नेप्सेमा सामान्य सुधार



काठमाडौं, (नेस)
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार ४ दशमलव १५ अंकले बढेर १ हजार १ सय ७२ दशमलव १५ को बिन्दूमा पुगेको छ ।

कुल १ सय ६३ कम्पनीको १० लाख २ हजार १०७ कित्ता शेयर २४ करोड ७७ लाख ४३ हजार १५५ रुपियाँमा किनबेच भएको छ ।

बुधबार पनि सबैभन्दा बढी अपर तामाकोशी हाइड्रोपावर कम्पनीकोे शेयर किनबेच भएको छ । यस कम्पनीको ३ करोड ७७ लाख २२ हजार रुपियाँ बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको छ । नेप्सेमा अपर तामाकोशीको शेयर सूचीकृत भएदेखिनै कारोबार उच्च हुँदै आएको छ ।

बुधबार सर्वाधिक कमाउनेमा सानिमा इक्विटी फण्डका लगानीकर्ताहरु रहेका छन् । यसको शेयर मूल्य ९ दशमलव ८९ प्रतिशतले वृद्धि भएको छ । साथै आँखु खोला जलविद्युत् कम्पनी, माथिल्लो तामाकोशी, मिर्मिरे लघुवित्त वित्तीय संस्था, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले पनि कमाएका छन् ।

सर्वाधिक गुमाउनेमा जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताहरु रहेका छन् । यस कम्पनीको शेयर मूल्य ४ दशमलव ९३ प्रतिशतले घटेको छ । साथै गोर्खाज फाइनान्स, पञ्चकन्या माई हाइड्रोपावर, तिनाउ डेभलपमेन्ट बैंक, युनिलिभर नेपालका शेयरधनीले पनि गुमाएका छन् ।

कारोबार भएका कुल ११ उपसमूहमध्ये दुई उपसमूह बाहेक अन्य उपसमूहको परिसूचक वृद्धि भएको छ ।

उत्पादन उपसमूह ३१ दशमलव ६ र जीवन बीमा २७ दशमलव ३१ विन्दुले घट्दा बैंकिङ १ दशमलव ४९, व्यापार २ दशमलव ८७, होटल शून्य दशमलव २१, विकास बैंक ६ दशमलव ८६, जलविद्युत् ३१ दशमलव ४८, वित्त शून्य दशमलव ७९, निर्जीवन बीमा ५८ दशमलव शून्य ६, अन्य ३ दशमलव ३९ र लघुवित्त १२ दशमलव ९९ विन्दुले बढेका छन् ।

त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसूचक शून्य दशमलव ६९ अंकले बढेर २ सय ४८ दशमलव ७० को बिन्दूमा पुगेर बन्द भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्