यात्रामा सलिमान र मालिकाको जोडी



सम्राट शाक्यको डेब्यु निर्देशन रहेको फिल्म यात्रा ः अ म्युजिकल भ्लगको पोस्टर सार्वजनिक गरिएको छ। जसमा राइजिङ स्टार सलिनमान बानियाँ र मालिका महतको प्रेम र मित्रता साथै फिल्मका सम्पूर्ण कलाकारको लुक्स देखाइएको छ।

फिल्मलाई केशव भट्टराई र सुशील पोखरेलले संयुक्तरूपमा निर्माण गर्दै छन्। दुई दशकअगाडि सहायक निर्देशक भई यस क्षेत्रमा भित्रिएका सम्राटले दर्जनौं फिल्ममा सहायक निर्देशकको अनुभव बटुलेका छन्। कोटकी कालिका देवी फिल्म्स् प्राइभेट लिमिटेड, क्रिएटिभ फिल्म प्रोडक्सन र हरिओम सिने मेकर्सको ब्यानरमा निर्माणाधीन फिल्ममा केशव भट्टराईसँगै चिजकुमार श्रेष्ठ पनि प्रस्तुतकर्ता रहेका छन् भने विक्रम पराजुली, मुक्ति तिम्सिना र रामशरण घिमिरे सहनिर्माता रहेका छन्। फिल्मका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन्।
फिल्ममा कथा निर्देशक सम्राटकै रहेको छ भने उनीसँगै सुरेश न्यौपाने, प्रतीक पौडेल र शिशिर खातीले मिलेर लेखेका हुन्। फिल्ममा शम्भुजित बास्कोटाको, प्रतीक पौडेल र कोविद बज्रको संगीत, कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द्व र बनिश शाहको सम्पादन रहेको छ।

फिल्ममा सलिनमान भ्ल्गस्टको भूमिकामा छन्। यात्राको क्रममा आउने घटनाक्रमलाई फिल्ममा प्रस्तुत गरिएको छ। फिल्ममा यी दुईका साथ सलोन बस्नेत, जान्वी बस्नेत, जयनन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेशजंग कुँवर, ईश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, ईश्वर पौडेल, विशाल पहाडी, प्रजोल भट्टराई, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मालगायतले अभिनय गरेका छन् भने चाइनाका जुन झाङ र केन्याका बबिको पनि अभिनय रहेको छ।

फिल्ममा बालकलाकारका रूपमा पछिल्लो समय युट्युबमा चर्चा रहेका अंकित संग्रौला र एन्जल राई रहेका छन्। फिल्मलाई जर्नी लभ स्टोरी भनिएको छ भने यसमा यात्राले ल्याउने परिस्थितिलाई देखाइनेछ। निर्देशक शाक्यका अनुसार फिल्मको थिमअनुसार नै पोस्टर सार्वजनिक गरेका हो। ‘फिल्ममा यात्राको क्रममा आउने पललाई फिल्मी शैलीमा चित्रण गरेका छौं। फिल्ममा सलिनमानलाई यात्रीका रूपमा प्रस्तुत गरेका छौं। मित्रता र माया देखाइने फिल्मले केही संदेश पनि दिन्छ तर यसको मुख्य उद्देश्य भने मनोरञ्जन नै हो’, सम्राट भन्छन्– ‘फिल्मले नेपालको सुन्दरतालाई देखाउँछ। फिल्म हेरेर दर्शकले आफ्नै पनको मौलिक कथा पाउनुहुनेछ।’

प्रतिक्रिया दिनुहोस्