नेफ–साइपाल फुटबल भोलिदेखि



काठमाडौं, (नेस)
उत्तर भेगीय शैक्षिक मञ्च (नेफ) को आयोजना तथा साइपाल एकेडेमीको मुख्य प्रायोजनमा चौथो नेफ–साइपाल अन्तरविद्यालय सिक्स ए साइड छात्र फुटबल प्रतियोगिता बिहीबारदेखि सुरु हुँदैछ ।

प्रतियोगितामा ६४ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गर्ने नेफका अध्यक्ष नारायण रोकाले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
प्रतियोगिता सञ्चालन गर्न करिब ५ लाख रुपैयाँ खर्च हुने नेफका सचिव टंककुमार चापागाईंले जानकारी दिए । माघ १९ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु चावहिलस्थित गणेशथान फुटबल मैदानमा हुनेछ । गत संस्करणको उपाधि माउन्ट ग्लोरीले जितेको थियो ।

साइपालले उत्कृष्ट ३० खेलाडीलाई प्लस २ अध्ययनका लागि ६० हजार बराबरको छात्रवृत्ति प्रदान गर्ने भएको छ । त्यस्तै उत्कृष्ट २० खेलाडी छनोट गरी फिलिपिन्समा मार्चमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराइने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्