इन्फ्लुएन्जा भाइरसको संक्रमण



यतिखेर इन्फ्लुएन्जा (फ्लु) भाइरसका कारण राजधानी काठमाडौंमा बिरामीको संख्या बढेको छ । धेरैजसोमा ‘ए’, ‘बी’ र ‘सी’ टाइपको फ्लुको संक्रमण देखिएको जनाइएको छ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का परिवारमा समेत इन्फ्लुएन्जा (फ्लु) भाइरसले दुःख दिएको समाचार छ । काठमाडौंका केही अस्पतालहरुका अधिकांश आईसीयु कक्ष फ्लु र निमोनियाका बिरामीले भरिएको समाचार आउनु चिन्ताको विषय हो ।

इन्फ्लुएन्जा (फ्लु)को संक्रमण बढ्दै गएर नियन्त्रणबाहिर नजाला भन्न सकिन्न । त्यसैले सम्बन्धित निकायहरु बेलैमा चनाखो हुनै पर्छ ।

इन्फ्लुएन्जा (फ्लु)को भाइरस संक्रमणबाट मर्नेको संख्या बढेपछि नियमित बिरामीको सम्पर्कमा रहने अधिकांश चिकित्सकले फ्लुविरुद्धको खोप लिएको जनाइएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले फ्लुका कारण मृत्यु हुने एकजनाबाहेक अन्य संख्या नदेखिएको जनाए पनि यसैका कारण केही दिनअघि ओम अस्पतालमा ४९ वर्षीया एक महिलाको मृत्यु भएको खबर छ ।

त्यसै गरी उच्च शिक्षा हासिल गर्न अस्ट्रेलिया जान लागेका २२ वर्षीय एक युवकको पनि उपचारका क्रममा ट्रपिकल तथा सरुवा रोग नियन्त्रण अस्पताल, टेकुमा उपचारका क्रममा यसै साता मृत्यु भएको जनाइएको छ ।

यता इन्फ्लुएन्जा (फ्लु) का बिरामीका लागि जुनसुकै बेला भेन्टिलेटरमा राख्नुपर्ने भन्दै काठमाडौंका केही अस्पतालले भेन्टिलेटर बुक गराएको तर त्यसको प्रयोगविना नै दिनको ८ हजार रुपियाँसम्म शुल्क अस्पतालले लिएको बिरामीका आफन्तले बताएका छन् । यसरी विनाप्रयोग भेन्टिलेटरको शुल्क तिर्न बिरामी बाध्य हुनुपर्ने अवस्था आउनु राम्रो होइन । यस्तो प्रवृत्तिको अन्त्य हुनु जरुरी छ । यसका लागि सरकारी नियकायको अनुगमन अपरिहार्य छ ।

यसको संक्रमणबाट दीर्घरोगी, गर्भवती, ६५ वर्षमाथिका र ५ वर्षमुनिका बच्चामा बढी जोखिम हुने भएकाले उनीहरुको सुरक्षामा बढी नै ध्यान पु¥याउनुपर्ने देखिन्छ । सामान्यजस्तो लागे पनि यो जटिल खालको रुघाखोकी हो । यो एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने सरुवा रोग हो । यस्ता बिरामीले हाच्छ्यूँ गर्दा, खोक्दा, हात मिलाउँदा र श्वास–प्रश्वासबाट पनि यो रोग सर्ने सम्भावना अधिक हुने भएकाले सबैले सतर्कता अपनाउनै पर्छ । साथै सरकारी निकायबाट यसको रोकथाम र नियन्त्रणका लागि कुनै कसर बाँकी राख्नुहुँदैन ।

हुन त अहिले देखा परेको रोगलाई स्वाइन फ्लु भनेर यदाकदा प्रचार भएकोले यस्तो प्रचार नगर्न सञ्चारमाध्यमलाई पशु सेवा विभागले अनुरोध गरेको छ । स्वाइन फ्लु नै नभए पनि यसले महामारीको रुप नलेला भन्न सकिन्न । तसर्थ बेलैमा सतर्कता भने अपनाउनै पर्छ ।

प्रतिक्रिया दिनुहोस्