नगर प्रमुख युवा इलम कार्यक्रम प्रभावकारी



यमलाल भुसाल, बुटवल
प्रदेश नम्बर ५ को राजधानीमा रहेको बुटवल उप महानगरपालिकाले ३ सय ६५ जना युवाहरुलाई रोजगारीको लागि इलम सिकाएको छ । उपमहानगरले एक परिवार एक रोजगार÷स्वरोजगार (नगर प्रमुख यूवा इलम) कार्यक्रम अन्तर्गत पाँच सय युवाहरुलाई इलम सिकाएको हो ।

मेयर युवा इलम नामको नौलो कार्यक्रम मार्फत पहिलो चरणमा बुटवलका १९ वडाका तीन सय ६५ युवाहरुलाई इलम सिकेको प्रमाणपत्र समेत वितरण गरिएको छ । इलम सिकेका युवाहरुलाई दक्षताका आधारमा रोजगारादाताहरुको सहकार्यमा रोजगारी समेत दिने गरी इलम सिकाउने अभियान सुरु गरिएको उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले जानकारी दिनुभयो ।

प्रमुख सुवेदीले सुरुदेखि नै प्राथमिकता दिदै आएको युवा स्वरोजगार कार्यक्रम यस क्षेत्रको नमुना र स्वागतयोग्य कार्यक्रम मानिएको छ । सोही अभियान स्वरूप पहिलो चरणको प्राबिधिक तालिम लिएका दुई सय ३२ जना युवाहरुलाई बुधबार एक समारोहका बीच प्रमाणपत्र वितरण गरिएको छ ।

सीप विकास तालिम केन्द्रमार्फत यी युवाहरुलाई कुक, एसी तथा रेफ्रिजेरेटर मर्मत तथा प्लम्बिङ्ग र फेशन डिजाइनर सम्बन्धी सीप सिकाइएको थियो । कुक तालिम लिएका ८० जना, एसी तथा रेफ्रिजेरेटर मर्मत तालिम लिएका ४६ जना, प्लम्बिङ्ग तालिम लिएका १२ जना र फेशन डिजाइन तालिम लिएका ९४ जनालाई बुधबार सीप सिकेको प्रमाण पत्र वितरण गरिएको उपमहानगरका प्रमुख सुवेदीले जानकारी दिनुभयो ।

उपमहानगरपालिकाले सुरु गरेको यो अभियानमा यसक्षेत्रका रोजगारदाता र प्राबिधिक शिक्षा केन्द्रहरुले सहकार्य गरेका छन् । तालिम लिन इच्छुकको विषय छानेर तिनै तालिम प्रदायककोमा पठाइएको र तालिम कम्तिमा तीन महिनाको सिकाइएको उपप्रमुख गुमादेवी आचार्यले बताउनुभयो । सीप सिकेका युवाहरुलाई रोजगारीका लागि रोजगादाताहरुसंगको समन्वयमा अर्को चरणको कार्यक्रम समेत अगाडि बढाउने बारेमा छलफल भइरहेको उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बताउनुभयो ।

त्यसअवसरमा सीप विकास तालिम केन्द्र बुटवलका केन्द्र प्रमुख उमेश शर्मा, शाखा अधिकृत बालकृष्ण पौडेल लगायतका विभिन्न विषयका प्रशिक्षकहरुले बुटवल उपमहानगरपालिकाको अभियानले सीपयुक्त जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्