रणवीरका लागि सुशीलको तपस्या !



आगामी माघ १८ गते अल नेपाल रिलिज हुने फिल्म रणवीरलाई लिएर यसका हिरो सुशील सिटौला बढी नै एक्साइटेड छन्।

‘अहिलेसम्म गरेको रोलभन्दा यो पृथक फिल्म छ। यसमा मैले आफूले सोचेजस्तो रोल पाएको छु। त्यसैले रणवीरलाई लिएर एक्साइटेड छु। करियरको हिसाबले यो मैले यसलाई डेब्यु फिल्म मानेको छु’, सिटौलाले बिहीबार राजधानीमा आयोजित प्रेस भेटघाटमा भने– ‘पहिलोपटक सोलो हिरोको रोल गरेको छु, त्यो पनि यति स्ट्रङ।’ उनले भने– ‘यो फिल्मका लागि मैले धेरै नै मेहनत गरको छु। अभिनयको सवामा त मेहनत गरेकै छु।

फिजिकल्ली आफूलाई प्रिपियर गर्न पनि निकै मेहनत गरेको छु। बिहान पाँचै बजे उठेर जिम जाने, डाइटिङमा बस्ने। त्योचाहिँ कस्तो थियो भने तपस्या जस्तो थियो। एक दिनका लागि यो गरिरहेको छु भन्ने सोचेर म मेहनतमाथि मेहनत गरिरहेको हुन्थें। मेहनत गरेअनुसार परिणाम पनि आउने आशा गरेको छु।’ उनले आफूप्रति फिल्मका निर्देशकले गरेको विश्वासलाई नतोड्न र दर्शकलाई आकर्षित गर्न पनि यति धेरै मेहनत गरेको बताए।

यसै फिल्मबाट नायिकाका रूपमा डेब्यु गरेकी मिस इन्टरनेसनल–२०१२ शुभेक्षा खड्काले फिल्ममा आउने इच्छा भए पनि सोचेजस्तो फिल्म र कथा नभएकाले यसअगाडि फिल्ममा नआएको बताइन्। ‘फिल्ममा आउने इच्छा त थियो। अफर पनि थियो, तर सोचेजस्तो सब्जेक्ट थिएन। त्यसैले यसअगाडि अफर आए पनि काम गरिनँ। यसमा भने सोचेजस्तो रोल र स्क्रिफ्ट भएकाले डेब्यु गरेको हुँु’, शुभेक्षाले भनिन्– ‘मैले यो फिल्म मेरो मात्र रोल हेरेर एसेप्ट गरेको होइन, सबै कुरा हेरेर स्वीकारेकी हुँ। मैले कुनै एक्टिङ क्लास लिएको छैन। त्यही वर्कसप गरेको मात्र हो। तर, मलाई के विश्वास भयो भने गोविन्द (सिंह भण्डारी) दाइले मलाई काम गराउन सक्नुहुन्छ। उहाँसँग भेटेर कुरा गरेपछि मलाई त्यो विश्वास भयो। काम गर्दै जाँदा मैले गर्नुपर्ने जति गर्न सकिन होला। तर, यो फिल्मबाट धेरै कुरा सिक्ने मौका पाएँ। पछिल्लो समय बनिरहेका फिल्मको तुलनामा यो टेक्निकली मात्र होइन, कथावस्तुको हिसाबले पनि राम्रो छ। मेरो क्यारेक्टर पछिल्लो समय आइरहेका फिल्मको तुलनामा फरक नहोला तर फिल्म नै एउटा राम्रो प्याकेज बनेको छ।’

निर्देशक गोविन्दसिंह भण्डारीले आफूले तेलगु फिल्ममा काम गर्ने बेलामा हैदरवादमा हुँदा तेलुगु भाषामा फिल्म लेखेको र पछि नेपालीमा रूपान्तरण गरेको खुलाए। ‘तेलगुमा फिल्म लेखेर नेपालीमा कन्भर्ट गराएँ। स्क्रिफ्ट लेख्दै जाँदा यसमा कसलाई हिरो लिने भन्ने कुरामा २÷३ जना दिमागमा आयो। त्यसमध्ये एउटा सुशील थियो। बजारमा उपलब्ध हिरोमध्ये अरूलाई कुरा गरिनँ। सीधै सुशीललाई नै गरें। किनभने कतिपयले जस्तो भन्यो त्यस्तै काम नै गर्न सक्दैन वा गर्न चाहँदैन। आफ्नै इनपुट दिन खोज्छ। सुशीलले त्यसो गर्दैन भनेर उसलाई लिएको हुँु’, भण्डारीले भने– ‘एज अ होल फिल्म राम्रो बनेको छ। यसको रिजल्ट माघ १८ गते सबैले देख्नेछन्।’

निर्मात्री गोमा विष्ट थापाले पैसा कमाउन फिल्म निर्माण गरेको नभई यो क्षेत्रलाई अगाडि बनाउन फिल्म बनाएको बताइन्। ‘मैले पैसा कमाउन फिल्म बनाएको होइन। मेरोतर्पmबाट पनि फिल्म क्षेत्रलाई अगाडि बढाउँ भनेर यो फिल्म बनाएको हुँ। यसमा मैले निर्देशकको डिमान्डअनुसार दिल खोलेर खर्च गरेको छु। त्यसैले फिल्म पनि त्यस्तै बनेको छ भन्ने विश्वास छ।’ –गोमाले भनिन्।

साउथ इन्डियन फिल्म टिममा समेत काम गरिसकेका गोविन्दसिंह भण्डारीको लेखन तथा निर्देशनमा बनेको फिल्ममा सुशील र शुभेक्षाका साथमा टीका पहाडी, रवि गिरी, नरेश पौडेल, शैलेश्वरी सिंह, जगदीश रिजाल, वसन्ती भट्टलगायतले अभिनय गरेका छन्। फिल्म प्राची फिल्म्स् र डीआर फिल्मको ब्यानरमा गोमा विस्ट थापा र दीपेन्द्र रेग्मीले संयुक्तरूपमा निर्माण गरेका हुन्। माया, मित्रता र बदलाको कथा प्रस्तुत गरिएको फिल्ममा रामजी लामिछाने, गम्भीर विष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी, चन्द्र पन्तको द्वन्द, महेश पौडेलको छायांकन तथा कृष्ण भण्डारीको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्