टेकु मचलीस्थित सहिद शुक्रराज शास्त्रीको पुर्णकदको शालिक अनावरण



नेपाल समाचारपत्र, काठमाडौं ।
काठमाडौंको टेकु मचलीस्थित सहिद शुक्रराज शास्त्रीलाई प्राणदण्ड दिईको स्थानमा उनको पूर्ण कदको शालिक अनावरण गरिएको छ । यस बर्षको सहिद सप्ताहका कार्यक्रम अन्तर्गत आज माघ १० गते खरिवोटमुनि आयोजना गरिएको श्रद्धाञ्जली सभामा कार्यवाहक प्रधानमन्त्री ईश्वर पोख्रेल र महानगरका प्रमुख विद्यासुन्दर शाक्यले संयुक्त रुपमा शालिकको अनावरण गर्नुभएको हो । महानगरको वडा १२ ले १० लाख खर्च गरेर पित्तलको साढे ५ फिट अग्लो पूर्ण कदको शालिक निर्माण गराएको हो । शास्त्रीलाई खरिबोटको उत्तर मोहडामा झण्ड््याइएको थियो । शालिकलाई यात्रुहरुले अनुहार देख्ने गरी पूर्व मोहोडा बनाएर राखिएको छ । मुर्तिकार महेश तुलाधरले ४ महिना लगाएर शालक तयार पार्नुभएको हो ।

कार्यक्रममा बोल्दै कार्यवाहक प्रधानमन्त्री ईश्वर पोख्रेललेसहिदको बलिदानीले अहिलेको प्रणालीमा आइपुगेको प्रसङ्ग उल्लेख गर्दै यस प्रणालीलाई टिकाउन सवै दलको एउटै दृष्टि हुनु पर्ने बताउनुभयो । अहिले सरकार परिवर्तन भएको होइन, प्रणाली परिवर्तन भएको हो । यो प्रणाली स्थापना गर्न सहिदको योगदान बिर्सन नहुने बताउँदै उहाको भनाई थियो ।

सभामा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले दलको कुरा गर्ने नपाइने अवस्थामा ज्यानको ख्याल नगरी प्रजातन्त्रका पक्षमा ज्यान आहुती दिने सहिदहरुको योगदान आफ्ना लागि सिकाइ भएको बताउनुभयो । सहिदहरुको योगदान चीरकालसम्म चर्चामा हुनेछ । हामी पनि लामो समयसम्म चर्चा हुने काम गर्न चाहन्छौं तर धेरै बोलेर काम गर्नै नदिने परिपाटीले हैरान बनाएको छ, मेयर शाक्यले जुन कुरामा पनि नराम्रो मात्र देख्ने परिपाटीमाथि टिप्पणी गर्नुभयो ।

उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गीले जनताका कुरा नजिकबाट सुन्न सक्ने तहगत सरकार बन्ने वातावरणका लागि सहिदहरुले गरेको त्यागलाई प्रजातन्त्रको गुरुमन्त्र मान्नु पर्ने बताउनुभयो । अहिले हामीले पाएको शासन प्रणाली र तीन तहका सरकारको प्राप्तिलाई उहाँहरुको योगदानसँग जोडेर हेर्नुपर्छ, उहाँको तर्क थियो । सभामा शुक्रराजको शालिक निर्माणको प्रसङ्ग उल्लेख गर्दै वडा १२ का अध्यक्ष एवं वातावरण व्यवस्थापन समितिका संयोजक विकास डंगोलले प्रजातन्त्रका लागि सहादत प्राप्त गर्ने सहिदका कारण आफू जनप्रतिनिधि हुन पाएकोले, उहाँहरुको सम्मानमा शालिक निर्माण गर्न लगाएको बताउनुभयो ।

 

सांसद कृष्णगोपाल श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख शिवसुन्दर राजबैद्य, पूर्व मन्त्री तीर्थराम डंगोल, वडाध्यक्षहरु, नगर कार्यपालिका सदस्य तथा वडा सदस्य र जनसाधारणको उपस्थिति थियो ।

विसं १९५० सालमा बनासरमा जन्मनु भएका शुक्रराज शास्त्री धार्मिक गतिविधिमार्फत जहानियाँ शाशनविरुद्ध जागरण अभियानमा सक्रिय हुनुहुन्थ्यो । यसै क्रममा काठमाडौंको इन्द्रचोकमा प्रवचनका माध्यमबाट जनतालाई प्रजातन्त्रका पक्षमा उक्साएको आरोप लगाएर उहाँलाई पक्राउ गरिएको थियो । जेल सजायँ भोगिरहेकै बेला राणा शाशन विरुद्ध देश विदेशमा भएका भूमिकामा, नाइके भएको आरोप लगाएर शास्त्रीलाई १९९७ साल माघ १० गते टेकु मचलीस्थित खरिबोटमा झुण्ड््याएर प्राणदण्ड दिइएको थियो ।

 

शास्त्रीको श्रद्धाञ्जली सभा भएको यो स्थानलाई वि. सं. २०३५ सालमा तत्कालीन काठमाडौ नगर पञ्चायतले शिलालेख राखी संरक्षण शुरु गरेको हो । सहिद सप्ताहका बाँकी कार्यक्रमहरुमा माघ १३ गते सिफलमा सहिद धर्मभक्त ममथेमाले अमरत्व प्राप्त गरेको स्थानमा र माघ १५ गते शोभा भगवतीमा सहि गंगाला श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गरेको स्थानमा श्रद्धाञ्जली सभा हुनेछ । त्यस्तै माघ १६ गते सहिद स्मारक लैनचौरमा ज्ञात अज्ञात सहिदप्रति श्रद्धाञ्जली सभा हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्