कृषि विश्वविद्यालयको स्नातकोत्तरको भर्ना स्थगित

चितवन



चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय पशुविज्ञान, पशुचिकित्सा तथा मत्स्य विज्ञान सङ्कायको स्नातकोत्तर तहको भर्ना स्थगन गरिएको छ ।

विश्वविद्यालयको डिनको कार्यालयले भर्ना गर्ने भनिएको बिहीबार सूचना जारी गरी हालका लागि भर्ना प्रक्रिया स्थगन गरिएको जानकारी दिएको हो ।

गत माघ ५ गते लिइएको प्रवेश परीक्षामा अनियमितता भएको भन्दै प्राध्यापक र विद्यार्थीले विरोध गर्दै तालाबन्दी गरेपछि भर्ना प्रक्रिया स्थगन गरिएको हो ।

सो सङ्कायका डिन डा शारदा थपलियाले प्राध्यापक र विद्यार्थीबाट गुनासो आएपछि हालका लागि भर्ना स्थगन गरिएको बताउनुभयो । भर्ना प्रक्रियामा कुनै अनियमितता नभएको भन्दै उहाँले यस विषयमा विरोध गरिरहनुभएका प्राध्यापक, विद्यार्थीलगायतसँग छलफल गरी उहाँहरुलाई कुरा बुझाएर मात्र भर्ना लिने थपलियाले बताउनुभयो । आफूले विरोध जनाएकालाई वार्तामा बोलाएको बताउँदै उहाँले भर्ना प्रक्रिया नियमसम्मत भएकाले कुनै समस्या नहुने उल्लेख गर्नुभयो ।

प्रवेश परीक्षामा अनियमितता भएको भन्दै विश्वविद्यालयकै प्रजातन्त्रवादी प्राध्यापक सङ्घ, नेपाल विद्यार्थी सङ्घलगायतले विरोध जनाएका छन् भने नेपाल प्रगतिशील प्राध्यापक सङ्गठन र नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनले सो विषयमा छानविन गरी दोषीमाथि कारवाही गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्