पुटिन र एर्दोगानको अप्रत्यासित गठबन्धन !



मस्को,(एजेन्सी)
रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र टर्र्कीका उनका समकक्षी रिसेप तायिप एर्डोगानबीच सिरियाको समस्याबारेमा विस्तृत छलफल हुने भएको रुसी संचार माध्यमले जनाएको छ । रुसको राजधानी मस्कोमा तिनीहरुबीच बुधबार छलफल हुने तय भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

सिरियाली द्वन्द्वकाबारेमा अहिले सम्म एकअर्कामा ठीक विपरित धारणा राख्दै आएका यि दुई शीर्ष नेताहरुबीच हुन लागेको छलफललाई अन्तर्राष्ट्रिय राजनीतिक विशलेषकहरुले अर्थपूर्ण रुपमा हेरिरहेका छन् ।
सिरियामा रुसले सरकारी फौजलाई सघाइरहेको छ भने टर्कीले विद्रोही समूहका लडाकूहरुलाई राष्ट्रपति बसार अल असादका विरुद्धमा लड्नका लागि सहयोग गरिरहेको छ ।

परस्पर विपरीत पक्षमा उभिएका दुई देशका नेताहरुले अहिले सात वर्षदेखि सिरियामा जारी रहेको गृहयुद्धको राजनीतिक समाधानका लागि उपाय खोज्ने अपेक्षा गरिएको छ । तिनीहरुले यस उद्देश्य प्राप्तिका लागि सँगै मिलेर अघि बढ्ने प्रयास पनि गर्ने बताइएको छ ।

यसैबिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाबाट दुई हजार अमेरिकी सेना फर्काइने भन्दै गत महिना मात्र गरेको घोषणाले पनि रुस र टर्कीका राष्ट्रपतिद्वयको नयाँ गठबन्धन बन्न गएको पनि विश्वास गरिएको छ ।
राष्ट्रपति एर्डोगानले गत सोमबारको स्वदेशमै एउटा सम्बोधनमा टर्कीद्वारा नियन्त्रित उत्तरी सिरियाको सुरक्षा क्षेत्रका बारेमा रुसी राष्ट्रपति पुटिनसँग छलफल गर्न लागेको बताएका थिए । अमेरिकाको समर्थनप्राप्त कुर्द लडाकूहरुले सिरियाको अधिकांश उत्तरी भागलाई नियन्त्रणमा लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्