‘बी पोजिटिभ’ र मुलुकको विकासका कुरा



– रमेशकेशरी वैद्य, काठमाडौं
बी पोजिटिभ भन्नाले दुई–तीन कुरालाई जनाउँछ । जब मानिसलाई एड्सजस्तो रोगले सताइरहेको हुन्छ तब यस बी पोजिटिभ शब्दको प्रयोग हुन्छ ।

बी पोजिटिभ भन्नाले एक प्रकारको रगतको नामकरण पनि हो । यसबाहेक जब मुलुकमा विकास ढिलासुस्ती भइरहेको हुन्छ तब मानिसमा नैराश्यता छाउँछ र नकारात्मकता प्रदान हुन्छ । त्यति बेला मानिसलाई सान्त्वना दिइने यो शब्द हो बी पोजिटिभ । मुलुकमा संघीयता आयो तर सोच बदलिएन, जसले गर्दा मुलुक द्रुत विकासमा जान सकेन ।

अरु मुलुकको दौडसँग जानु त परै जाओस्, जुनसुकै सरकार आए पनि सर्वसाधारणलाई खुशीसम्म पनि गर्न सकेनन् । यी सब कुरा भनिराख्नुपर्ने विषय पनि होइन । देशमा भत्ता खाने स्वार्थीहरु धेरै भए, राम्रो काम गर्ने कम भए, एक हिसाबले हेर्ने हो भने हाम्रो जस्तो सुन्दर मुलुकमा के खाने, के लगाउने, के पिउने, कहाँ घुम्ने आदि सबै कुरा छन् तापनि मानिसहरु खुश छैनन् । यहाँ यो कुरा बुझ्न गाह्रो भएको छ, साथै अचम्म पनि ।

सर्वप्रथम त के भन्न सकिन्छ भने, जब देश चलाउनेहरुले आफ्नो मान्छेलाई मात्र अंगालेर शक्तिहीन निर्देशन मात्र दिई अगाडि बढिराखेका हुन्छन् भने त्यो मुलुक अगाडि बढ्न धेरै गाह्रो छ । अहिले हाम्रो देशमा भइराखेको नै यही हो । एक–अर्कालाई सहयोग नगर्ने, स्वार्थ भावना राख्ने, कमिसन र भत्ताकै पछि दौडिराख्ने, मुलुकलाई वास्ता नगर्ने, दालभात–रक्सीमा नै रमाइराख्नेजस्ता गलत संस्कारले गर्दा हाम्रो मुलुक पछि परिराखेको हो । पहिला द्रुत विकास गरौं, मोज गर्ने आफ्नो ठाउँमा छँदै छ ।

मुलुकको विकासका लागि संविधान, संघीयता, चमत्कार गर्ने व्यक्तिहरु हुनु आवश्यक छ । तर हाम्रो मुलुकमा घिउ–तेल, खाद्य सामग्री नक्कली भएजस्तै यी सब कुराहरु पनि नक्कली भएर त होइन ? अन्यथा हामी अरु मुलुकको दाँजोमा जान नसकेको कारण के हो त ? यही कारणले गर्दा अब मुलुक हाँक्नेहरु तथा हाम्रो संस्कार नै परिवर्तन हुनु जरुरी छ । साथै मुलुकमा भइराख्ने नखराहरुको अन्त्य हुनु जरुरी छ ।

यो देशमा शुरुमा देश चलाउनेहरुले हामी सबै मर्नुपर्छ र मर्नुभन्दा अगाडि हामीले अनुशासनहीन भएर होइन, लालच गरेर होइन, गफ दिएर होइन, जनताको कुरा नसुनेर होइन, बल्की इमानदार र कडा भएर यो मुलुकलाई अघि बढाउनुपर्दछ । विलासी र आफ्नो मान्छेलाई च्याप्ने संस्कारलाई त्याग्नुपर्दछ । अनि मात्र यो देश अघि बढ्छ र विदेशीको अगाडि हात फैलाउनुपर्ने अवस्था आउनेछैन । यी कुराहरु जुन सरकारहरु आए पनि सर्वप्रथम सोच्नुपर्ने कुरा हुन् । यसलाई अर्को शब्दमा भन्ने हो भने, देश चलाउनेहरु साधारण भएर जनतालाई सुख, सुविधा, सहुलियत दिने हो । यसको लागि चाहिने कुरा पहिला अनुशासन ज्ञान र इच्छाशक्ति नै हो । यसैले पनि यहाँ बी पोजिटिभका कुरा उठान गर्नुपरेको हो ।

मुलुकलाई कसरी द्रुत विकासमा लैजाने त ?
सर्वप्रथम कुनै पनि सरकार कडा र इमानदार हुनु जरुरी छ, तर आजसम्म त्यस्ता सरकारहरु यो मुलुकमा देखा परेका छैनन् ।

आफ्नो मान्छेबाहेक राम्रा र दक्ष व्यक्तिहरुलाई पनि खुल्ला प्रतियोगितामार्फत सरकारी कुर्सीहरु दिनु आवश्यक छ ।

अहिले संविधानमा कतिपय देश चलाउनेहरुलाई मात्र फाइदा हुने कुरा छन्, यस्ता स्वार्थसिद्ध कुराहरु सच्याउनु जरुरी छ ।

सरकारले कमजोर प्रदेशहरुलाई पनि देशको अंग ठानेर आँखा लगाउनु जरुरी छ, जुन नपुग छ ।

आफ्नो मुलुकमा जसरी होस्, लगानीको वातावरण बनाउनुपर्दछ । यसका लागि सरकारले मन ठूलो, सकारात्मक सोच र स्वार्थी भावना त्याग्न जरुरी छ ।

अहिले हाम्रो मुलुकमा उद्योग व्यवसायमा लगानी गर्न चाहने र रकमको कमी छैन, जसरी हुन्छ मुलुकमा जमेको धनलाई कसरी सञ्चालन गर्ने त्यो क्षमता सरकारहरुमा हुनु जरुरी छ । यसलाई अर्को शब्दमा ‘साम, दाम, दण्ड, भेद’ पनि भनिन्छ ।

अहिलेको परिप्रेक्ष्यमा धेरै विदेशीहरुको चाकडी गर्ने प्रवृत्ति त्याग्नुपर्दछ, अन्यथा यत्रो मेहनत गरेर संविधान र संघीयता ल्याएको कुनै औचित्य हुनेछैन । बरु देशका बुद्धिजीवीहरुसँग समय–समयमा परामर्श लिने हो ।

यो देशमा विकास चाँडै नहुनुको कारण सतापक्षबाहेक प्रतिपक्ष पनि हो । कारण यहाँ प्रतिपक्ष कहिल्यै चाहँदैन कि सतापक्षले राम्रो काम गरोस् । जसरी हुन्छ सतापक्षलाई ढालेर फेरि आफू सत्तामा आउने गलत संस्कार छ । रिस, डाह, लालच, स्वार्थ भावना त्यागी एकपक्षले अर्को पक्षलाई आफ्नो पनि पछि पालो आउँछ भनी सम्झेर सक्दो सहयोग गर्नुपर्छ ।

सरकारले हरसमय फजुल खर्च नगर्ने, सर्वसाधारणलाई हरेक सुविधा दिने, उद्योग व्यवसायीलाई १० वर्षसम्म झमेला, कागजपत्र, कर र बढी शुल्कले नसताउने, यसो गर्नाले स्वतः मुलुक दु्रत विकासमा जानेछ । एवं प्रकारले खराब उद्योग व्यवसायीहरुलाई पनि सरकारले तह लगाउन सक्नुपर्दछ, नकि यिनीहरुसँग मिलेर नौटंकी गर्ने हो ।

एउटा चित नबुझ्ने र खल्लोपन लाग्ने कुरा के छ भने, यो मुलुकमा चाहे पढेका व्यक्ति हुन्, चाहे अनपढ र अल्लारे हुन्, तिनीहरुमा नैतिक शिक्षाको अभाव छ । त्यसकारण शिक्षण संस्था, चलचित्र, सूचना विभागजस्ता निकायहरुले यिनीहरुलाई बेला–बेलामा नैतिक शिक्षा दिन अग्रसर हुनुपर्दछ । यसबाहेक मिडियाजस्तो निकायले सधैँ नेताहरुलाई अनावश्यक हाइलाइट मात्र गर्ने होइन, बल्की समस्याका समाधानको लागि फोर्स गर्ने हो ।

हाम्रो देशमा देश चलाउनेहरु तथा सरकारी पदाधिकारीहरु अनगिन्त औपचारिक तथा अनौपचारिक रुपमा विदेश भ्रमण गरिराखेका हुन्छन् । यिनीहरुले त्यहाँका राम्रा कुराहरु पनि सिकेर आउँदैनन् जस्तो लाग्छ । नत्र यहाँ फोहोर, छाडा चौपाया, अस्तव्यस्त पार्किङको समाधान हुँदो हो । साथै फ्री शौचालय, फ्री पार्क, आरामदायी सार्वजनिक सवारीजस्ता कुराहरुमा ध्यान पुग्थ्यो होला ।

राम्रा कुराका लागि संघर्ष गरेर हुँदैन, लेखेर हुँदैन, कराएर हुँदैन भन्ने जुन जनमानसमा नकारात्मक छाप छ, त्यो गलत संस्कार हो । यस्ता कुराहरुबाट नै मुलुकमा बिस्तारै विकास भएर गइराखेको हुन्छ । खाली मानिसहरुले खराब सोच, संस्कार र अन्धविश्वासजस्ता कुराहरु त्याग्दै जानुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्