समयअनुसार चल्न सिक



समय बलवान् छ । समयअनुसार हामी सबै चल्न सक्नुपर्छ । समयअनुसार चल्न सकिएन भने कतिपय महत्वपूर्ण कामहरु छुट्ने तथा बिग्रने हुन सक्छन् । विज्ञानले जतिसुकै चमत्कार गरेको भए पनि समयलाई रोक्न भने सकिएको छैन । समयले मानिसलाई चलाउने काम गर्छ । अझ भनौँ घडीको सुईको गतिमा हामी चल्नुपर्ने हुन्छ । घडीको सुईको निर्देशनमा चलिएन भने ठूलै नोक्सानसमेत चुकाउनुपर्ने अवस्था आउन सक्छ । हामीले थोरै समयलाई ख्याल गरेका हुदैनौँ । जानाजान हामीले लापरबाही गर्दा समयले नेटो काटिसकेको हुन्छ ।

पछिल्लो समय आयोजना गरिने विभिन्न कार्यक्रमहरु निर्धारित समयभन्दा निकै अबेर गरी सञ्चालन गरिएका छन् । भनिन्छ, एक–एक सेकेन्ड समयको ठूलो महत्व छ । बितिसकेको समयलाई हामीले फर्काउन सक्दैनौँ । एउटा सामान्य कार्यक्रम एक–दुई घन्टा ढिला गरिदिँदा त्यसले दिनभरिको काममा प्रभाव पारिरहेको हुन्छ । हामीले भोलिपल्टको दैनिकी अघिल्लो दिनमा नै तयार पारेका हुन्छौँ । कतै कुनै काममा जान वा कुनै महत्वपूर्ण भेटघाटका लागि तयार पारिएको कार्यक्रममा एकठाउँमा ढिला हुनेबित्तिकै यसले दिनभरिकै काममा असर परेको हुन्छ ।

पछिल्लो समय आयोजना गरिने औपचारिक कार्यक्रमहरुमा समयलाई ख्याल गरेको पाइँदैन । आयोजकले एक–दुई जनाको इच्छाअनुसार कार्यक्रमलाई ढिला शुरु गर्छन् । निर्धारित समयमा कार्यक्रम शुरु हुन नसक्दा कतिपय मानिस कार्यक्रम छोडेर जानुपर्ने हुन्छ । त्यस्तै, कति मानिसले आफ्नो अरु कामबाट हात झिक्नुपर्ने अवस्था आउँछ । पछिल्लो समयको कुरा गर्ने हो भने चितवनको गरिमा र गौरवमय प्रस्तुति भन्दै आयोजना गरिएको चितवन महोत्सवमा समयको ख्याल कत्ति पनि गरिएको पाइँदैन । अझै महोत्सवका अवसरमा आयोजना हुने गोष्ठी तथा सेमिनार दुई घन्टासम्म ढिला भएर शुरु भएका छन् ।

उद्योग वाणिज्य संघजस्तो एउटा व्यवसायीको प्रतिष्ठित संस्थाले समयमा नै कार्यक्रम शुरु नगर्दा यसले अन्य सेवाग्राहीलाई मर्का परेको छ । ११ बजे कार्यक्रम आयोजना गर्ने भनेर निमन्त्रणा गरिएको भए पनि १ बजे मात्रै कार्यक्रम शुरु हुँदा यसले धेरैलाई मर्कामा पारेको छ । उद्योग वाणिज्य संघमा भएको घटना एउटा प्रतिनिधि घटना मात्रै हो । पछिल्लो समय औपचारिक कार्यक्रम गर्ने र समयको ख्याल नगर्ने प्रवृत्ति सबै ठाउँमा हाबी भएको छ । एक–दुई जनाको कारणले धेरैलाई पर्खाउने काम कदापि राम्रो होइन । सबैले समयको महत्व बुझ्दै समयमा कार्यक्रम गरेर समयमा नै सक्ने बानी बसाल्न सक्यौँ भने समृद्धिको शुरुआत हुनेछ ।
– सुरक्षा सुनार, चितवन ।

कहिलेसम्म दाइजोको कुप्रथा
दाइजो (दहेज) प्रथा एक विकृतिमात्र नभएर सामाजिक अपराध पनि हो । दाइजो प्रथाविरुद्ध लामो समयदेखि चर्चा–परिचर्चा भइरहेको र देशको कानुनले समेत प्रतिबन्ध लगाए पनि तराई–मधेसमा यो प्रथा अद्यापि कायमै छ । अशिक्षित परिवारमा मात्रै होइन, पढेलेखेका र दाइजो एक कलंक हो भन्ने बुझाइ भएका शिक्षित परिवारमा समेत यसले पीडा दिने गरेको छ ।

मधेसमा दहेज प्रथाले जरो गाडेको ज्वलन्त उदाहरण हो जनकपुरमा घटित एक घटना । दाइजो नपुगेको भन्दै परिवारका सदस्यले यातना दिएका कारण जनकपुर उपमहानगर–४ स्थित शान्तिनगरकी २५ वर्षीया सीमा शर्माले छोरीलाई विष खुवाएर आफूले आत्महत्या गरेको खबरले यति बेला सिंगो समाजलाई पटाक्षेप गरेको छ । दाइजो ज्यानमारा बनिरहेको ज्वलन्त उदाहरण हो यो घटना ।

सीमाले माइतबाट दाइजो कम ल्याएको ‘अभियोग’मा श्रीमान्, सासू–ससुरा र नन्दबाट शारीरिक तथा मानसिक यातना मात्रै पाइनन्, आत्महत्या नै गर्न बाध्य भइन् । यो घटनाले जनकपुर तातेको छ । सामाजिक क्षेत्रमा काम गर्ने अभियन्ताहरुले मृतक आमाछोरीको शोकमा दीप प्रज्ज्वलन गर्दै दोषीमाथि कडा कारबाही हुनुपर्ने मागसहित विरोध प्रदर्शन गरिरहेका छन् ।

पाँच वर्षअघि ११ लाख रुपियाँ दाइजोसहित मैथिली परम्पराअनुसार महोत्तरीको लोहारपट्टीकी सीमा र महोत्तरीकै हलखोरीका समीर मिश्रबीच विवाह भएको थियो । पल्सर मोटरसाइकल, नगद र सुनको जोहो गर्न सीमाका बुबाले सात कट्ठा खेत नै बिक्री गर्नुपरेको समाचार सार्वजनिक भएको छ । केटा पक्षले थप नगद, सुनचाँदी र सरसामान नल्याए घरबाट निकालिदिने धम्की खेप्दै आएकी सीमाले नाबालिका छोरीसहित आफूले जीवन नै अन्त्य गरेकी छन् । यो सीमाको आत्महत्याको कथा होइन । सिंगो समाजको चित्रण हो ।

तराई–मधेसमा कुप्रथाका रुपमा जरा गाडेर बसेको दाइजो प्रथा अभिशाप बनेको दृष्टान्त हो यो । माइतबाट दाइजो ल्याउन नसक्ने छोरीहरु कि जलेर कि आत्महत्या गर्न विवश हुनुपर्ने नियतिको यथार्थ कथा हो यो । दाइजो नल्याएकै ‘अभियोग’मा कहिलेसम्म छोरीबुहारीहरु कुटिनुपर्ने, यातना सहनुपर्ने, आगोमा जल्नुपर्ने या विष सेवन गरेर मर्नुपर्ने हो ? यो राज्यका लागि नै ठूलो चुनौती हो । एक्काइसौँ शताब्दीमा प्रवेश गर्न लागिसक्दा पनि यस्ता कुप्रथा कायम रहँदा समाजका नागरिक अगुवाहरु के गर्दै छन् ? स्थानीय निकायले के रमिता हेर्दै छ ? यस्ता सवालहरु उठेका छन् ।

हामीले सबैखाले सामाजिक कलंक हटाएर सभ्य समाजको परिकल्पना गरेको दशकौँ भएको छ । तर, अझैसम्म पनि दाइजो प्रथा एक कलंकका रुपमा समाजमा स्थापित हुनु दुर्भाग्य हो । दाइजोका कारण वैवाहिक सम्बन्ध बिग्रिएर सन्तानको भविष्यसमेत चौपटमा परेका अनगिन्ती घटना हाम्रै गाउँ–समाजमा छन् । तराई–मधेसमा विवाहिता महिलाले आत्महत्या गर्नुका पछाडि दाइजो नै प्रमुख कारण मानिएको छ । दाइजो नल्याएकै निहुँमा पाशविक घटना बढ्दो छ । सासू–ससुरा र श्रीमान्को दबाबका कारण तनाव सहन नसकेर आत्महत्या गर्नुपरेका, आगोमा जल्नुपरेका, हत्या भएका घटना नौलो होइन ।

राज्यले गत भदौ १ गतेदेखि लागू गरेको मुलुकी अपराध (संहिता) ऐन २०७४ अनुसार दाइजो माग्ने र दाइजोका कारण महिलालाई हैरानी दिनेलाई कडा कारबाहीको व्यवस्था गरेको छ । ऐनमा विवाहमा लेनदेन गर्न नहुने विषय उल्लेख छ । यसअघि दाइजो माग्नेविरुद्ध कारबाहीको व्यवस्था थिएन । ऐन लागू भइसकेको अवस्थामा दाइजो मागेमा वा लेनदेनको सर्त राखेको भेटिएमा ३ वर्षसम्म कैद वा ३० हजार रुपियाँसम्म जरिबाना वा दुवै सजाय हुनसक्ने ऐनमा व्यवस्था छ । महिलालाई यातना दिई मर्न बाध्य बनाउनु पनि मार्नुबराबर हो । त्यसैले यस्तो अपराधमा संलग्नहरुलाई जन्मकैदको सजाय दिलाएर ज्यानमारा दाइजो सदाका लागि अन्त्य गरिनु आवश्यक छ ।
– पुरनप्रसाद तिमिल्सिना, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्