दोलखामा भारी हिमपात



चिरञ्जीवी मास्के, दोलखा
दोलाखको उच्च हिमाली तथा पहाडी भेगमा मंगलवार बेलुका देखि बुधवार विहानसम्म भारी हिमपात भएपछि किसानहरु खुशी भएका छन् भने युवायुवतीहरु हिउँमा रमाई रहेका छन् ।

दोलखाको कालिञ्चोक, शैलुङ, खरढिुङ्गा, खावाडाँडा, सिन्धुपाल्चोकको मुडे लगायतको उच्च पहाडी भेगमा भारी हिमपात भएपछि आलु राम्रो हुने भन्दै किसानहरु खुशी भएका छन् । दोलखाको खरीढुङ्गा, शैलुङ र सिन्धुपाल्चोकको मुडे आलुको लागि देशै भरी प्रसिद्ध छ । खरीढुङ्गाका स्थानिय शङ्कर श्रेष्ठ हिमपात पछि जमिन लामो समय चिसो हुने र त्यसले आलुको उत्पादन र गुणस्तरमा बृद्धि हुने भएकोले यो मौसममा जति धेरै हिमपात भयो किसानहरु त्यतिनै खुशी हुने बताउछन् ।

यो बर्ष दोलखामा बुधवार विहानसम्ममा तीन पटक हिमपात भएको छ । बुधवार भारी हिमपात भएपछि किसानहरु बढी खुशी देखिएका छन् । यो बर्ष पुषमा पनि दुई पटक हिमपात भएको थियो तर त्यतिबेला थोरै हिमपात भएकोले धेरै समय रहेन स्थानिय शङ्कर श्रेष्ठले भने – बुधवार भने भारी हिमपात भएकोले लामो समय जमिन चिसो हुन्छ र आलुलाई निक्कै राम्रो गर्छ ।

हिमपात पछि आलुको उत्पादन निक्कै बढ्ने भएकोले खरीढुङ्गाका किसानहरु पुष देखि फागुनसम्म हिमपातको प्रतिक्षामा रहने गरेको स्थानिय किसान मेजरमान तमाङ बताउछन् ।

मंगलवार रातिदेखि निरन्तर हिमपात भएपछि कालिञ्चोकमा पनि डेढ फिटसम्म हिउँ जमेको छ । हिमपातका कारण कालिञ्चोक पुग्ने पर्यटकहरु उत्साहित बनेको कालिञ्चोकको कुरीमा होटल व्यवसाय गर्दै आएका स्थानिय सोनाम शेर्पा बताउछन् । तर भारी हिमपातको कारण पहिले पहिले जस्तो सवारी साधन कुरीसम्म नपुग्दा पर्यटकहरु हिडेर कालिञ्चोक पुग्नु पर्ने बाध्यता रहेको शेर्पाले बताए ।

भारी हिमपातको कारण जनजीवन प्रभावित भएपनि पर्यटकहरु हिउँमा रमाएको र कालिञ्चोकको माहौल निक्कै रमाईलो देखिएको स्थानिय सुनपाती होटलका प्रबन्धक हरि ओलीले बताए । हिमपातका कारण केहि सवारी साधानहरु बाटोमा अड्कीएकोले पर्यटकहरुलाई समस्या भएको ओलीले बताए ।

कालिञ्चोक, खरीढुङ्गा लगायतको उच्च पहाडी भेगमा हिमपात जारी नै रहेकोले काठमाडौँ, ललितपुर, भक्तपुरबाट हिउँ खेल्न आउनेको संख्यामा समेत बृद्धि भएको स्थानिय बताउछन् ।

प्रतिक्रिया दिनुहोस्