाइयोस् भन्ने माग हो ’ श्रेष्ठले भन्नुभयो ‘व्यापारीलाई सजिलो हुने गरी कुरा गरेका होइनौं तर सरकारले नीति , नियम बनाउँदा हाम्रा पनि सवाल उठाइदिनुपरो ।’

ज्ञापनपत्र बुझाउँदै श्रेष्ठले मूल्य अभिवृद्धि कर (भ्याट) का कारण ग्राहकहरुलाई पनि समस्या परेको बताउनुभयो । उहाँले ७ वटै प्रदेशमा महासंघले शाखा खोलेर अन्तरक्रिया गर्ने पनि जनाउनुभयो ।

ज्ञापनपत्र बुझ्दै समिति सभापति कृष्णप्रसाद दाहालले करका विषयमा केही सुधार गर्नुपरे समितिमा सरकार र सरोकारवालासँग अन्तरक्रिया गर्न सकिने बताउनुभयो ।

‘कर तिर्नु सबैको कर्तव्य हो तर केही त्यस्ता कानुनी समस्या भए समयानुकुल परिवर्तन गर्नुपर्छ ’ सभापति दाहालले भन्नुभयो ‘ धेरै ठाउँबाट कर तिर्नुपरो भन्ने जनताको गुनासो थियो अहिले भने त्यसमा कमी भएको छ, जनताले तिरेको करको सदुपयोग होस् भन्ने सबैको चाहना हो ।’

दाहालले व्यापारीले आफ्नोमात्र फाइदा होस् भन्नेतिर सोच्न नहुने भन्दै करभन्दा पनि करको दायरा बढाउन सरकार पनि लाग्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्