संगीतले नै खोज्यो मल्लिकालाई



रश्मी थापा
करिब डेढ दशकअघि लाजको लाली बोकेर आइदेऊ न बोलको गीत गाएर मल्लिका कार्कीले नपाली संगीतको क्षेत्रमा आफ्नो नाम गायिकाका रूपमा दर्ता गरिन्, त्यसपछि उनले पछाडि फर्केर हेर्नै परेन। गायन यात्रा अगाडि बढ्दै गयो। उपहार २ नामक एल्बमका लागि २०६१ सालमा गायक उदितनारायण झासँग गाएको लाजको लालीले उनको करिअरमा साँच्चै नै लाली बोकेर ल्यायो। लाजको लाली जति हिट भयो, त्योभन्दा बढी हिट भइन् मल्लिका।

उदितका साथ सुरिलो स्वरमा गीत गाउने गायिका को रहिछन् भन्ने खुल्दुली जो कोहीलाई हुन थाल्यो। पहिलो गीतबाटै यत्तिको चर्चा र सफलताबटुलेकी मल्लिकालाई त्यसपछि आफ्नो संगीत यात्रामा पछाडि फर्किनै परेन, संगीतले नै उनलाई खोजिर≈यो। खासमा शुरूमा उनले त्यो गीत डमी गायिकका रूपमा गाएकी थिइन्। ‘डमीको रूपमा गाएको गीत मेरो आफ्नै स्वरमा रेकर्डिङ हुने फाइनल भएको दिन रातभरि निद्रा लागेन। उदितनारायण झा दाइसँग गीत गाउन पाउनु सपनाजस्तै थियो। गीत बजारमा आएपछि सबैले मन पराइदिनुभयो। त्यसपछि त मेरो धेरै चर्चा हुन थाल्यो। मैले धेरै अवार्ड पनि पाए’, मल्लिाकाले सम्झिइन्– ‘सबैबाट गीत गाउने अफर आउन थाल्यो। त्यसको लगत्तै भारतीय गायक कुमार सानुसँग नयाँ जीवन पाछु आज गाउने मौका पनि पाएँ।’

मोरङको सिजुवामा गणेशबहादुर कार्की र मैनामाया कार्कीको कान्छी सन्तानकी रूपमा जन्मेकी मल्लिकालाई शुरूदेखि नै गायिका बन्ने सोच भने थिएन रे। ‘एक दिन कक्षा १० मा पढ्दा स्कुलका कार्यक्रमा गीत गाउने क्रममा प्रसंशा पाएपछि गायनतिर आकर्षित भएँ। पढ्न र जागिरका लागि काठमाडौं अँए पनि म्युजिकमा एकदमै इन्ट्रेस्ट बढेकाले त्यतिबेला चलेको रियालिटी शो बागिना, तिम्रो सुर मेरो गीत, नेपाली ताराजस्ता गायन रियालिटी शोमा पनि भाग लिएँ’, उनले सुनाइन्– ‘सन्चो नभएका कारण मैले कतिपय ती रियालिटी शोहरू आफैंले छोड्नुप¥यो। त्यसपछि भने अफ्नै एल्बम गर्छु भनेर स्टुडियो गएँ। त्यहीबेला संगीतकार आलोकश्री दाइबाट डमीको रूपमा लाजको लाली गाउने अफर आएको थियो।’

विभिन्न कलेक्सन एल्बममा छाइरहेकी मल्लिकाले २०६४ सालमा ७ वटा गीत समावेश गरेर पहिलो सोलो एल्बम ल्याइन्। जसमा समावेश यति धेरै मान्छेहरूको भीडमा, तिमीले नसम्झिँदा माया, आँखैमा राखौं कि, कसरी कसरी आयौजस्ता हिट गीत दिएकी छिन्। त्यस्तै तरंग, बाटो, सुगन्ध, साइनोजस्ता कलेक्सन एल्बममा स्वर दिएकी छिन्। हालै उनले आफ्नो दोस्रो सोलो एल्बम मौसम सार्वजनिक गरेकी छिन्। जुन अवसरमा चाबहिल साततल्लेस्थित समाजसेवी नन्दा सिंहको सञ्चालनमा रहेको इनरभिजन नेपालमा रहेका बालबालिकालाई उनले ब्ल्यांकेट, टोपी, मोजाजस्ता जाडो महिनाका सामग्रीको साथमा बालबालिकालाई खाना खुवाएकी थिइन्। सामाजिक सेवामा पनि सक्रिय रहेकी मल्लिका बाल्यकालदेखि नै असहायमाथि माया गर्नुपर्छ भन्ने भाव रहेको बताउँछिन्।

‘सानो बेलादेखि नै मेरो स्वभाव यस्तै थियो। घरमा माग्ने आउँदा पनि ममीले चामल पैसा दिनुहुन्थ्यो। तर त्यसपछि ममीले नदेख्ने गरी मैले चामल र पैसा फेरि थपिदिन्थें। त्यही बेलादेखि नै केटाकेटी बुढाबुढी भनेपछि माया लाग्थ्यो। बाटोमा कतै त्यस्ता व्यक्तिहरू देखें भने पनि खानेकुरा किनेर दिने बानी छ’, मल्लिकाले सुनाइन्– ‘मैले २०६५ सालमा पहिलो एल्बम मल्लिका सार्वजनिक गर्दा पनि वृद्धाश्रमका बुबाहरूलाई ज्याकेट र आमाहरूलाई न्यानो स्विटर, चप्पल दिँदै खाना खुवाएकी थिएँ। यसपालि पनि अनाथ बच्चाहरूलाई सहयोग गर्दै दोस्रो सोलो एल्बम मौसम ल्याएँ। जबसम्म म कमाउँछु उनीहरूका लागि पनि खर्च गरौं भन्ने भाव हुन्छ।’ एल्बम मौसममा ५ गीत समावेश छन् भने लाखौं छन् बोलको गीतको भिडियो पनि सार्वजनिक भएको छ। आलोकश्रीको संगीत र किरण केसी ‘क्रोधि’को शब्द रहेको गीतको भिडियोमा बुगी बुगी विजेता कविता नेपालीको रोमाञ्चक नृत्य रहेको छ भने मल्लिकालाई पनि देख्न सकिन्छ।

आधुनिक, रोमन्टिक, लोक, फिल्मी विभिन्न विधाका गीतहरूमा स्वर दिने क्रममा उनले उदितनारायण झा, कुमार सानुदेखि लिएर राजेशपायल राई, रामकृष्ण ढकाल, कुमार कान्छा, प्रल्हाद तिमल्सिना, दीपक लिम्बु, रूपक डोटेलजस्ता गायकहरूसँग गीत गाएकी छिन् भने जीवन मृत्यु, खुसी, रंग पापी मान्छे २, फर्की आउ, भुल भुलैया, जिन्दगानी दर्पण छायाँ, जय होसजस्ता फिल्महरूमा विभिन्न गायकका साथ पाश्र्वगायन गरेकी छिन्। संगीतमा लाग्न आफूलाई सबैभन्दा बढी आमाको साथ र प्रेरणा भएको बताउँछिन् मल्लिका। ‘पहिलो गीत आउनुभन्दा अघि मैले संघर्ष गर्दा कति दुःख थियो। कसैलाई भन्न नसकेका कुरा आमालाई मात्र सेयर गर्थें। सबैको आमाले आफ्ना छोराछोरीलाई माया गर्छन्। तर पनि मेरो आमाचाहिँ एक्स्ट्रा नै हो कि जस्तो लाग्छ। परिवारको साथ नभए त म यहाँ कसरी हुन्थें ररु’ मल्लिका भन्छिन्– ‘अहिले विवाहपछि पनि परिवारका सबैजनाले मलाई माया र सपोर्ट गर्नहुन्छ। विवाहपछि त झन् उहाँहरूको सपोर्टबिना गाह्रो हुन्थ्यो। तर मेरो परिवारमा सबैजना सर्पोटिभ हुनुहुन्छ। मलाई सधैं इनकरेज गर्नुहुन्छ।’

केही समय संगीतबाट टाढा रहेको हो कि जस्तो लागे पनि आफ्ना गीत र भिडियोहरू भने आइरहेको बताउँछिन् उनी। कार्यक्रमका सिलसिलामा देशविदेश गइराख्नुपर्ने र एउटा प्रोगाममा जाँदा २÷३ महिना लाग्ने भएकाले दर्शकलाई म गीत संगीतबाट हराएको हो कि जस्तो लाग्न सक्छ तर त्यस्तो भने होइन। ‘मिडियामा त्यति नआएको मात्र हो’ –मल्लिाकाले भनिन्। गीत संगीतको क्षेत्रमा आउने नयाँ पुस्तालाई मल्लिकाको सुझाव छ– ‘नयाँ पुस्तालाई वेलकम छ। तर संगीत क्षेत्रमा आउँदाखेरी तयारी अनुशासन र धैर्यता हुनुपर्छ। फाइनान्सियल रूपमा अलिकति मजबुत पनि हुनुपर्छ। पैसा मात्र भएर पनि हुँदैन। पैसाले स्वर किन्न सकिँदैन। मेरै कुरा गर्नुपर्दा म अहिले पनि स्ट्रगल गरिराछु। तर पहिलो गीत नै उदित दाइसँग डोयट भएका कारण अरूको जति स्ट्रगल गर्नुपरेन’, मल्लिकाले थपिन्– ‘लाजको लाली गाउँदासम्म अलिअलि जाने पनि म्युजिकको बारेमा त्यति धेरै नलेज थिएन। तर पनि सबैले स्वर मन पराएपछि अझ सिक्नुपर्छ भनेर चन्दन श्रेष्ठ गुरुसँग संगीत सिकें भने कलेजमा पनि म्युजिक नै लिएर पढें। कमाइ राम्रो थियो अहिले पनि राम्रो छ।’ गीत संगीतमा दिएको योगदानका लागि मल्लिकाले विभिन्न सम्मान पाइसकेकी छिन् भने विन्ध्यवासिनी म्युजिक अवार्ड, इमेज अवार्ड, कालिका म्युजिक अवार्ड, सगरमाथा म्युजिक अवार्ड, म्युजिक खबर अवार्डजस्ता विभिन्न अवार्डमा उत्कृष्ट गायिकाको अवार्ड चुमेकी छिन्। त्यस्तै सांगीतिक भ्रमण र प्रस्तुतिका लागि अमेरिका, जापान, क्यानडा, फ्रान्स, स्विडेन, दुबई, कतारलगायत २८ देशको भ्रमण गरिसकेकी छिन्।

प्रतिक्रिया दिनुहोस्